लेखनवृत्ति खोज पत्रकारिता पुरस्कार सविता श्रेष्ठलाई
लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कारबाट नागरिक दैनिकका चितवन जिल्ला संवाददाता सविता श्रेष्ठ पुरस्कृत भएकी छिन् । श्रेष्ठले दुई लाख नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा कानून बनाउन भइरहेको सकस सम्बन्धमा गरेको रिपोर्टिङका लागि उनलाई उक्त पुरस्कार दिइएको आयोजकले जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावास र शेयरकाष्ट इनिसियटिभ नेपालको संयुक्त पहलमा एक वर्षदेखि विभिन्न चरणमा गरिएको खोजपत्रकारिता कार्यक्रमबाट उनी छनाेट भएकी हुन् । श्रेष्ठ २०६४ सालदेखि पत्रकारितामा सक्रिय छिन् ।
देशका सात वटै प्रदेशका आठ मुख्य शहरहरुमा गरिएको खोज पत्रकारिता रिपोर्टिङ प्रतिपस्पर्धाबाट छानिएका सातजना अन्तिम प्रतिस्पर्धी फेलोहरु सहित राष्ट्रिय पुरस्कार मंगलबार होटल हिमालयमा वितरण गरिएको थियो।
कार्यक्रममा छानिएका अन्तिम प्रतिस्पर्धी सातजनालाई लेखनवृत्तिका लागि जनही ७० हजार नगद प्रदान गरिएको थियो।