रबिन्द्रका पत्नी विद्या सहित नेकपाबाट तीन जनाको नाम सिफारिस
नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ ।
सिफारिश हुनेमा ताप्लेजुङ दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन् ।
प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए ।
यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्ज समेत रहेका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले बताए । आगामी १४ मंसीरमा कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ ।