तीन माननीय हिरासतमा, जन्मकैदको सजाय भोग्दै रेशम चौधरी
१७ असोजदेखि २८ असोजभित्र प्रतिनिधिसभाका तीन सांसद पक्राउ परेका छन् । दाङ–२ बाट निर्वाचित कृष्णबहादुर महरा १७ असोजमा, रौतहट–२ बाट निर्वाचित मोहम्मद आफताव आलम २६ असोजमा र सर्लाही–१ बाट निर्वाचित प्रमोद साह २८ असोजमा पक्राउ परेका छन् ।
महिला हिंसा आरोपमा महरा, हत्या आरोपमा आलम र विमानस्थल तोडफोड आरोपमा साह पक्राउ गरेका छन् । महरा र साहको सांसद पद गुमिसकेको छ । पक्राउ गरेको प्रहरीको पत्र पछि संसद सचिवालयले महरा र साहलाई सांसदको हैसियतबाट मुक्त गरिसकेको छ । कैलाली–१ बाट निर्वाचित रेशम चौधरी भने टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका छन् ।
महरा थप तीन दिन हिरासतमा
काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
न्यायाधीश दीपककुमार दाहालको इजालसले १९ असोजदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा १९ असोजमा काठमाडौं जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो ।
निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।
साह थप सात दिन हिरासतमा
रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ ।
अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ३ कात्तिकसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।
२७ चैत २०६४ मा राजपुरमा बम विस्फोट गराएको अभियोगमा २६ असोजमा आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पु-याइएको छ ।
सांसद साह पक्राउ
जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताए । उनका अनुसार पक्राउ लगत्तै शाहलाई मंगलबार नै जनकपुर पठाइएको छ ।
जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । राजपाले भने पक्राउको विरोध गरेको छ ।
सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेको छ ।