बैंककाे एटीएम प्रणाली ह्याक, राष्ट्र बैंकले बोलायो आकस्मिक वैठक
बैंकको एटीएम प्रणाली नै ह्याक गरी रकम निकालिएको भेटिएपछि अधिकांश बैंकको एटीएम सर्भर बन्द गरिएको छ । सर्भर बन्द हुँदा अधिकांश ब्यांकहरुका एटीएम चलेका छैनन् ।
गए राति प्रहरीले दरबारमार्गबाट नबिल बैंकको एटीएमबाट अनधिकृत रुपमा रकम निकालिरहेका चिनियाँ नागरिकहरुलाई पक्राउ गरिएको थियो ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार, एटीएम स्वीच ह्याक गरी काेर सिस्टमलाई नै बाइपास गरेर ब्यांकका एटीएमबाट रकम चोरी गरिएको भेटिएको छ । एटीएमबाट थप रकम चोरी हुन नदिन अहिले एटीएम प्रणालीको सर्भर बन्द गरेर अनुसन्धान थालिएको छ ।
यस विषयमा थप छलफल गर्न नेपाल राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखहरुलाई आकस्मिक वैठकमा बोलाएको छ ।
“सबै वाणिज्य बैंकका आईटी प्रमुखहरुलाई ११ बजे बोलाएर समस्या कति गहिरो हो भन्ने विषयमा बुझ्न खोजिरहेका छौं,” राष्ट्र बैंक स्रोतले भन्यो ।