दरबार हत्याकाण्ड सम्बन्धी त्यो बुलेटिन
दरबार हत्याकाण्ड भएको भोलिपल्टै अपराह्न ४ बजेभित्र हिमालले चार पृष्ठको बुलेटिन प्रकाशन गर्यो। घटनाको पछिल्लो अवस्था सहित स्थिति सम्हाल्न के गर्नुपर्छ भन्ने कोणबाट सामग्री पस्किइएको बुलेटिन किन्न तँछाडमछाड नै भयो।
२०५८ जेठ १९ को दरबार हत्याकाण्डबारे अपुष्ट खबर तत्काल एक कान दुई कान हुँदै फैलिए पनि पुष्ट समाचार बाहिर आउन समय लाग्यो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै घटना भएको दुई घन्टापछि मात्र सूचना पाएको त्यति वेलाका समाचारमा उल्लेख छन्।
पहिले पनि दरबारले सञ्चारमाध्यमसँग दूरी राख्ने गरेकाले त्यस दिन हत्याकाण्डको खबर पुगुन्जेल अधिकांश पत्रिका ‘फाइनल’ भई प्रेसमा गइसकेका थिए। बिहान प्रकाशित हुने पत्रिकामध्ये नेपाल समाचारपत्रले मात्र दरबारमा हत्याकाण्ड भएको समाचार छापेको थियो। तर त्यो समाचारमा पनि के भएको थियो, कसरी भएको थियो भन्ने जानकारी थिएन।
२३ वर्ष अगाडि आमसञ्चार माध्यमका रूपमा सरकारी स्वामित्वका रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण माध्यममा वर्चस्व थियो। छापा माध्यममा सरकारी स्वामित्वको गोरखापत्र बाहेक ब्रोडशीट दैनिक कान्तिपुर, नेपाल समाचारपत्र, हिमालय टाइम्स, स्पेस टाइम्स लगायत थिए। केही एफएम स्टेशनहरूले पनि समाचार सम्प्रेषणमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका थिए।
यद्यपि गाइँगुइँ बाहेक घटनाबारे सत्यतथ्य कसैलाई थाहा थिएन। यता, मानिसमा सूचनाको भोक व्यग्र थियो। अर्कातिर, रेडियो नेपाल र नेपाल टेलिभजनको नियमित प्रसारण नै अवरुद्ध थियो। समाचार बुलेटिन समेत आउन नसकिरहेका वेला अफवाह भने आगो जसरी फैलिइरहेको थियो।
दरबार हत्याकाण्ड भएको रात हिमाल खबरपत्रिकाका सम्पादक राजेन्द्र दाहाल भारतको नयाँ दिल्लीमा थिए। “म हेग (नेदरल्यान्ड्स)मा भएको कार्यक्रममा सहभागी भएर दिल्लीमा बसेको थिएँ। भोलिपल्ट बिहान काठमाडौं आउने तय भएको थियो,” दाहालले सम्झिए, “त्यही रात घटना भएको रहेछ।”
लामो विमान यात्राले थकित भएका उनी निद्रा राम्रो नपर्दा जेठ २० गतेको बिहान साढे ३ बजेतिरै ब्युँझिएका थिए। यसपछि दिल्लीको होटलको कोठामा भएको टेलिभिजन खोलेर हेर्न थाले। यत्तिकैमा समाचार च्यानलहरूमा नेपालको राजदरबारमा हत्याकाण्ड भएको ‘ब्रेकिङ न्यूज’ देखे।
दुई दशक लामो पत्रकारिताको अनुभव बटुलिसकेका दाहालले भारतीय च्यानलमा आएको यो खबर पत्याइहालेनन्। कुनै अफवाह होला भन्ठाने। तर अरू टेलिभिजन च्यानलमा पनि हत्याकाण्डको खबर देखेपछि घटनाको पुष्टि गर्न होटलको कोठाबाटै भारतका लागि नेपाली राजदूत भेषबहादुर थापालाई दूतावासमा फोन गरे। थापाले ‘राजेन्द्रजी, घटना भएको हो, तर अरू विवरण केही आएको छैन’ भनी जवाफ दिएपछि बल्ल दाहाल अफवाह होइन भन्ने निष्कर्षमा पुगे।
