नेकपालाई एकपछि अर्को निर्वाचनमा धक्का, ओली र दाहालकै जिल्लामा कांग्रेसको जित
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थानीय तहदेखि संघीय सरकारसम्म प्रष्ट दुइ तिहाइको सरकार चलारहेको छ ।
संघीय संसदमा दुई तिहाइको सरकार गठन गरेको नेकपाको ६ प्रदेश र चार सय बढी स्थानीय सरकारको नेतृत्व गरिरहेको छ । २०७४ मंसिरमा सकिएको प्रदेश तथा प्रतिनिधिसभा तथा २०७४ कै स्थानीय निर्वाचनमा प्राप्त जनमतका आधारमा नेकपाको यो पोजिसन बनेको हो ।
तर, त्यस यता भने लगातार नेकपा पराजित हुँदै आएको छ । त्यसैको पछिल्लो उदाहरण हो, वैदेशिक रोजगार व्यवसायी महासंघको निर्वाचनमा नेकपा उम्मेद्वार पराजित हुनु ।
हुन त नेकपाका उम्मेद्वारको थालनि निर्माण व्यवसायी महासंघबाटै भएको हो । नेकपा उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार रवि सिंहले निर्वाचित भएका थिए ।
केही समय अगाडि भएको नेपाल बार एसोसियनको निर्वाचनमा पनि नेकपाले सोंचेजस्तो मत ल्याउन सकेन । अध्यक्ष जिते पनि महासचिव कांग्रेस निकटले जिते ।
त्यस बाहेक जिल्ला स्तरको निर्वाचनमा भने नेकपाका उम्मेद्वार लगातार पराजित भइरहेका छन् ।
२२ भदौंमा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामै कांग्रेस उम्मेद्वार विजयी भएको थियो । उद्योग बाणिज्य संघका निर्वाचनमा नेकपा उम्मेद्वार पराजित गर्दै कांग्रेस उम्मेद्वार विजयी भएको थियो ।
यसको एक दिन अगाडि मात्रै पनि ट्रेकिङ एजेन्सि एसोसिएसन अफ नेपाल (टान) को ४१औँ वार्षिक साधारणसभाबाट कांग्रेस उम्मेद्वार विजयी भए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै गृह जिल्ला चितवनमा पनि कांग्रेस उम्मेद्वारले नेकपालाई पराजित गरेको थियो । २६औं साधरणसभाबाट नेपाल निर्माण व्यवसायी महासंघमा कांग्रेस उम्मेद्वार निर्वाचित भएका थिए ।