बाँकेमा झाडापखालाबाट चार जनाको मृत्यु
झाडापखालाबाट बाँकेको नरैनापुरमा चार जनाको मृत्यु भएको छ भने सात जना बिरामी परेका छन्।
नरैनापुर गाउँपालिका-३, गेगली गाउँमा फैलिएको झाडापखालाबाट भदौ १५ मा चार जनाको ज्यान गएको वडाध्यक्ष अजय मिश्राले बताए। उनका अनुसार झाडापखालाबाट गेगल गाउँकी २५ वर्षीया रुसा पासी र उनकी छोरी डेढ वर्षीया नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको मिश्राले जानकारी दिए।
भारतसँग सीमा जोडिएको गेगली गाउँमा केही दिनदेखि झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए। “स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको छ,” साहले भने।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको उनले बताए। गर्मी मौसम र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुन सक्ने उनको अनुमान छ।