बंगलादेशमा एक विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला
बंगलादेशमा एक छात्रालाई जीवितै जलाएको अभियोगमा अदालतले दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएकाे छ।
शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत एप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर टाढा रहेको छ।
नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक सहित उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।
नुसरतको हत्याले देशमा यौन हिंसा र दुर्व्यवहार भोग्ने पीडितले भोग्ने जोखिमको अवस्था प्रष्ट पारिदियो। नुसरतको हत्या घटना सार्वजनिक भएपछि बंगलादेशमा ठूला प्रदर्शनहरू भए। उनको न्यायको माग गर्दै शृंखलाबद्ध प्रदर्शनहरू भए।
प्रधानमन्त्री शेख हसिनाले ‘कुनै पनि पीडक कानूनी कारबाहीबाट उम्कन नसक्ने’ प्रतिबद्धता जनाइन्।
शुरुमा यौन दुर्व्यवहार भएको भन्ने आरोप अस्वीकार गरिरहेको प्रहरीले मे महीनामा १६ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो । अभियोजनकर्ताहरूले मृत्युदण्डको सजायको माग गर्दै आएका थिए ।
अदालतको फैसलापछि अभियोजनकर्ता हाफेज अहमदले संचारकर्मीसँग कुरा गर्दै यो प्रकरणले ‘हत्या गर्ने कोही पनि बंगलादेशमा सहजै उम्किन नसक्ने’ तथ्यलाई प्रमाणित गरिदिएको बताए।
यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेको बंगलादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय मै फैसला गरेको छ ।
नुसरतलाई के भएको थियो?
नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन्।
त्यसको ११ दिनपछि गत एप्रिल ६ मा उनलाई विद्यालयको छतमा बोलाइएको थियो।
त्यहाँ उनलाई बुर्का लगाएका चार\पाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए। नुसरतले त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो।
प्रहरीका अनुसार उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो। नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उपचारको क्र्रममा चार दिनपछि उनको मृत्यु भएको थियो ।
उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए। केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन् ‘शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।’