टिप्पणीमंगलबार, ५ कार्तिक , २०७६

भान्सामा विष

हिमालखबर

भारतबाट निर्वाध आयात भइरहेको मध्ये ९० प्रतिशत विषादी तरकारीका पकेट क्षेत्रमा पुग्छ। त्यसरी उत्पादित तरकारी र फलफूल परीक्षण विना नै बिक्री हुन्छ।

कुमार पुन मगर/फार्मिङ नेपाल
गोविन्द भण्डारी

नेपाली कृषकहरूमा विषादीलाई ‘औषधि’ भन्ने सोच स्थापित छ । त्यही कारण तरकारी बालीमा स्वास्थ्य सुरक्षाका उपाय नअपनाई निर्धक्क विषादी प्रयोग गर्छन् । हरेक दिन भान्सामा पाक्ने तरकारी विषादीयुक्त छ ।

तरकारीमा प्रयोग हुने विषादी प्रायः भारतबाट आउँछ । सरकारी तथ्याङ्क अनुसार सन् १९९७/९८ मा विषादीको कुल आयात ५६ टन थियो भने सन् २०१७/१८ मा बढेर ६३५ टन पुग्यो । खुला सिमानाबाट लुकाएर ल्याइने विषादी यो तथ्याङ्कमा सामेल छैन । भारतबाट प्रत्येक महीना आयात हुने अर्बौंको तरकारी तथा फलफूल पनि विषादीयुक्त छन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रले दुई वर्ष अगाडि १३९ किसिमका विषादी दर्ता गरेको थियो । आयातित ९० प्रतिशत विषादी तरकारीका पकेट क्षेत्रमा प्रयोग हुन्छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा प्रतिहेक्टर ३९६ ग्राम विषादी प्रयोग हुन्छ । तर, तरकारीका पकेट क्षेत्रमा सरकारी तथ्याङ्क भन्दा धेरै गुणा बढी विषादी प्रयोग भइरहेको छ ।

केही वर्षअघि रूपन्देहीको गैडहवा गाउँपालिका–६ र ७ मा गरिएको अनुसन्धानले प्रतिहेक्टर औसत २.९ केजी विषादीको प्रयोग भइरहेको देखाएको छ । त्यहाँका भान्टा, टमाटर र खुर्सानीमा क्लोरपिरिफस, ट्राएजोफस र कार्वेन्डाजिम जस्ता विषादीको मात्रा युरोपियन युनियन (ईयू) ले तोकेको अधिकतम मापदण्डभन्दा धेरै गुणा बढी छ ।

नेपालमा अत्यधिक प्रयोग भएका प्रोफेनोफस र क्यूनालफोस जस्ता अर्गानोफोस्फेट समूहका विषादीलाई ईयूले प्रतिबन्ध लगाइसकेको छ । यी विषादीले मानव मात्र नभई अन्य जीव तथा वनस्पतिलाई पनि असर गर्छ तर गैडहवाका कृषक खुलमखुला बिक्री भइरहेको यिनै विषादी प्रयोग गर्छन् ।

कृषकहरूले १६९ किसिमका विषादी प्रयोग गरिरहेका छन् । सरकारले धेरैजसोको प्रयोग सम्बन्धी जानकारी बिक्रेता र किसानसमक्ष पुर्‍याउन सकेको छैन । ती विषादी प्रयोग विधिबारे सरकारका सम्बन्धित निकाय नै बेखबर छन् । बट्टामा समेत प्रयोग विधि नहुँदा वा भएका पनि विदेशी भाषामा हुँदा किसानले अन्धाधुन्द प्रयोग गर्छन् ।

सरकारी तथ्याङ्क अनुसार सन् १९९७/९८ मा विषादीको कुल आयात ५६ टन थियो भने सन् २०१७/१८ मा बढेर ६३५ टन पुग्यो । खुला सिमानाबाट लुकाएर ल्याइने विषादी यो तथ्याङ्कमा सामेल छैन । भारतबाट प्रत्येक महीना आयात हुने अर्बौंको तरकारी तथा फलफूल पनि विषादीयुक्त छन् ।

