मोदीलाई पाकिस्तानले दिएन हवाईमार्ग
पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाईमार्ग नदिने भएको छ । मोदी जर्मनी हुँदै अमेरिकाका जाने कार्यक्रम रहेको छ ।
मोदी २२ सेप्टेम्बरमा अमेरिकाको ह्यूस्टनमा ‘हाउडी मोदी’ नामक कार्यक्रममा सहभागी हुनेछन् । सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने बताइएको छ ।
आफ्नो हवाई क्षेत्रबाट उडान अनुमति दिन इन्कार गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भने, “भारतबाट अनुरोध आएको थियो, भारतीय प्रधानमन्त्री पाकिस्तानको हवाईमार्ग हुँदै जर्मनी जान चाहन्थे । तर, कश्मीरको अवस्थाका कारण हामीले यसको अनुमति दिएनौं ।” उनले भने, “हामीले भारतीय उच्च आयोगलाई जानकारी गराएका छौं कि हामीले मोदीलाई उडान अनुमति दिदैनौं ।”
महमूद कुरैशीले भने,“ मोदीका लागि २० सेप्टेम्बरमा जर्मनी जाने र २८ सेप्टेम्बर फिर्तीका लागि पाकिस्तानी हवाईमार्ग प्रयोग गर्ने अनुमति मागिएको थियो ।
प्रधानमन्त्री मोदीले यो भ्रमणमा संयुक्त राष्ट्रसंघको आमसभामा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । कश्मीर विवादका कारण भारत र पाकिस्तानबीच अहिले सम्बन्धमा कटुता आएको छ ।–एजेन्सी