मोटा मान्छेको फोक्सोमा बोसो जमेको पाइयो
अधिक तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ ।
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ५२ जना मानिसहरूको फोक्सोको अध्ययन गर्दा यस्तो तथ्य फेला परेको हो । शरीरको तौल अनुपातमा ती व्यक्तिहरूको फोक्सोमा बोसो बढेको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यूरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित उक्त अनुसन्धानपत्रका अनुसार मृत्युपश्चात् अनुसन्धानका लागि उपलब्ध गराइएका फोक्सोहरूको अध्ययन वैज्ञानिकहरूले गरेको बीबीसीले जनाएको छ ।
ती नमूनाहरूमध्ये १५ जनामा दम रोग देखिएको थिएन । २१ जनामा दम रोग थियो तर उनीहरूको अर्कै कारणले निधन भएको थियो भने १६ जनामा कुनै पनि रोग देखिएको थिएन ।
अनुसन्धानकर्ताहरूले एडिपोज भनिने बोसो फोक्सोका स–साना वायु नलीका भित्ताहरूमा पाइएको र मोटा मानिसहरूमा त्यो बढी पाइएको बताएका छन् । वैज्ञानिकहरूले अनुसन्धानका लागि पाएका फोक्सोका १४ सय वटा एअरवेजहरूको अध्ययन रङ प्रयोग गरेर गरेको उल्लेख छ ।
उनीहरुले भनेका छन् ‘बढी तौल हुने र मोटा व्यक्तिहरूमा दमको जोखिम किन बढी हुन्छ भन्ने जवाफ यो अध्ययनबाट मिल्न सक्छ ।’
फोक्सो विज्ञहरूले भनेका छन् ‘त्यस्तो जोखिम घटाउँदा कम हुन जान्छ कि जाँदैन भनेर अध्ययन गर्नु रोचक हुनेछ ।’