अनुसन्धानमा इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट (आईपीएम) विधिबाट गरिएको खेतीको एक किलो तरकारीमा प्रोफेनोफस विषादीको मात्र २५ माइक्रोग्राम र उक्त विधि नअपनाई गरिएको खेतीको तरकारीमा ११८ माइक्रोग्राम भेटिएको छ । विषादीको जाँच गर्न देशका विभिन्न शहरहरूमा ‘द्रुत विषादी विश्लेषण इकाइ’ स्थापना गरिए पनि तरकारी तथा फलफूलमा ‘कुन विषादी कति मात्रामा छ’ भन्ने जानकारी पाइँदैन ।

केन्द्रीय प्रयोगशाला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा आधुनिक प्रयोगशाला छ । तर, जाँच गरिएका तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा प्रकाशन गरेको पाइँदैन । अन्य प्रयोगशालामा ताइवानमा निर्मित किट (एसिटाइल हाइड्रोलेज एन्जाइम भएको किट) प्रयोग गरिन्छ । यो किटले तरकारी तथा फलफूलमा रहेको विषादीका आधारमा खान हुने, पर्खेर खान हुने र फाल्नुपर्ने मात्र जानकारी दिन सक्छ ।

प्रारम्भिक परीक्षणको लागि यो किट ठीक भए पनि विषादीको सही मात्रा पत्ता लगाउन नसकिने हुँदा भरपर्दो छैन । विकसित मुलुकमा विषादीको जाँच गर्दा आधुनिक उपकरण तरल वा ग्याँस कोरम्याटोग्राफी एण्ड मास स्पेक्ट्रोमेट्री (एलसी वा जीसी एमएस/एमएस) प्रयोग हुन्छन् ।

 परीक्षणपछि मात्र सेवन

सरकारले केही तरकारी तथा फलफूलमा पहिलो पटक सीमित विषादीको उच्चतम अवशेष मात्रा (एमआरएल) निर्धारण गरी छिट्टै नेपाल राजपत्रमा प्रकाशित गर्दैछ । यसको कार्यान्वयनमा भने शङ्का छ । स्रोतसाधन, उपकरण र रसायनको उपलब्धता केन्द्रस्तरमा मात्र भएकाले कार्यान्वयन चुनौतीपूर्ण छ ।

विषादीको मात्रा पत्ता लगाउन एलसी वा जीसी–एमएस/एमएस उपकरण चाहिन्छ । साथै उपयुक्त जनशक्ति पहिचान गरी तालिम दिनुपर्ने हुन्छ । यसका लागि नेपालका विश्वविद्यालय, रिसर्च सेन्टर, नास्ट, नार्क तथा अन्य सम्बन्धित कार्यालयका विशेषज्ञको राय सुझव र सल्लाहमा विषादी परीक्षणको गतिलाई अगाडि बढाउन सकिन्छ ।

सीमित तरकारी, फलफूल, चियाको एमआरएल जाँचबाट त्यसमा भएका विषादीले असर गर्छ कि गर्दैन भन्न मुश्किल हुन्छ । सम्पूर्ण खाद्यान्नमा विषादीको अवशेष जाँच गर्न सके मात्र जोखिमबारे जानकारी हुन्छ । प्रत्येक विषादीको एमआरएल हरेक खाद्यवस्तुमा फरक–फरक हुनाले सम्पूर्ण तथ्याङ्क आउन अझै केही वर्ष लाग्छ । सरकारले अन्तर्राष्ट्रियस्तरको कोडेक्सको एमआरएल प्रयोगमा ल्याए पनि यसलाई वातावरण अनुकूल परिमार्जित गर्दै लैजानुपर्छ ।

विषादी सम्बन्धी तालिम, ज्ञान र सीपको कमीले गर्दा किसान सबैभन्दा बढी जोखिममा छन् । पैसाको प्रलोभनका कारण बिक्रेताहरूले किसानलाई नचाहिने विषादीको ठूलो परिमाण अगाडि सारिदिन्छन् । ती विषादी किनेपछि किसानले प्रयोग गर्ने सामान्य विधि र सुरक्षाका उपाय नअपनाई छर्छन् । विषादीयुक्त तरकारी र फलफूल बजारमा लैजानुभन्दा अगाडि आफैंले उपभोग गर्छन् ।

