जनकपुरमा क्यान्सर अस्पताल निर्माण गरिने
![जनकपुरमा क्यान्सर अस्पताल निर्माण गरिने](https://www.himalkhabar.com/uploads/posts/800X600/binayatara-foundation-(2)-1710314269.jpg)
विनयतारा फाउन्डेशनले धनुषाको जनकपुरमा २०० शय्याको क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ।
फाउन्डेशनका अध्यक्ष डा. विनय साह, बोर्ड सदस्य डा. डेभिड एबुलाफिया र विनयतारा फाउन्डेशन नेपाल ट्रस्टका अध्यक्ष डा. वाइपी सिंहले काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यान्सर अस्पताल निर्माण गर्न लागेको बताएका हुन्। अहिले जनकपुरको कपिलेश्वर रोडमा २५ शय्याको विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालन गरिरहेको छ।
अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको आवश्यक जग्गा र शुरूआती लगानीको जोहो भइसकेको अध्यक्ष साहले बताए।
![binayatara foundation (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Health/binayatara foundation (1).jpg)
चार बिघा जग्गामा २०० शय्याको अस्पताल बनाउन लागिएको हो। “नेपालका साथै भारतको बिहारलाई समेत लक्ष्यित गरेर मधेश प्रदेशको जनकपुरमा क्यान्सर उपचार केन्द्र बनाउने तयारी गरिएको हो,” अध्यक्ष डा. साहले भने। हरेक वर्ष कम्तीमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्य रहेको उनको भनाइ छ।
वरिष्ठ क्यान्सर सर्जन तथा विनयतारा ट्रस्ट नेपालका अध्यक्ष डा. सिंहले अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाइसकेको बताए। यसअघि फाउन्डेशनले काठमाडौंको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माणमा सहयोग गरेको थियो।