आलमको थुनछेक बहस शुक्रबार पनि
२०६४ २७ चैतमा पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो साँझ रौतहटको राजपुर फरहदवामा भएको भनिएको बम विस्फोटका मुख्य अभियुक्त नेपाली कांग्रेसका नेता सांसद महम्मद आफताब आलमको बयान बिहीबार सकिएको छ ।
रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले मंगलबारदेखि लिन थालेको बयान बिहीबार सकिएको हो ।
बयान लिने क्रममा सोधिएका प्रश्नहरूको जवाफमा नेता आलमले सबै आरोप अस्वीकार गरेका छन् ।
बम विस्फोटसम्बन्धी कुनै घटना नै नभएको र कपोलकल्पित घटनाको विषयमा आफूलाई केही पनि जानकारी नरहेको आलमले बयानको क्रममा बताएका छन् ।
नेता आलमले विपक्षीहरूले चरित्रहत्या गर्ने षड्यन्त्र गरेको पनि आरोप लगाएका छन् । आफूलाई जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले २०६५ मा नै सफाइ दिइसकेको फेरि पनि दोहोर्याएका छन् ।
बिहीबार दिउँसो बयान सकिएपछि थुनछेक बहस शुरु भएको छ । बिहीबार थुनछेक बहसका लागि समय अपुग भएपछि बाँकी थुनछेक बहस शुक्रबार हुने भएको छ ।
मुद्दाका वादी तथा प्रतिवादी दुवैतर्फ कानून व्यवसायीको संख्या धेरै भएपछि बिहीबार थुनछेक बहस नसकिएको हो ।
बिहीबार दिउँसोसम्म आलमसित अदालतले बयान लिने काम गरेकाले पनि थुनछेकका लागि समय अपुग भएको हो ।
दुवै पक्षबाट बहसका लागि काठमाडौंबाट समेत वरिष्ठ अधिवक्ताहरू रौतहटमा आएका छन् । केही स्थानीय कानून व्यवसायीले पनि मुद्दामा बहस गर्दैछन् ।
आलममाथि बम विस्फोटसम्बन्धी तीनवटा मुद्दा दर्ता गरिएको छ । मुख्य अभियुक्त आलमसहित बम विस्फोटसँग सम्बन्धित घटनामा एघारजनालाई अभियुक्त बनाइएको छ । –सञ्जय मित्र