त्यस दिन बिहान ९ बजेको उडानबाट दाहाल काठमाडौं आउँदै थिए। त्यसैले हतार हतार विमानस्थल पुगे। नेपाल जान भनी अरू पनि जम्मा भएका थिए, तर विमान काठमाडौं जान्छ/जाँदैन भन्ने टुंगो नै थिएन। नेपाल जाने विमानको काउन्टर पनि खुलेको थिएन।
करीब एक घन्टाको अनिश्चिततापछि बल्ल विमान काठमाडौं जान्छ भन्ने जानकारी आयो। केही बेरमा विमान उड्यो, दाहाल काठमाडौं अवतरण भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब साढे २ बजेतिर सोझै उनी हिमालको कार्यालय पाटनढोका पुगे।
दाहाल कार्यालय पुग्दा सहकर्मीहरू समाचार बुलेटिन छाप्ने तयारी गरिरहेका थिए। त्यति वेला हिमाल पाक्षिक थियो। दरबार हत्याकाण्डको समाचार हिमालको नियमित अंकमा प्रकाशन गर्न दुई साता जति पर्खनुपर्थ्यो। त्यसैले विशेष परिस्थितिका कारण तुरुन्तै सर्वसाधारण र पाठकलाई जानकारी दिन बुलेटिन निकाल्ने निर्णयमा हिमाल पुगेको थियो।
“आजको जस्तो परिस्थिति भएको भए बुलेटिन निकाल्ने कुरा सोचिंदैनथ्यो होला, किनभने आज अनलाइन छ, तर त्यति खेर थिएन,” दाहालले भने।
बुलेटिनको अवधारणाबारे त्यसअघि हिमालमा धेरै पटक छलफल भए पनि कार्यान्वयन भएको थिएन। दरबार हत्याकाण्डले भने बुलेटिन निकाल्नै पर्ने दबाब दियो। उता, भारतीय सञ्चारमाध्यमले अपुष्ट समाचार फिंजाएर भ्रम छरिरहेकाले पनि दाहाललाई सकेसम्म बुलेटिन छिटै प्रकाशन गर्नुपर्ने चुनौती थियो।
यता, समाचारकक्षमा सबै जना दीपेन्द्रले गोली चलाएको बताइरहेका थिए। समाचारमा पनि त्यही लेखिंदै थियो, तर पुष्टि गर्ने आधार थिएन। दाहालले शुरूमा आफ्ना संवाददातासँग कुरा गरे। यसपछि सेनाका जर्नेलहरू लगायत आफ्ना स्रोतसँग कुरा गरे। स्रोतबाट ‘यस्तो यस्तो घटना भएको बुझिन्छ’ भन्ने त आयो, तर विश्वस्त ‘कोट’ कतैबाट आउन सकेन।
बुलेटिन फाइनल गर्नुअघि फेरि समाचारकक्षमा छलफल भयो। दाहालले आफ्ना संवाददातासँग ‘थाहा पाएको खबर दिऔं, थाहा नपाएको खबर नदिऔं’ भन्ने प्रस्ताव राखे।
“सबैले दीपेन्द्रले मारेको अड्कल काटेका थिए। स्रोतले बताएको कुरा पनि त्यही थियो, तर कोटमा कसैले त्यसो भनेका थिएनन्,” दाहाल भन्छन्, “हामीले अड्कलका भरमा समाचार दिने कुरा भएन। हामीले सन्तुलित ढंगमा सामग्री दियौं।”
हिमालले २० गते अपराह्न ४ बजेभित्रै चार पृष्ठको बुलेटिन निकाल्यो। साँझ पर्नुअघि नै बुलेटिन छापिएर बजारमा पुर्याइयो। बुलेटिनमा पछिल्लो अवस्थाको जानकारी सहित स्थिति सम्हाल्न के गर्नुपर्छ भन्ने कोणबाट सामग्री पस्किइएको थियो। बुलेटिन किन्न बजारमा तँछाडमछाड नै भयो।
“जे हुनु भइसक्यो, अब स्थिति बिग्रन नदिन के गर्ने भन्नेमा हामी केन्द्रित थियौं,” दाहालले भने, “जनता आक्रोशित भए भने दंगा हुन सक्थ्यो वा कुनै नचिताएको घटना हुन पनि सक्थ्यो। मुख्य कुरा भोलि कुनै अनिष्ट नहोस् भन्नेमा धेरै सतर्क हुनुपरेको थियो।”
घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार नीराजन सहित १० जनाको मृत्यु भएको थियो।
