सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका-५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका-५ स्थित सकरदिनयीबाट करीब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ता बस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ। नारायणी नदीमा निर्माण गरिएको एक हजार ५७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ता बस्तीमा विद्युत् पुर्याइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युत्सँग जोडिएको हो। सुस्ता बस्तीलाई जोड्न नारायणी नदीमा झोलुंगे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको प्राधिकरणले जनाएको छ। गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ता बस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन।
सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभीए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन्। विद्युत् लाइन र ट्रान्सफर्मरको जडान र परीक्षण सम्पन्न गरिएको छ। अब त्यहाँबाट उपभोक्ताको घर घरमा विद्युत् आपूर्ति शुरू गरिनेछ। सुस्ता बस्तीमा करीब ३५० घरधुरी छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुस्ता बस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिरहेको भए पनि भरपर्दो र गुणस्तरीय नभएकाले स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको बताए।
एक करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ता बस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/८० मा शुरू गरिएको थियो। लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुंगे पुल निर्माण सम्पन्न नहुन्जेल पर्खनुपरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको बताएको छ। हाल ९९ प्रतिशत नेपालीका घरमा विद्युत् पुगेको छ।