कांग्रेसको चियापान आज, देशभर कार्यक्रम आयोजना
दशैं, तिहार, छठ, नेपाल सम्वत, ल्होसार, उभौली लगायत चाडको अवसरमा नेपाली कांग्रेसले आज चियापान कार्यक्रमको आयोजना गर्दैछ ।
२०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
दिउँसो १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहनेछ ।
राजधानी उपत्यकाका लागि केन्द्रीय कार्यालय र देशभर पार्टी कार्यालयमा चियापान कार्यक्रम रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।