वार्ता रद्द गर्ने निर्णयले अमेरिकालाई नै बढी घाटा: तालिबान
अफगानिस्तानको कट्टरपन्थी विद्रोही संगठन तालिबानले शान्ति वार्ताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्र्म्पको निर्णयको आलोचना गर्दै यसबाट अमेरिकालाई नै बढी नोक्सान हुने बताएको छ। यो निर्णयले परिपक्वता र अनुभवको कमी देखाएको उसको भनाइ छ।
ट्रम्पले आइतबार अमेरिकाको क्याम्प डेभिडमा तालिबानका वरिष्ठ नेताहरु र अफगान राष्ट्रपति अशरफ घानीसँग वार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा एक दिनअघि ट्रम्पले त्यसलाई रद्द गरेको घोषणा ट्विट मार्फत गरेका थिए।
बिहीबार अफगानिस्तानको काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान जाने गरी बम विस्फोट भएपछि ट्रम्पले यो निर्णय गरेका हुन्। आक्रमणको जिम्मा तालिबानले लिएको थियो।
उता, अफगानिस्तान सरकारले शान्ति वार्ता रद्द गर्ने अमेरिकी निर्णयको स्वागत गर्दै उपयुक्त समयमा गरिएको सही कदम भनेको छ।
अफगानिस्तानका लागि विशेष अमेरिकी दूत जल्मे खलीलजादले तालिबानसँग 'सैद्धान्तिक रुपमा' एक शान्ति सम्झौता हुने घोषणा गत साता गरेका थिए। त्यसैका लागि आइतबार वार्ता तय गरिएको थियो।
तालिबानले अफगान सरकारसँग भने वार्ता गर्न अस्वीकार गर्दै आएको छ। उसले सरकारलाई अमेरिकाको कठपुतली भन्दै आएको छ।
अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैन्य अभियान जारी राखेको छ। अमेरिका र तालिबानबीच अहिलेसम्म नौ पटक शान्तिवार्ता भइसकेको छ। तर अफगानीहरुको दीर्घकालीन शान्तिको आशा पूरा हुन सकेको छैन। तालिबानको अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो। - एजेन्सी