महासचिव गुटरेसद्वारा नेपालको प्रशंसा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै अघिल्लो आइतबारदेखि अमेरिका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको भेटवार्तामा महासचिव गुटरेसले नेपालको शान्ति, स्थायित्व र लोकतान्त्रिक रुपान्तरणको खुलेर सराहना गरे ।
उनले नेपालको शान्ति, प्रगति र समृद्धिको कामना समेत गरेका छन् ।
मन्त्री ज्ञवालीले आगामी चैतमा नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासविच गुटरेसलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री ओलीबाट प्राप्त निमन्त्रणाप्रति आभार व्यक्त गर्दै महासचिवले त्यसको सकारात्मक जवाफ दिए ।
परराष्ट्रमन्त्रीले राजनीतिक स्थायित्व प्राप्तिसँगै नेपाल समाजिक, आर्थिक विकासको बाटोमा अग्रसर भएको जानकारी दिँदै दिगो विकासको लक्ष्य हासिल गर्न नेपाल सरकार लागिपरेको बताए ।
दिगो विकास हासिल गर्न स्रोत र साधनको अभाव रहे पनि लक्ष्य हासिल गरेरै छाड्ने नेपालको दृढता रहेको मन्त्री ज्ञवालीले सुनाए ।
दिगो विकास र शान्ति, जलवायु परिवर्तनजस्ता गम्भीर मुद्दाले नेपालजस्ता पर्वतीय मुलुक तथा साना टापु राष्ट्र असमानुपातिक प्रभाव घटाउन डटेर लागेको उहाँले जानकारी दिए ।
मन्त्री ज्ञवालीले राष्ट्रसङ्घसँग निरन्तर सहकार्य र साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै नेपालको प्रगतिका निम्ति राष्ट्रसङ्घबाट भएको योगदानको सराहना गरे ।