स्वास्थ्य र शिक्षाको व्यापारीकरण रोक्नुपर्छः उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताए ।
“नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्छ” उपराष्ट्रपति पुनले भने, “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहँुच सुनिश्चित गर्नुपर्दछ ।”
उपराष्ट्रपति पुनले नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक र होमियोपेथिक चिकित्सालगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनुपर्नेमा जोड दिए ।
“सुविधा सम्पन्न निजी अस्पताल महँगा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासा छन्, त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउनुपर्दछ”, उपराष्ट्रपति पुनले भने ।