महराको बयान, ५ दिन थप हिरासतमै रहने
जबरजस्ती करणी उद्योगको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराको आइतबार बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान भएको हो । बयानका लागि महरालाई आज तेस्रोपटक सरकारी वकिलको कार्यालय लगिएको थियो ।
यसअघि दुई पटक उनले स्वास्थ्यको कारण बयान दिन नसक्ने भनेपछि सामान्य सोधपुछमा भएको थियो । औपचारिक बयान भने आइतबार मात्र भएको एक सरकारी वकिलले बताए ।
दिनभर जस्तै बयान लिएपछि अपरान्ह महरालाई हिरासतमै राख्ने म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौं लगेको थियो । अदालतले महरालाई प्रहरी हिरासमतमै राखेर अनुसन्धान् गर्न तेस्रो पटक आइतबार ५ दिनको म्याद थप गरेको छ । प्रहरीले ७ दिनको म्याद मागेकोमा अदालतले ५ दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।
आरोपित व्यक्तिलाई अनुसन्धानका लागि बढीमा २५ न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी व्यवस्था छ । महरालाई प्रहरीले पक्राउ गरेको १५ दिन भयो ।
आइतबार पनि अस्पताल लगियो
आइतबार पनि प्रहरीले महरालाई अदालतबाट सिधै थापाथलीस्थित नर्भिक अस्पताल लगेको छ । उनलाई स्वास्थ्यका कारण सिधै अदालत लगेको प्रहरीले बताएको छ । १९ असोजमा पक्राउ परेका महरा ४ दिन पछिदेखि नर्भिकमै छन् ।
अस्ति शुक्रबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि सीसीयूमा उपचार गरिएको थियो तर विस्तारै स्वास्थ्यमा सुधार भएका कारण आइतबार दिनभर सरकारी वकिलको कार्यालय र अदालतमा रहे पनि साँझ भने प्रहरीले अस्पताल लगेको हो ।