लेखक कमलमणि दीक्षितको निधन
लेखक तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितको निधन भएको छ ।
श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आज, १४ पुुस बिहान २ः४५ बजे निधन भएको हो ।
खोजमुलक निवन्ध, नियात्रा, संस्मरण, साहित्य लगायत विषयमा दीक्षितका ५० भन्दा बढी कृति प्रकाशित छन् ।
दीक्षितको सकृयतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो।
गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति मदन पुरस्कार र नेपाली भाषाको श्री-वृद्धिका लागि योगदान वापत जगदम्बा-श्री पुरस्कार वर्षेनी प्रदान गरिन्छ।
यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब,जनक-जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।
दीक्षितको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।
हिमाल खबरपत्रिकाका स्तम्भ लेखक समेत रहेका दीक्षितका दुई छोरा (कुन्द दीक्षित र कनकमणि दीक्षित) र छोरी (रुपा जोशी) छन् ।