अमेरिकी सहयोगको धनुषा प्रसूति केन्द्र सञ्चालन
अमेरिकाको करीब १६ करोड रुपैयाँ सहयोगबाट निर्मित धनुषा प्रसूति केन्द्र सञ्चालनमा आएको छ।
यो केन्द्रको उद्घाटनसँगै धनुषा जिल्लामा मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको शुरूआत भएको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयद्वारा यो प्रसूति केन्द्र निर्माणका लागि रकम उपलब्ध गराइएको थियो। यसले जनकपुर क्षेत्रका हजारौं महिला तथा शिशुको स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसको सञ्चालन गर्नेछ। जनकपुर प्रादेशिक अस्पतालसँगको संयोजनमा प्रतिष्ठानले काम गर्दै आएको छ। नयाँ प्रसूति केन्द्रले जनकपुर अस्पतालमा ७२ भन्दा बढी शय्या थप गरी आधारभूत स्वास्थ्य सेवामा मधेश प्रदेशको पहुँचलाई विस्तार गर्ने जनाइएको छ। केन्द्रले यस पहल मार्फत नेपालमा मातृशिशु स्याहारको क्षेत्रमा उत्कृष्टताको नमूना बन्ने लक्ष्य राखेको अमेरिकी दूतावासको विज्ञप्तिमा उल्लेख छ।
नेपालले मातृ स्वास्थ्यको सम्बन्धमा सामना गरिरहेका गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न प्रसूति केन्द्र निर्माण गरिएको अमेरिकी दूतावासले विज्ञप्तिमा जनाएको छ।
“धनुषा प्रसूति केन्द्र नेपालमा मातृशिशु स्वास्थ्यप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,” नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भने, “यो भवन एउटा संरचना मात्र होइन, यसले त आगामी धेरै पुस्तासम्म थुप्रै नेपाली आमा र नवजात शिशुको सुस्वास्थ्यको सुरक्षा गर्ने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ।”
अमेरिकी रक्षा मन्त्रालयले गत दुई वर्षमा सहायता उपलब्ध गराएको यो दोस्रो प्रसूति केन्द्र हो। यसअघि मोरङमा अवस्थित प्रसूति केन्द्रको स्थापनामा पनि अमेरिकाले करीब १६ करोड रुपैयाँ उपलब्ध गराएको थियो।