टिप्पणीआइतबार, १० कार्तिक , २०७६

देवकोटाको अद्वितीय शाकुन्तल

सन्दर्भ : देवकाेटा जयन्ती

हिमालखबर

–नम्रता चतुर्वेदी

कालिदास भन्दा विल्कुलै अलग शैली र संरचनासहित शाकुन्तल महाकाव्य रचनामा देवकोटाको अद्वितीय क्षमता देखिन्छ । एकै कविले यौटै कृतिलाई दुई भिन्न भाषाका तीन नयाँ कृतिमा पुनःरचना गर्ने साहित्यकार संसारमै देवकोटा मात्र हुन् ।

नम्रता चतुर्वेदी

आफ्नो महान् कृति अभिज्ञानशाकुन्तलम् का लागि कालिदासले संस्कृत काव्य–परम्पराका प्राचीन आलोचकहरूबाट उपमा–सम्राटको संज्ञा पाए । शृंगार रसको प्रधानता रहेको चौथो खण्डको विशेष प्रशंसा गरिने यो नाटक काव्यात्मक उत्कृष्टतामा अद्वितीय छ । प्राचीन समालोचक, प्राच्यविद् तथा आधुनिक समालोचकहरूले पनि यस कृतिलाई भारतीय काव्यपरम्पराको उच्चतम उपलब्धि मानेका छन् ।

अभिज्ञानशाकुन्तलम् दक्षिण एशियाका शास्त्रीय तथा आधुनिक युगका प्रायः सबै मुख्य भाषामा अनूदित वा पुनर्लेखित भइसकेको छ । थुप्रै बोली र भाषामा बसिसकेको छ । फारसीमा तीनवटा, अरबीमा अप्रकाशित यौटा, शास्त्रीय तमिलमा यौटा र आधुनिक उर्दूमा गद्य तथा पद्य दुवैमा नाटकका अनूदित संस्करण छन् भने मणिपुरी, गढवाली, ब्रज, पन्जाबी, गुजराती तथा अन्य थुप्रै भाषामा पनि अनुवाद उपलब्ध छन् ।

उर्दू आदि केही भाषाका अनुवाद आधुनिक प्रकृतिका छन् । इतिहासको जुनसुकै कालखण्डमा तिनको रचना भएको भए पनि केही अन्य अनुवादलाई वर्तमानमा शास्त्रीय प्रतिष्ठा प्रदान गरिएको छ ।

कालिदासको नाटकमा निहित शास्त्रीय गुणलाई पहिचान तथा स्थापना गर्ने दक्षिण एशियाका प्रमुख कृतिमध्ये लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य (सन् १९४५) पनि पर्दछ ।

देवकोटाका आफ्नै तीन भिन्न अनुवाद बाहेक नेपाली भाषामा अभिज्ञानशाकुन्तलम् का अन्य आठ अनुवाद छन् । देवकोटाको शाकुन्तल मात्र अनुवाद वा अनुकूलित संस्करण मात्र होइन । पी लालको शब्दमा, यो एक ‘ट्रान्सक्रियशन’ अथवा पुनःरचना नै हो । देवकोटाको शाकुन्तल पढ्दा दुई भिन्न तर सम्बन्धित संस्कृति तथा काव्यपरम्पराका महाकविहरूबीच निरन्तर संवादको आफू साक्षी भइरहेको स्पष्ट महसूस हुन्छ ।

देवकोटाले अभिज्ञानशाकुन्तलम् को पुनःरचनाबाट शाकुन्तल बाहेक अन्य दुई कृति पनि सिर्जना गरेका छन्ः दुष्यन्त–शकुन्तला भेट र अंग्रेजीमा लेखिएको शकुन्तला । साहित्यको इतिहासमा एकै कविले यौटै कृतिलाई दुई भिन्न भाषाका तीन नयाँ कृतिमा पुनःरचना गरेको अन्यत्र पाइन्न ।

कालिदासको काव्य तथा नाटक संरचनाभन्दा अत्यन्तै अलग शैली र संरचनासहित अंग्रेजीमा मौलिक शकुन्तला रचना गर्ने देवकोटा विश्वमै एक मात्र कवि हुन् ।

कालिदासको नाटकमा निहित शास्त्रीय गुणलाई पहिचान तथा स्थापना गर्ने दक्षिण एशियाका प्रमुख कृतिमध्ये लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य पनि पर्दछ ।

पुनःरचनाको उद्घोष
शकुन्तलालाई फेरि चिन्नुको अर्थ — अथवा अभिज्ञान — लाई उजागर गर्ने क्रममा देवकोटा र कालिदास एक आध्यात्मिक तथा काव्यात्मक संवादमा छन् भन्ने स्पष्ट छ ।

