समाचार सोमबार, कात्तिक १८, २०७६

नयाँ प्रदेश प्रमुखका लागि यी हुन् प्रस्तावित नाम

हिमालखबर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएकाले यो बैठकबाटै नयाँ प्रदेश प्रमुख चयन गर्ने कार्यसूची छ ।

सचिवालय बैठक लगत्तै, मन्त्रिपरिषदको बैठक बसेर नयाँ प्रदेश प्रमुख चयन प्रक्रिया अगाडि बढाइने नेकपाको तयारी छ ।

सचिवालयबाट टुंगिएको नामावलीलाई मन्त्रिपरिषदबाट राष्ट्रपतिलाई सिफारिस गरिनेछ ।

उच्च स्रोतका अनुसार, नेकपाभित्र नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरु तय भइसकेको छ । जारी सचिवालय बैठकले यिनै नामहरु मध्येबाट प्रदेश प्रमुख चयन गर्ने ती स्रोतले बतायो ।

तिनका अनुसार, प्रस्तावित नामहरुमा प्राडा केआर खम्बु, गुरु बराल/गोपाल गुरागाई, धर्मनाथ यादव, सोमनाथ प्यासी, शान्ता श्रेष्ठ, रघुजी पन्त, अमिक शेरचन, तिलक परियार, महेश चौधरी र गोविन्द कलौनी छन् ।

“यिनै मध्येबाट प्रदेश प्रमुख चयन हुने संभावना छ । त्यस मध्ये पनि धर्मनाथ यादव भने निश्चित जस्तो छ”, , ती स्रोतले भने । यादव पुराना कम्युनिष्ट नेता हुन् ।

३ माघ २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम पदमुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस