रिपोर्टबिहिबार, ७ कार्तिक , २०७६

फैलँदै संक्रामक रोग, तयारी शून्य

रामु सापकोटा

डेंगी, स्क्रब टाइफस जस्ता संक्रामक रोगको प्रकोप बढिरहे पनि सरकारले नियन्त्रणको भरपर्दो तयारी गरेको छैन।

आर्थिक वर्ष २०६०/६१ मा मुलुकभर एक जनालाई मात्र डेंगी भएको थियो । यो वर्ष भने डेंगीको प्रकोप प्रि–मनसुन (३० वैशाख–२९ जेठ २०७६) मै धरानबाट शुरू भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणमा ध्यान नदिंदा १ साउन यता ११ हजारभन्दा बढी डेंगी प्रभावित भए । गल्ती ढाकछोप गर्न मन्त्रालयले महामारीको घोषणा समेत गरेन ।

एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगीले प्रत्येक तीन वर्षमा प्रकोपको रूप लिने गरेको छ । सरकारसँग रोकथाम र नियन्त्रणको रणनीति नै छैन । मन्त्रालयसँग डेंगी जस्ता कीटजन्य रोग नियन्त्रण गर्ने कीटविज्ञान विशेषज्ञको दरबन्दी समेत छैन ।

यतिसम्म कि मन्त्रालयले डेंगीको प्रकोप देखिएका वेला रोग नियन्त्रण तालिम पाएका भेक्टर कन्ट्रोल निरीक्षक र मलेरिया इन्स्पेक्टरलाई समेत खटाउन सकेन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का जनस्वास्थ्य अधिकृत रेशम लामिछाने स्वास्थ्य मन्त्रालयसँग डेंगी जस्ता संक्रामक रोग नियन्त्रण गर्ने मार्गचित्र नभएको स्वीकार्छन् । समुदायसम्म पुगेर रोगबारे अध्ययन हुन नसकेको उनको भनाइ छ ।

बढ्यो जोखिम

यो वर्ष डेंगीसँगै मुसाबाट लाग्ने कीटजन्य रोग स्क्रब टाइफसको प्रकोप पनि बढेको छ । चितवनमा एकै दिन १५ असोजमा स्क्रब टाइफसका ९९ संक्रमित भेटिए । आ.व. २०७४/७५ मा त्यहाँ जम्मा ४१० जना यस्ता बिरामी भेटिएका थिए । चितवन स्क्रब टाइफसबाट बढी प्रभावित जिल्ला हो ।

ईडीसीडीको तथ्याङ्क अनुसार गत १ साउनदेखि ६ असोजसम्म स्क्रब टाइफसबाट ६१ जिल्लाका करीब ७०० जना संक्रमित भए ।

मुसाको कानमा समूह बनाएर बस्ने ‘चिगर माइट’ कीराको लार्भाले टोक्दा सर्ने ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणुको संक्रमणबाट स्क्रब टाइफस लाग्छ । स्वास्थ्य मन्त्रालयसँग स्क्रब टाइफस नियन्त्रणको पनि कुनै योजना छैन ।

अर्को संक्रामक रोग हैजाबाट प्रभावितहरूको संख्या पनि बढ्दो छ । भिब्रो कोलेरा नामक जीवाणुबाट संक्रमित खाना वा पानी सेवन गर्दा यो रोग लाग्छ । आ.व. २०६८/६९ मा हैजाबाट एक हजार ७४४ जना प्रभावित थिए । २०७०/६१ मा यो संख्या बढेर चार हजार १७० पुग्यो । यो वर्षको शुरूआतमै गुल्मीको मुसिकोट–४ दजाकोटमा झडापखालाको प्रकोप फैलियो । फोहोर खानेकुरा वा पानीको सेवनबाट लाग्ने यो रोगबाट त्यहाँ २०० भन्दा बढी बिरामी परेका थिए ।

एनाफेलिस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने मलेरियाका बिरामीको संख्या पनि बढेको छ । आव २०७२/७३ मा ९९१ जना यसबाट संक्रमित भएकोमा २०७४/७५ मा यो संख्या एक हजार १८७ पुग्यो ।

स्वास्थ्य सेवा विभागका अनुसार त्यही वर्ष मुलुकका विभिन्न ३२ ठाउँमा झाडापखाला, हैजा, फुड पोइजिनिङ, भाइरल ज्वरो, लेप्टोस्पारोसिस, मलेरिया, भाइरल हेपाटाइटिस जस्ता सरुवा रोगको प्रकोप देखिएको थियो ।

बालबालिकालाई हुने सरुवा रोग दादुराको प्रकोप पनि बढ्दो छ । सन् २०१३ मा मुलुकभर ४६ जना दादुराका बिरामी भेटिएकोमा सन् २०१८ मा बढेर २५६ जना दादुराका बिरामी भेटिए । रोचक त, नेपालले सन् २०१९ भित्रै दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ को पहिलो तीन महीनामा विश्वभरि दादुराबाट संक्रमित बिरामीको संख्या गत वर्षको तुलनामा तीन गुणाले बढेको थियो । एक जना बच्चामा भएको दादुरा अन्य १६ जनासम्मलाई सर्न सक्छ । सबै बालबालिकालाई दादुरा विरुद्धको खोपको पहुँचमा नल्याएसम्म यो रोग चुनौतीपूर्ण भइरहने ईडीसीडीका पूर्वमहानिर्देशक डा.बाबुराम मरासिनी बताउँछन् ।

