‘गाउँ आएको बाटो’ मा दयाहाङको परिपक्व अभिनय छ : नवीन सुब्बा
![‘गाउँ आएको बाटो’ मा दयाहाङको परिपक्व अभिनय छ : नवीन सुब्बा](https://www.himalkhabar.com/uploads/posts/800X600/gau-aayeko-bato-(1)-1716536126.jpeg)
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गाउँ आएको बाटो’ मा अभिनेता दयाहाङ राईको परिपक्व अभिनय रहेको निर्देशक नवीन सुब्बाले बताएका छन्।
यो फिल्म जेठ २५ मा प्रदर्शन हुँदै छ। यसको ट्रेलर सार्वजनिक गरिएको छ। जसमा अभिनेता राई अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका छन्।
उनको अभिनयमा पनि बदलाव देखिने निर्देशक सुब्बाले बताए। “यो दयाहाङले अत्यन्त अब्बल काम गरेको फिल्म हो,” सुब्बाले भने, “यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिपक्व अभिनय छ।”
यसमा राईसँगै अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको प्रमुख भूमिका छ। उनीहरूले पनि राम्रो अभिनय गरेको निर्देशक सुब्बाको भनाइ छ।
![gau aayeko bato (2).jpg](https://www.himalkhabar.com/uploads/editor/Film/gau aayeko bato (2).jpg)
अभिनेता राईले यस फिल्मबारे २०६५ सालतिर सुनेको भए पनि अभिनय गर्न पाइला भन्ने नसोचेको सुनाए। “बुबा-छोराको सम्बन्धमा फिल्म बन्दै छ भन्ने सुनेको थिएँ, तर त्यति वेला उमेरकै हिसाबले पनि मैले काम पाउँछु भनेर सोचेको थिइनँ,” उनले भने, “संयोगवश यति वेला फिल्म बन्यो र मैले यसमा काम गर्न पाएँ।”
यसमा आफूले १२ किलोग्राम तौल घटाएको उनले सुनाए। यसमा धेरै मिहिनेत गरेको उल्लेख गर्दै अभिनेता राईले नेपाली दर्शकले मन पराउने विश्वास जनाए। “विश्व बजार पुगेको यो फिल्म धेरै दर्शकले हेरिदिनुभयो भने यस किसिमको फिल्म बनाउन ऊर्जा मिल्छ,” उनले भने।
![gau aayeko bato (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Film/gau aayeko bato (1).jpg)
अभिनेत्री पशुपति राईले अभिनयको फरक पक्ष सिक्न पाएको बताइन्। “निर्देशक सुब्बाले १९ वर्षको अभिनयको यस यात्रामा अभिनयका पक्षमा म कहाँ छु त भन्ने खालको धरातल नै बदलिदिनुभयो,” उनले भनिन्, “त्यो गजबको सिकाइ रह्यो।”
अमोद राईले निर्माण गरेको यो फिल्म निर्देशक सुब्बा र महेश राईले लेखेका हुन्। सामुदायिक लगानीमा बनेको फिल्मलाई अमेरिकन छायाकार जोश हेरमले खिचेका हुन्। हाइडी लीको संगीत, केदार श्रेष्ठको कास्टिङ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको साउन्ड डिजाइन, सिकुमा राईको पहिरन रहेको फिल्मलाई क्वान पुन लुङले सम्पादन गरेका छन्।