समाचार बुधबार, असोज २२, २०७६

राष्ट्रपति सीका लागि चार सुरक्षा घेरा, उपत्यका बाहिरबाट समेत सुरक्षाकर्मी झिकाइने

हिमालखबर

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी दुई दिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

“चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौं”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी राखिने भएको छ ।

राजकीय भ्रमणमा राष्ट्रपति सी शनिबार नेपाल आउने तालिका सार्वजिनक भएकाे छ । भ्रमण तालिका सार्वजिनक भएसँगै उनकाे स्वागतकाे तयारीलाई समेत तीब्र पारिएकाे छ । 

प्रतिकृया दिनुहोस