अरू देशको तुलनामा हाम्रो देशको खानपानशैली नै फरक छ । खाद्यवस्तुमा पनि सोही अनुसार एमआरएल हुनु आवश्यक हुन्छ । विकसित देश अमेरिका, चीन र अन्य युरोपेली मुलुकका आ–आफ्ना एमआरएल निर्धारण गरिएका छन् । नेपालले हरेक खाद्यवस्तुको एमआरएल निर्धारण गर्नु पर्छ ।

विषादीको चेकजाँचको क्रम बढेसँगै उपभोक्ता पनि अर्गानिक उत्पादनमा आकर्षित भइरहेका छन् । अनलाइन तथा स्थलगत खुलेका अर्गानिक पसलमा वास्तवमै विषादीरहित फलफूल तथा तरकारी पाइन्छन् त ? परीक्षण नगरिएसम्म भन्न सकिंदैन । विषादीको डरले उपभोक्ता अर्गानिक भनिएका फलफूल तथा तरकारी चर्को मूल्यमा किनिरहेका छन् ।

खाद्यवस्तुमा भएको विषादी मानव शरीरमा नाक, मुख र छालाको माध्यमबाट प्रवेश गर्छ । ताजा फलफूल तथा तरकारीमा विषादीको प्रयोग बढी हुनाले उपभोग गर्दा होशियार हुनुपर्छ । यदि विषादीको शङ्का छ भने त्यसलाई बग्ने पानी (धाराको पानी) मा केहीबेर पखाल्नुपर्छ । अझै शङ्का लागे केहीबेर नूनपानीमा (१० ग्राम नून र एक लिटर पानी) राम्रोसँग डुब्ने गरी राखी पुनः पखालेर उपभोग गर्न सकिन्छ । तरकारी छोपेर पकाउँदा पनि केही हदसम्म विषादी न्यूनीकरण हुन्छ ।

 बढी मारमा किसान

विषादी सम्बन्धी तालिम, ज्ञान र सीपको कमीले गर्दा किसान सबैभन्दा बढी जोखिममा छन् । पैसाको प्रलोभनका कारण बिक्रेताहरूले किसानलाई नचाहिने विषादीको ठूलो परिमाण अगाडि सारिदिन्छन् । ती विषादी किनेपछि किसानले प्रयोग गर्ने सामान्य विधि र सुरक्षाका उपाय नअपनाई छर्छन् । विषादीयुक्त तरकारी र फलफूल बजारमा लैजानुभन्दा अगाडि आफैंले उपभोग गर्छन् । यसरी किसानहरू तीनतिरबाट पीडित छन् ।

सरकारको कमजोर निगरानीका कारण गाउँ–गाउँका किसान थाहै नपाई प्रतिबन्धित विषादी प्रयोग गरिरहेको अनुसन्धानमा पाइएको छ । बिक्रेताहरूले ५–७ दिनको तालिमको भरमा विषादीको सम्पूर्ण जानकारी राख्न सक्दैनन् । त्यसैले उनीहरूलाई विशेष तालिम दिनेबारे सम्बन्धित निकायले सोच्नै पर्छ ।

भारतका केही शहरमा सरकारी प्राविधिकको सिफारिशमा मात्र विषादी बेच्न पाइन्छ । त्यसैगरी भारतकै सिक्किममा त सबै प्रकारका विषादी प्रतिबन्धित छ । किसानहरू त्यहाँको सरकारको नियमसँग खुशी भई अर्गानिक खाद्यवस्तु उत्पादन गरिरहेका छन् । हानिकारक विषादीलाई नेपाल प्रवेशमा पनि रोक लगाउनु आवश्यक छ ।

(भण्डारी नेदरल्याण्ड्सको वाग्निन्गेन विश्वविद्यालयका शोधार्थी हुन् ।)

प्रतिकृया दिनुहोस