भारतलाई बिजुली बेच्न शुरू, यस वर्ष आयातभन्दा निर्यात धेरै हुने
वर्षा याम शुरू भइनसके पनि खोला तथा नदीमा पानीको बहाव बढ्न थालेसँगै देशभित्रका जलविद्युत्गृहको बिजुली उत्पादन बढेपछि भारततर्फ बेच्न शुरू भएको छ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी उब्रिएको बिजुली जेठ १४ गते रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री शुरू गरेको जनाएको छ। खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रको स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको बिजुली उत्पादन वृद्धि भएको छ। आन्तरिक माग पूरा भएपछिको जगेडा विद्युत्को निर्यात शुरू गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए। “आन्तरिक खपत उच्च माग भएका वेला दुई हजार मेगावाट पुगेको छ, विगत सात-आठ वर्षअघि दैनिक रूपमा विद्युत् खपत एक-डेढ करोड युनिटको हाराहारीमा रहेकामा हाल बढेर चार करोड युनिट नाघेको छ,” घिसिङले भने।
आन्तरिक माग पूरा गरी बचेको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको उनले बताए। त्यो परिमाणको विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरण समक्ष पठाएको उनकाे भनाइ छ।
द्विपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करीब २०० मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र हरियाणा राज्यलाई करीब ४०० मेगावाट विद्युत् बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको उनले बताए।
केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ। ६५६ मेगावाटमध्ये मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जून-अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ। नेपालले रियल टाइम मार्केटमा विद्युत् खरीदबिक्रीको पनि अनुमति पाएको छ।
६५६ मेगावाटमध्ये ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट ७० मेगावाट निर्यात भइरहेको छ।
कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेशनबाट परवानीपुर सबस्टेशनसम्मको करीब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगन्ज क्षेत्रका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको बताए। पिलुवा-परवानीपुर प्रसारण लाइनको हालको कन्डक्टर बदलेर एचटीएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको र एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्को माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगन्ज करिडोरका उद्योगमा विद्युत् आपूर्तिको केही समस्या रहेको उनको भनाइ छ। कन्डक्टर बदल्ने काम दुई-तीन दिनमा सकिएपछि हालको समस्या समाधान हुने उनको दाबी छ।
दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करीब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा-परवानीपुर १३२ केभी प्रसारण लाइनको क्षमता डबल हुने उनले बताए।
हिउँदमा १५ अर्बको विद्युत् आयात
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँद याममा देशको आन्तरिक माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खा याम शुरू भएसँगै खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदीप्रवाही जलविद्युत्गृहबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो। यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ।
प्राधिकरणले गत वर्षको जेठदेखि हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। चालू आव २०८०/८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ। प्राधिकरणले चालू आवमा निर्यातभन्दा एक अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।
आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो छ। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ रुपैयाँ ३८ पैसा छ।
कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असार महीनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्षमा आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए। उनले सात वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था रहेको र पछिल्ला वर्षमा विद्युत्को निर्यात शुरू गरे पनि निर्यातभन्दा आयात बढी रहेको जनाए। तर यस वर्षबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको उनको दाबी छ।