ब्यांककाे सप्टवेर ह्याक गरी ६५ लाख आफ्नो खातामा तान्ने पक्राउ
कृषि विकास ब्यांकको सफ्टवेर ह्याक गरी ६५ लाख आफ्नो खातामा तान्ने रामकृष्ण भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर भुसाललाई स्याङ्जाको वालिङबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ परेको हो । सफ्टवेर ह्याक गरी बाणिज्य ब्यांकबाट आफ्नो खातामा जम्मा गरिएको ६५ लाख भने भुसालले निकाल्न पाएनन् ।
बाणिज्य ब्यांक ह्याक गरी एटिएमबाट पैसा निकाल्ने १२ जनालाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिइसकेको छ । घटना संलग्न पाँच जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको भुसाललाई काठमाडौं ल्याएर अनुसन्धान गरिने भएको छ । प्रहरीले पानस रेमिट र कृषि विकास ब्यांकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने १२ जनालाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार उनीहरुले कृषि विकास ब्यांकको सफ्टवेयर ह्याक गरी रु चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेका थिए ।
त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले रु ६० लाख बरामद गरिसकेको छ ।
यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले रु पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ ।