संक्रमणकालीन न्यायसँग सम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिश गर्न समिति गठन
![संक्रमणकालीन न्यायसँग सम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिश गर्न समिति गठन](https://www.himalkhabar.com/uploads/posts/800X600/cabinet_28-1710159709.jpg)
सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष सहित सदस्यको नियुक्तिका लागि सिफारिश गर्न समिति गठन गरेको हो। सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
समितिमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश जगदीश शर्मा पौडेल, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिश गर्न समिति गठन गरिएको शर्माले जानकारी दिइन्।
सिफारिश समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको आयोगका सदस्य, मानव अधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानूनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वका क्षेत्रमा क्रियाशील व्यक्ति, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदीय समितिमा अड्किएको छ। यसमा राजनीतिक दलबीच सहमति हुन सकेको छैन।