समाचार विहीबार, साउन २७, २०७३

 गंगामायाले स्लाइन र पानी पनि छोडिन्

हिमालखबर


६ वर्षदेखि अनशनमा रहेकी गङ्गामाया अधिकारीले आजदेखि  स्लाइन, औषधि र पानी पनि छोडेकी छन् । 

नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएसँगै उनीबाट आफूले न्याय पाउने आशा राखेको बताउँदै उनले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिएकी थिइन् । 

गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेती आज वीर अस्पतालको क्याबिन नं ७ मा उनलाई भेट्न गए पनि गङ्गामायाले  उनीहरुसँग केही कुरा गरिनन् ।

विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उनका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ । 

विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन ।

हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन शुरु गरेका थिए ।
रासस 

प्रतिकृया दिनुहोस