हिमालको इतिहासमै प्रकाशित पहिलो बुलेटिन थियो त्यो। “कैयौं घटनाक्रम यसरी विकास हुन्छन् कि केही कुरा तुरुन्तै भन्नुपर्छ,” बुलेटिनको आवश्यकता र महत्त्वबारे दाहाल भन्छन्, “केही कुरा आफूलाई थाहा छ, तर आमजनलाई थाहा छैन, र (यस्ता खबर) वेलैमा भनिएन भने खेर जान्छन्। हामीले थाहा पाएको कुरा जनताले थाहा पाउँदा बृहत्तर हित हुन्छ भन्ने लागेपछि भन्नुपर्छ।”
भ्रम र हल्लाले राज गरेका वेला आफूलाई थाहा भएका सूचनाले समाजलाई सही दिशामा अग्रसर बनाउँछ भन्ने भएपछि बुलेटिन निकालिने विश्वव्यापी मान्यता रहेको उनी बताउँछन्। “विशेष परिस्थिति पैदा हुँदा नेपालमा होस् वा विदेशमा, दैनिक पत्रिकाले पनि आफ्नो २४ घन्टाको डेडलाइन नपर्खेर बुलेटिन निकालेको पाइन्छ,” उनी भन्छन्, “किनभने उसले छिटो सूचना तथा जानकारी दिऊँ भन्ने ध्येय राखेको हुन्छ। हामी त पाक्षिक थियौं। हामीलाई पनि त्यो दबाब थियो।”
घटनाको दुई/तीन दिनपछि हिमालको नियमित अंक प्रकाशनको तयारी थालियो। त्यतिन्जेल ज्ञानेन्द्र शाह नयाँ राजा घोषित भइसकेका थिए। तर हत्याकाण्डको सत्यतथ्य सार्वजनिक भइनसकेकाले हिमालले नयाँ राजाले के गर्नुपर्छ भन्ने कोणबाट सामग्री पस्कियो।
हिमाल खबरपत्रिकाकाे (असार १-१५) अंक ‘शाही संहार’ शीर्षकमा हत्याकाण्ड केन्द्रित थियो। सम्पादक दाहाललाई भने त्यस अंकमा घटनाले उब्जाएका प्रश्नहरूको उत्तरको निकट पुग्ने जानकारी र विश्लेषणका साथै आउँदा दिनमा राजनीतिक नेतृत्व र राजसंस्था स्वयंले के गर्नुपर्छ भन्ने सामग्री दिनुपर्ने दबाब थियो।
आफ्नो नियमित अंक प्रकाशित भइसकेपछि हिमालले पुनः अर्को बुलेटिन निकाल्यो। त्यो बुलेटिन ‘नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समिति’ को प्रतिवेदन सार्वजनिक भएपछि प्रकाशन भएको थियो।
तत्कालीन राजा ज्ञानेन्द्रले २०५८ जेठ २२ मा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा सभामुख तारानाथ रानाभाट र प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहने समिति गठन गरेका थिए। नेपालले भने समितिमा बस्न अस्वीकार गरे। त्यसपछि उपाध्याय र रानाभाटको दुई सदस्यीय टोलीले जेठ २६ गतेदेखि काम शुरू गरी जेठ ३२ मा प्रतिवेदन पेश गरेको थियो।
दोस्रो बुलेटिन आउँदासम्म धेरै जानकारी र सूचना पाठकसम्म पुगिसकेको थियो। त्यसैले पहिलो बुलेटिनको जस्तो ‘क्रेज’ दोस्रो बुलेटिनमा नदेखिएको दाहाल सम्झन्छन्।
पञ्चायतकालदेखि नै पत्रकारिता गर्दै आएका दाहाललाई दरबार हत्याकाण्डका वेला पनि नेपाली प्रेसले आफ्नो भूमिका निर्वाह गरेको जस्तो लाग्छ। उनको ठम्याइ छ- नेपाली प्रेसले जहिल्यै सूचना र जानकारी दिने, विश्लेषण गर्ने र आमजनलाई शिक्षित पार्ने भूमिका गम्भीरतापूर्वक निर्वाह गरिरहेको छ।
यो पनि पढ्नुहोस् : हिमाल अर्काइभ : राजा मारिए, आस्था मरेन