भारतले नेपाललाई शर्त राखेर मात्रै दियो बिजुली किन्न अनुमति
भारतले नेपाललाई आंशिक रूपमा मात्रै बिजुली किन्ने अनुमति दिएको छ भने त्यसमा पनि शर्त राखेको छ।
हिउँदको सुक्खा मौसममा नेपालले भारतको प्रतिस्पर्धी बजारबाट बिजुली किन्दै आएको छ। भारतसँग भएको विद्युत् व्यापार सम्बन्धी सम्झौता अन्तर्गत २०७८ वैशाखबाट नेपालले भारतीय ऊर्जा एक्सचेन्ज लिमिटेड (आईएक्स)को ‘डे-अहेड’ बजारबाट बिजुली किन्दै आएको छ। पाँच वर्षका लागि गरिएको यो सम्झौता हरेक वर्ष नवीकरण हुनुपर्ने प्रावधान छ।
तर यस पटक भारतले तीन महीनाका लागि मात्रै नवीकरण गरेको नेपाल विद्युत् प्राधिकरण स्रोतले जानकारी दिएको छ। “एक वर्षका लागि नवीकरण हुनुपर्ने हो, अहिले भारतले तीन महीनाका लागि मात्रै नवीकरण गरेको छ,” स्रोतले भन्यो, “नवीकरण गर्दा पनि शर्त राखेको छ।”
गत वर्ष गरिएको नवीकरण ३१ मार्च (चैत १८)मा सकिंदै छ। अहिलेसम्म भारतले नवीकरण गर्न आनाकानी गरिरहेको थियो। बिहीबार तीन महीनाका लागि नवीकरण गरिएको जानकारी प्राधिकरणलाई दिएको छ।
तीन महीनाका लागि गरिएको नवीकरणमा पनि ‘सोलार आवर’ (घाम लागेको वेला) मा मात्रै बिजुली किन्न पाइने उल्लेख गरिएको छ। विद्युत् बढी खपत हुने बिहान र बेलुकाको ‘पिक आवर’ मा भने नेपालले भारतीय बजारबाट बिजुली किन्न पाउनेछैन।
त्यस्तै, नेपालले खरीद गर्ने बिजुलीमा पनि सीमा तोकेको छ। नेपालले ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत ६५० मेगावाटसम्म बिजुली खरीद गर्न माग गरेको थियो तर भारतले १५० मेगावाट घटाएर ५०० मेगावाट मात्रै खरीद गर्न पाउने अनुमति दिएको छ।
यसैगरी, टनकपुरबाट नेपालले ५४ मेगावाट बिजुली खरीद गर्न अनुमति मागेको थियो। त्यसमा भने माग अनुसार नै अनुमति मिलेको प्राधिकरण स्रोतले जनाएको छ।
सम्झौता नवीकरण भएसँगै नेपालले भारतीय बजारबाट तीन महीनासम्म आंशिक बिजुली खरीद गर्न पाउनेछ। नेपालले भारतसँगको सम्झौता अनुसार ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत ६५० मेगावाटसम्म विद्युत् आयात-निर्यात गर्न अनुमति पाउनुपर्ने हो। हिउँदका वेला झन्डै आधा जति बिजुली भारतबाट आयात गरेर देशभित्रको माग धानिंदै आएको छ।
विद्युत् प्राधिकरणका अनुसार पछिल्लो समय मागको झन्डै ४७ प्रतिशत बिजुली भारतबाट आयात भइरहेको छ। देशमा प्रतिघण्टा ३४ हजार ८५४ मेगावाट बिजुलीको माग रहेकोमा भारतबाट प्रतिघण्टा १६ हजार ३४७ मेगावाट बिजुली आयात भएको प्राधिकरणको तथ्यांक छ।
यो पनि पढ्नुहोस् : बिजुली व्यापारमा नेपाललाई निरन्तर दबाबमा राख्दै भारत