टिप्पणीशनिबार, ९ कार्तिक , २०७६

हाम्रो घर, जीवजन्तुको वासस्थान

हिमालखबर

–सञ्जन थापा

शहरी क्षेत्रका घर मान्छेको मात्रै होइन कतिपय शहरी जीवजन्तुका पनि वासस्थान थिए र हुन् भन्नेतर्फ सचेत हुनुपर्ने देखिन्छ। 

सञ्जन थापा

आफ्नै एउटा घर होस्– अधिकांश नेपालीको चाहना हो यो । यो चाहनाले मानिस जसरी हुन्छ, जत्रो हुन्छ र जहाँ हुन्छ घर जोडेरै छाड्ने लक्ष्यमा लाग्छ ।

शहरमा घर बनाउन सजिलो छैन । गाउँको खुला ठाउँमा बगैंचा, बारी सहित हुर्केका अधिकांश हामी शहरमा केही आनाका घरमा खुम्चन बाध्य छौं । शहरमा घर बनाउने जग्गा मात्र साँघुरिएको छैन, घर बनाउने शैलीमै बदलाव आएको छ । काठमाडौं उपत्यका जस्ता शहर यस्तो परिवर्तनबाट झनै पिरोलिएको छ । परम्परागत घर समयसँगै भत्कने, भत्काइने क्रममा छन् ।

ढलान गरिएका पक्की घर, रङ्गीचङ्गी काँचका भित्ता । घर बनाउने पछिल्लो आधुनिक शैलीले हामी मान्छेलाई सुरक्षा, सुबिस्ता र व्यापारिक लाभ पनि दिएको छ । तर, यसबाट हाम्रै वरपर बस्ने जीवजन्तुलाई कहाली लागिरहेको बुझ्न सकिरहेका छैनौं । पहिले घरमा हामीसँगै कतिपय जीवजन्तु पनि बस्थे र हाम्रो घर उनीहरूको पनि सुरक्षित वासस्थान हुन्थ्यो भन्ने बिर्सिरहेका छौं । अर्थात्, हाम्रो घरको सेरोफेरोमा आश्रित शहरी वन्यजन्तुको वासस्थानमा परिरहेको प्रतिकूल असरबारे बेखबर छौं ।

के हामीले ख्याल गरेका छौं ? केही दशक अघिसम्म शहरका घरहरूमा चमेरा, मुसा, छुचुन्द्रो आदि स्तनधारी जन्तु तथा गौंथली, लाटोकोसेरो, भँगेरा आदि चराचुरुङ्गीले गुँड लाएको प्रशस्त देख्न पाइन्थ्यो । घर वरिपरि बगैंचामा लोखर्के भेटिन्थे । धेरै पर होइन, २०७२ सालको भूकम्प अघिसम्म पनि उपत्यकाका पुराना घरहरु भएका क्षेत्रमा साँझपख साना चमेराहरु उडिरहेको देखिन्थ्यो । व्यस्त पुतलीसडकमा वेला–वेला चमेराका बथान उडिरहेका हुन्थे ।

काठमाडौं, साँखुको मध्य भागमा अवस्थित एउटा पुरानो घरमा मझौला धोडना (इन्टरमिडिएट हर्सशु ब्याट) प्रजातिको चमेराको झुण्ड थियो । भूकम्पमा त्यो घर ढल्यो । शायद, चमेराको झुण्ड पनि किचियो । अहिले पनि उपत्यकाका शहरी क्षेत्रका घर र भवनमा चमेराका केही प्रजाति पिपिस्ट्रेल, बाङ्गे चमेरो (कमन बेन्टविङ ब्याट), नक्चयूल आदि पाइन्छन् ।

भूकम्पपछि नयाँ डिजाइनमा ढलान गरिएका पक्की घरहरु ठडिएका छन् । यी घरहरुमा गरिएका प्लाष्टर र  पुटिङ्ग प्रयोगको कारण भित्ता, छत तथा अन्य भागको सतह चिल्लो हुने भएकाले त्यहाँ चमेरो बस्न सक्तैन । नयाँ घरमा पुरानामा जस्तो प्वालहरु पनि हुँदैन, त्यसैले पनि चमेरालाई भगाएको छ । यस्ता घरमा मुसा, छुचुन्द्रो, गौंथली, लाटोकोसेरो, भँगेरा भने बस्न सक्छन् । तर, यी जीवको संख्या निकै थोरै हुनसक्छन् ।

साना स्तनधारी प्राणी संरक्षण फाउण्डेशनले सन् २००८ यता काठमाडौं उपत्यकामा पाइने चमेरामा गरेको अध्ययनले शहरी क्षेत्रमा प्रजाति विविधता घट्दै गएको देखाएको थियो । संस्थाले सन् २०१८–१९ मा उपत्यकामै गरेको पछिल्लो अध्ययन अनुसार शहरी क्षेत्रमा मुसा, छुचुन्द्रोको संख्यामा पनि कमी आइरहेको छ ।

चमेरा, लोखर्के जस्ता जन्तुलाई भने बगैंचा विनाको घर निर्माणले पनि असर पुर्‍याएको छ । फलाहारी चमेरा बगैंचामा विचरण गर्दै फलफूल, पराग खाने गर्छ । काठमाडौं उपत्यकाका केशरमहल र अहिलेको नारायणहिटी राजदरबार संग्रहालय, भक्तपुरको वीरेन्द्र सैनिक विद्यालयमा ठूलो आकारको बदुरा प्रजातिको चमेरा (इण्डियन फ्लाइङ फक्स) को बथान अहिले पनि छ । पाँच धर्के लोखर्के पनि यदाकदा भेटिन्छ । तर, पहिले जस्तो विचरण क्षेत्र मासिएको छ ।

मानिसलाई थाहा हुँदाहुँदै पनि बेवास्ता गरेको, बुझ्न नचाहेको विषय पारिस्थितिकीय प्रणाली हो । अझ प्रष्टसाथ भन्नुपर्दा हाम्रा वरपरका यी जीवजन्तु हामीबाट टाढा हुँदै जानुको अर्थ मानव जीवनमै संकट भित्रिनु हो । त्यसैले जैविक विविधताका दृष्टिले मात्र होइन, हाम्रो सन्ततिको भविष्य सुरक्षित तुल्याउन पनि हामीले प्राकृतिक वातावरणसँग नजिक रहनुपर्छ ।

गर्ने के त ?

शहरमा यस्ता जीवजन्तुलाई बचाइराख्न सबैभन्दा पहिले बगैंचा, उद्यान तथा सार्वजनिक पार्कहरु निर्माण गर्नुपर्छ । पार्कहरुलाई कसरी व्यवस्थापन गरिए जीवजन्तु आकर्षित हुन्छन् भन्नेतर्फ सोच्नुपर्छ ।

दोस्रो चाहिं घर र ठूला भवन निर्माण गर्दा चमेरा, लाटोकोसेरो जस्ता प्रजाति बस्न सक्ने गरी थोरै भए पनि खाली क्षेत्र छोड्नुपर्छ । थप कुनै पनि भौतिक संरचनाको वातावरणीय प्रभाव मूल्याड्ढन गर्दा यी जीवजन्तुको उपस्थिति वा वासस्थानको ख्याल गरी तिनको उचित व्यवस्थापनबारे सचेत हुनुपर्छ ।

 (थापा चीनको ग्वाङ्झु विश्वविद्यालयमा जीव–विज्ञानमा विद्यावारिधि गरिरहेका छन् ।)

प्रतिकृया दिनुहोस