कालिदासका आध्यात्मिक प्रतीक तथा काव्यात्मक लयको भेउ अप्रकट ध्वनिको माध्यमबाट मात्रै पाउन सकिन्छ भने देवकोटाले त्यहाँ ध्वनित अर्थलाई सूक्ष्मताका साथ तर स्पष्ट रूपमा पक्रेका छन् । देवकोटाको शाकुन्तल ले पाठकलाई बरु कालिदासको कुमारसंभव तिर डोर्‍याउँछ जहाँ शिव र पार्वतीबीचको कामोत्तेजना जगतको सृष्टि तथा जयगानको अवसर बन्दछः

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेका लता ।।
बिर्से झैं ‘भन को तिमी’ यति भनि गौरी रुलाइकन ।
मुस्काएर फुल्याउँदा शिव दिउन् कल्याणको चुम्बन ।।

शिवको चन्चलता नै सम्पूर्ण ब्रह्माण्डको आधार हो किनभने उनको यही क्रीडाबाट परमतत्वले अनेक रूप ब्रह्माण्डको स्वरूप लिन्छ । यो अवधारणा शैवमार्गमा खासगरी कश्मिरी शैवमार्गमा प्रचलित छ ।

कालिदासको कृतिमा कश्मिरी शैवमार्गका थुप्रै प्रतीक सम्मिलित छन् । जब देवकोटाले यी प्रतीकलाई अग्रस्थानमा ल्याउँछन्, उनले यस महान् भारतीय महाकाव्यलाई नेपालीमा पुनःरचना गर्ने अठोट पनि उद्घोष गर्छन् । यसबाट कालिदासको महाकाव्यलाई मात्र होइन कालिदासका प्रतीक तथा बिम्बहरूलाई पनि पुनःरचना गर्ने देवकोटाको अभिलाषा थियो भन्ने प्रष्ट हुन्छ ।

देवकोटाको महाकाव्यका अन्त्यतिरका पंक्तिमा पनि शकुन्तला को सुखको रूपमा कल्याणकै अवधारणा दोहोरिन्छ र कृतिले पूर्णता पाउँछ ।

देवकोटाले नाट्य संरचना पुनःरचना नगरे पनि आफ्नो महाकाव्यमा नान्दीश्लोक तथा भरतवाक्यका अर्थ र तात्पर्य कायमै राखेका छन् । संस्कृत नाट्य परम्परामा नान्दीश्लोकले नाटकको आध्यात्मिक विषय स्थापना गर्दछ र अभिमन्त्रणाको काम गर्दछ । देवकोटाका यी पंक्तिको तात्पर्य पुरुष र प्रकृति वा शिव र शक्तिका अवधारणालाई जगाउनु हो भन्ने स्पष्ट देखिन्छ ।

देवकोटाको शाकुन्तल का अन्तिम हरफ पनि भरतवाक्य जस्तै छ जसमा प्रार्थना स्वरूपमा आशीर्वाद दिइने गरिन्छः

गुण भए मधुलिट्हरूको रस ।
विवश छु नभएर भए कस ।।
तर झ्रे यदि आँसु सुखी पला ।
सुखसँगै रहनेछ शकुन्तला ।।

कालिदासको कृतिमा झैं शकुन्तला व्यक्ति वा पात्र हुनुमा मात्र सीमित नभएर उनी शक्ति तथा ब्रह्माण्ड सन्तृप्तिको मूर्तरूप बन्न पुग्छिन् ।

सिर्जनशीलताको प्रमाण

देवकोटाको काव्यचेत रसहरूमध्ये प्रधान शृंगार रसमा अडेको देखिन्छ । सम्पूर्ण शाकुन्तल महाकाव्य नै शृंगार रसले ओतप्रोत देखिन्छ— यस कृतिमा विभाव, अनुभाव, व्यभिचारी तथा स्थायीका अवधारणाको संगमबाट शृंगारको विस्फोट भए झैं प्रतीत हुन्छ ।

मेनकाद्वारा विश्वामित्रको ध्यान भङ्ग प्रक्रियालाई विस्तारमा वर्णन गर्ने क्रममा प्रयुक्त कामुक ध्वनि तथा बिम्ब विलक्षण काव्यात्मकताले भरिपूर्ण छन् । कालिदासका अन्य सबै अनुवादमा रति आह्वानको यो प्रकरणलाई कि त परोक्ष रूपमा इङ्गित गरिन्छ, कि त पाठकले स्वविवेकले बुझनेछन् भन्ने अनुमान गरिएको छ ।

