गुल्मीमा नेकपाको उम्मेद्वार तय
१४ मंसीरमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले उम्मेदवारको टुङ्गो लगाएको छ ।
गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।
सिञ्जाली सोही वडाका वडा सदस्य हुन् । उनलाई वडा सदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले बताए । नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुङ्गो लगाएको छैन ।
पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मत रूपमा चयन गरिने बताए । तर पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो ।
रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको तालमेल रहेको थियो । तर, तत्कालीन एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जीत हासिल गरेको थियो ।
वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको १३ साउन २०७५ मा निधन भएको थियो । उनले ६२८ मत ल्याएका थिए प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।