बीएन्डसी कलेजलाई सम्बन्धन दिने फैसला पुनरावलोकन गर्न डा. केसीको माग
स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने गरी सर्वोच्च अदालतबाट आएको फैसला पुनरावलोकन गर्न माग गरेका छन्।
डा. केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी फैसला पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेका हुन्। चिकित्सा शिक्षा आयोगको मर्म र क्षेत्राधिकारभित्र कसैले प्रवेश गर्न नहुने उनको भनाइ छ।
सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएसमा भर्ना गर्न पाउने गरी अनुमति दिने गरी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। सर्वोच्चको फैसलाको पूर्ण पाठ केही दिनअघि मात्रै सार्वजनिक भएको थियो।
त्यस्तै, डा. केसीले चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्त गर्नुपर्ने, आयोगका पदाधिकारी नियुक्त गर्दा स्वार्थको द्वन्द्व हुने किसिमका व्यक्तिलाई नियुक्त गर्न नहुने लगायत माग राखेका छन्। त्यस्तै, पहिले सम्झौता गरेका माग पूरा गर्न पनि डा. केसीले आग्रह गरेका छन्।
डा. केसीले राखेका माग :
१) विधि र मापदण्ड नपुगेको मेडिकल कलेजलाई सम्बन्धन दिनु भनी भएको फैसलाको पुनरावलोकनको प्रक्रिया तत्काल अघि बढाइयोस् र फैसला तुरुन्त सच्याइयोस्।
२) चिकित्सा शिक्षा आयोगका निर्देशक सिफारिश छनोट समिति गठन गरी यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडि बढाइयोस्। निर्देशक विना आयोग चलाउने चेष्टा नगरियोस्। चिकित्सा शिक्षा आयोग लगायतका नियमनकारी निकायमा पदाधिकारी नियुक्ति गर्दा सम्बन्धित निजी क्षेत्रका लगानीकर्ता, निजी संस्थामा कार्यरत तथा स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई कुनै पनि हालतमा नियुक्त नगर्न पुनः स्मरण गराउँदछौं।
३) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा, चिकित्सा शिक्षा ऐनको दफा १२ को उपदफा २ मा दश वर्षसम्म उपत्यकाभित्र मेडिकल, डेन्टल र नर्सिङ कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र प्रदान गरिनेछैन भन्ने व्यवस्था भए अनुसार ऐन बमोजिम गर्नु गराउनु हुन जिम्मेवार निकाय, प्रतिष्ठानका पदाधिकारी र नेपाल सरकारलाई सचेत गराउँदछौं।
४) काठमाडौँ उपत्यकामा हाल सात वटा मेडिकल कलेजमा एमबीबीएस अध्यापन भइरहेको र उपत्यकाभित्र एमबीबीएस कार्यक्रम थप सञ्चालन हुँदा उपत्यका बाहिरका प्राज्ञिक जनशक्ति तथा विशेषज्ञ स्वास्थ्य सेवा राजधानी केन्द्रित हुने भएकोले उपत्यका बाहिरका ठाउँमा विशेषज्ञ सेवा सहितको सरकारी शिक्षण अस्पताल र गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने चिकित्सा शिक्षा ऐनको मर्ममा कुठाराघात हुन्छ। ऐनको मर्म विपरीत कार्य गर्ने कुचेष्टा कसैबाट नहोस्।
५) सशस्त्र द्वन्द्वका पीडितलाई न्याय हुने गरी, युद्ध अपराध र मानवता विरोधी जघन्य अपराधका दोषी दण्डित हुने गरी निष्पक्ष रूपमा संक्रमणकालीन न्यायको प्रक्रिया शीघ्र टुंग्याइयोस्। सो अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट राजीनामा।
६) चिकित्सा शिक्षा ऐनमा उल्लिखित र हामीसँग बारम्बार विभिन्न सरकारको पालामा सम्झौता भए अनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्ण रूपमा तुरुन्त सञ्चालन गर्ने, मधेश प्रदेश (बर्दिवास), इलाम, उदयपुर र डडेल्धुरामा तुरुन्त निर्माण कार्य शुरू गर्ने। विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका मापदण्ड सहित तत्काल उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन तुरुन्त जारी गरियोस्।
७) सबै नेपालीहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर।