उम्मेद्वार टुंगो लगाउँदै कांग्रेस
नेपाली कांग्रेसले १४ मंसीरमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठक उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुने बताइएको छ ।
पार्टीको संसदीय समिति गठन नभएकाले केन्द्रीय समिति बैठकले उम्मेदवार टुङ्गो लगाउने सम्बन्धमा पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने बताइएको छ ।
यसपछि १७ कात्तिकमा बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने पार्टी कार्यालयले जनाएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल भएको थियो ।
पदाधिकारी बैठकमा उपनिर्वाचन हुने सम्बन्धित प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशमा पार्टीको वस्तुस्थितिका बारेमा जानकारी गराउनुभएको मुख्य सचिव पौडेलले बताए ।