जुवा खालमा प्रहरीको छापा, करीब रु ३ करोड बरामद
प्रहरीले काठमाडौं सहित देशका विभिन्न ठाउँका जुवा खालमा छापा मारेर ५२ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट करीब ३ करोड लाख बरामद भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बाला पछाडि रहेको विक्रम गौतमको घरमा प्रहरीले छापा मारेर २५ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार जुवाखालबाट २ करोड ६७ लाख नगद र ब्यांक अफ काठमाडौंको ३ लाखको चेक बरामद भएको छ।
त्यसैगरी पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा कौडा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेका साथबाट ५ लाख नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित ६ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख नगद सहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ पहारीमार्ग होटल क्रिष्टल प्यालेसमा छापा मारी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।