छिमेकी मुलुकहरूमा चमेराबाट सर्ने निपा र लामखुट्टेबाट सर्ने चिकनगुनिया जस्ता रोग पनि प्रकोपको रूपमा देखा परेको छ । अहिलेसम्म नेपालमा नआइसकेको मानिएका यी रोगबारे स्वास्थ्य मन्त्रालयले अहिलेसम्म अनुसन्धान नै गरेको छैन ।

‘अति सुस्त’ सरकार

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संक्रामक रोग विश्वकै सार्वजनिक स्वास्थ्यका लागि जोखिमपूर्ण छन् । यस्ता रोगको समयमै पहिचान गरेर आपत्कालीन कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

स्वास्थ्य सेवा विभागले आव २०७४/७५ को पछिल्लो प्रतिवेदन मार्फत उच्च संक्रामक रोग र महामारीजन्य नयाँ रोग नियन्त्रणका लागि तत्काल कदम चाल्न आवश्यक रहेको जनाएको छ । महामारीजन्य रोगको रोकथाम अझै पनि चुनौतीपूर्ण रहेको प्रतिवेदनमा जनाइएको छ । खासगरी प्राकृतिक विपत्ति र मौसममा देखिने परिवर्तनसँगै यस्ता रोगको प्रकोप फैलने सम्भावना हुन्छ ।

यस्तै, छिमेकी मुलुक भारतसँगको खुला सिमानाका कारण मानव र जनावरसँग सम्बन्धित रोग नियन्त्रण गर्न कठिन भइरहेको छ । संक्रामक रोग विरुद्ध लड्न राज्यको लगानी बढाउनुपर्ने र स्थानीय सरकारलाई सशक्तिकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्ता रोगको रोकथामका लागि संघ, प्रदेश र स्थानीय सरकारले काम गर्न सकेका छैनन् । संक्रामक रोगको रोकथाम र नियन्त्रणका लागि खासगरी संघीय सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्ने हो । संक्रामक महामारी फैलाउने रोगको रोकथाम र नियन्त्रण गर्ने संघीय सरकारको जिम्मेवारीमा पर्छ ।

तर संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर रोकथामको काम नगर्दा पछिल्ला वर्ष डेंगी र स्क्रब टाइफस जस्ता रोगको प्रकोप बढेको डा.कार्की बताउँछन् ।

नीतिगत अन्योलका कारण रोग विरुद्ध लड्ने तयारी नपुगेको बताउँछन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष डा.खेम कार्की । “संक्रामक रोग नियन्त्रणका लागि संघ र स्थानीय सरकार कसको काम कति हो भनेर स्पष्ट हुनसकेको छैन”, उनी भन्छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ सालमा पारित गरिसकेको ‘स्थानीय, प्रदेश र संघीय सरकारको कार्यविभाजन सम्बन्धी व्यवस्था’ कार्यान्वयनमा नआएका कारण पनि रोग विरुद्ध लड्ने तयारी भुत्ते भएको हो ।

“छिमेकी मुलुक भारत लगायतका ठाउँमा लामखुट्टेको टोकाइबाट लाग्ने चिकनगुनिया प्रकोपको रूपमा देखा परेको र अबको पाँच वर्षपछि नेपालमा पनि यो रोगको महामारी फैलिनसक्ने बताउँछन् । “रोकथामका लागि अहिल्यैदेखि तयारी नथाल्ने हो भने यसले भयावह समस्या निम्त्याउँछ”, उनी भन्छन् ।

धुलिखेल अस्पतालका संक्रामक रोगका अनुसन्धानकर्ता डा. दिपेश ताम्राकार महामारी फैलनुअघि नै सरकारले संक्रामक रोगको निगरानी गर्न नसकेको बताउँछन् ।

“हामीकहाँ उपचार गर्न अस्पताल आउनुअघि नै सम्भावित बिरामी पत्ता लगाएर स्थानीय स्तरबाट केन्द्रमा रिपोर्टिङ गर्ने प्रणाली पनि छैन”, उनी भन्छन् । डा.ताम्राकारका अनुसार प्रकोप फैलिनुअघि नै रोग बढ्न थालेको वा नथालेको पत्ता लगाउनुपर्नेमा तीनै तहको सरकारले यसबारे काम गर्न सकेका छैनन् ।

रोग नियन्त्रणका लागि बनाइएका र्‍यापिड रेस्पोन्स टीमले पनि काम गर्न सकेका छैनन् । संक्रामक रोगको रोकथामका लागि रणनीति तथा कार्यक्रम बनाउनुपर्ने कर्मचारीको समायोजनमा ढिलाइ हुँदा रोग नियन्त्रणको तयारी नपुगेको हो । स्वास्थ्य मन्त्रालयको कमजोरीका कारण जिल्लामा बनाइएका निकायले कर्मचारीलाई तलब मात्र खुवाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस