चिरञ्जीवी वाग्लेले ल्याए ‘बहादुर शाह’
![चिरञ्जीवी वाग्लेले ल्याए ‘बहादुर शाह’](https://www.himalkhabar.com/uploads/posts/800X600/bahadur-shah-1709270330.jpg)
ऐतिहासिक पात्र राजा बहादुर शाहमाथि लेखिएको उपन्यास बहादुर शाह सार्वजनिक भएको छ।
लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्लेले बहादुर शाह लेखेका हुन्। पृथ्वीनारायण शाहको राज्य विस्तारको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेखेका वाग्ले गोरखाबाट तीन पटक सांसद निर्वाचित भएका थिए।
पृथ्वीनारायण शाहको निधनपछि राज्य विस्तार गर्ने कार्यभारलाई बहादुर शाहले निरन्तरता दिएका थिए। उनले आफ्नो नायबी कालमा नेपालको सिमाना पूर्वमा टिस्टा नदी र पश्चिममा काँगडासम्म फैलाएका थिए।
तर दरबारभित्रको षड्यन्त्रकै कारण युवावस्थामै उनको ज्यान गएको थियो। त्यसपछि राज्य विस्तार रोकिएको थियो।
यसलाई लेखक वाग्लेले उपन्यासका रूपमा तयार पारेका छन्। २०७६ सालमै तयार भएको पाण्डुलिपिको पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लागेको पब्लिकेशन नेपाञ्लयले जनाएको छ।
साहित्यमा रुचि राख्ने साहित्यकै विद्यार्थी भएको हुनाले उपन्यास मार्फत बहादुर शाहको कथा प्रस्तुत गर्न खोजेको वाग्लेको भनाइ छ। “अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिंदा इतिहास अधुरै रहन पुगेको महसूस भयो,” उनले भने, “त्यस बाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्त्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगें।”
ऐतिहासिक आख्यानले ओझेल परेका इतिहासका महत्त्वपूर्ण पात्र र परिघटनालाई बुझ्न सहयोग पुर्याउने भएकाले ऐतिहासिक पात्र बहादुर शाहमाथि लेखिएको बहादुर शाह कृति प्रकाशन गरिएको पब्लिकेशन नेपाञ्लयकी प्रमुख कार्यकारी सैजन मास्केले बताइन्।
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो। यस अघि उनका बन्धनशालामा खीर र बलिदानले बनेको देश पुस्तक प्रकाशित छन्।