बलात्कार र हत्या अभियोगमा जेल सजाय तोकिएका गौतम अमेरिकाबाट पक्राउ
बलात्कार र हत्या अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका झापा चन्द्रगढीका लिलाराज गौतम (४२) लाई अमेरिकामा पक्राउ गरी नेपाल ल्याइएको छ ।
युवती बलात्कारपछि हत्या गरेर अमेरिका पलायन भएका गौतमलाई अमेरिकामा पक्राउ गरी नेपाल नेपाल डिपोर्ट गरिएको हो । गौतम सहित झापा चन्द्रगढीका मनोज खडका र सिताराम बस्नेतले २९ असोज २०५७ मा झापाकै स्थानीय युवतीलाई बलात्कार पछि हत्या गरी चारआलीस्थित जंगलको रुखमा झुण्ड्याएको अनुसन्धानबाट ख्ुलेको थियो ।
पुनरावेदन हुँदै सर्वाेच्च अदालतसम्म पुगेको उक्त मुद्दामा २९ भदौ २०६६ मा १९ वर्ष २ महीना १० दिन कैद सजाय सुनाइएको थियो ।
अमेरिकाको वासिङटनमा रहेका गौतम अमेरिकाको अध्यागमन कानुनको समेत उल्लंघन गर्दै त्यहाँ बसेका थिए ।
उनको नाममा नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गरी इन्टरपोलको सहयोग लिँदै नेपाल मगाएको थियो । अमेरिकी अध्यागमन अधिकारीहरुले टर्किस एयरबाट नेपाल पठाएको र उनलाई ६ असोज विहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए ।
नेपाल प्रहरीले गौतमको नाममा २६ असोज २०७४मा रेडकर्नर नोटिस जारी गरेको थियो ।
५ जनवरी २०१८ मा उनी अमेरिकामा रहेको खुले पछि नेपाल प्रहरीले अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) सँग समन्वय र सूचना आदान–प्रदान गरेको थियो ।