तर देवकोटाले मात्र रति आह्वानको प्रतीकात्मक तथा काव्यात्मक महत्वमाथि आफ्नो ध्यान खर्चेका छन् । शकुन्तलाको जन्मलाई असाधारण घटनाको रूपमा हेरिन्छ किनभने त्यो विश्वामित्रको तपसको अपूर्णताको परिणाम हो ।

रवीन्द्रनाथ ठाकुरले व्याख्या गरेझैं शकुन्तलाको दुःखलाई प्रेमको पूर्ण ज्ञान पाउन गरेको तपसकै रूपमा लिन सकिन्छ जुन एक तरहले उनको पिताको स्खलित तपसकै निरन्तरता हो । पुरुष तपस्वीबाट नारी तपस्वी हुँदै तपसले सम्पूर्णता पाउँछ ।

एकातिर इन्द्रले रचेको षड्यन्त्रबारे अनभिज्ञ हुनाले विश्वामित्रको ध्यान भङ्ग हुनगएको हो भने अर्कातिर आफ्नो आश्रममा ऋषि दुर्वासा आएकोमा थाहा नपाउँदा शकुन्तलाले दुःख पाउनु परेको हो । एकातिर मेनकाले आफ्नी छोरी परित्याग गर्दै विश्वामित्रलाई छोड्छिन् भने अर्कातिर दुष्यन्तले (गर्भमै) छोरा परित्याग गरेकाले शकुन्तलाले (क्षणिक) वियोग सहनुपर्दछ ।

देवकोटाको शाकुन्तल महाकाव्यमा मात्रै क्रमिकताको आभास तथा काव्यात्मक सन्तुलन स्पष्ट हुन्छ । प्रत्येक खण्डमा प्रयुक्त प्रत्येक छन्दको नाम स्पष्ट उल्लेख गर्नु तथा कालिदासले भन्दा विविध र सूक्ष्मतासाथ छन्दहरू प्रयोग गर्नुले देवकोटाको काव्यात्मक सिर्जनशीलताको प्रमाण दिन्छ । यसबाट देवकोटाको नेपाली महाकाव्यलाई उत्कृष्टताको शिखरमा पुर्‍याउने प्रतिबद्धताको पर्याप्त आधार र प्रमाण भेट्टाउन सकिन्छ ।

देवकोटाद्वारा अंग्रेजीमा लेखिएको शाकुन्तल नौ खण्ड लामो कविता हो जसको प्रत्येक खण्ड ‘विश्वामित्रः स्वर्गका लागि कहर’ (खण्ड १) देखि ‘वियोग र मिलन’ (खण्ड ९) जस्ता विषय अनुसार छुट्याइएको छ । यो कृति युरोपेली रोमान्टिक साहित्यमा पाइने स्वत्व प्राप्तिका लागि कुनै नायकले गर्नुपर्ने ‘क्वेस्ट’ वा जटिल यात्राको शैलीमा शकुन्तलाको अनुभवमा आधारित छ ।

चारवटा खण्ड शकुन्तलाको नाममा छ— ‘शकुन्तलाको बाल्यकाल’, ‘विरहमा शकुन्तला’, ‘अरण्याश्रम छोड्दै शकुन्तला’ र ‘परित्यक्ता शकुन्तला’ । देवकोटाको शकुन्तलामा ‘क्वेस्ट’ मा हुनुपर्ने जोखिम, बाधा–अड्चन तथा अन्तिम समायोजन सबै सबै उपस्थित छन् ।

कालिदासको महान् कृति ‘अभिज्ञानशाकुन्तलम्’ को अध्ययनले देवकोटाको ‘शाकुन्तल’ मा निहित काव्यात्मक जीवनमा आएर नै सम्पूर्णता पाउँछ ।

विभिन्न कारणले दक्षिण एशियाली साहित्यमा देवकोटा एक प्रमुख कविको रूपमा स्थापित छन् । कालिदासको महान् कृतिको कुनै पनि अध्ययनले देवकोटाको शाकुन्तल मा निहित काव्यात्मक जीवनमा आएर नै सम्पूर्णता पाउँछ ।

शास्त्रीय तथा लोक परम्पराका विविध छन्दको बृहत् प्रयोग, घटनाका असाधारण वर्णन तथा बिम्ब र प्रतीकको सूक्ष्म प्रयोगले शाकुन्तल महाकाव्यलाई आधुनिक युगको शास्त्रीय उपलब्धिको रूपमा स्थापित गरेको छ ।

(डा. चतुर्वेदी एसआरएम युनिभर्सिटी सिक्किममा अंग्रेजी विभागमा प्राध्यापक छिन् । कालिदासको अभिज्ञानशाकुन्तलम्का विविध अनुवाद तथा पुनःरचनाबारे उनीद्वारा सम्पादित पुस्तक प्रकाशोन्मुख छ ।)

 

प्रतिकृया दिनुहोस