नेपालको लेखापरीक्षणको अनुहार देखाउने आत्मकथा
व्यावसायिक उत्कृष्टता र निष्ठाका लागि चिनिएका टीआर उपाध्यायको आत्मकथा नेपालको लेखापरीक्षण प्रणालीको आधुनिकता र अन्तर्राष्ट्रिय मापदण्डसम्मको यात्राको कथा पनि हो।
तीर्थराज (टीआर) उपाध्याय नेपालको लेखापरीक्षण वृत्तमा व्यावसायिक उत्कृष्टता र निष्ठाका लागि चिनिएका व्यक्ति हुन्। पाँच दशकको व्यावसायिक जीवनमा नेपालमा लेखाको अन्तर्राष्ट्रिय मानक अभ्यासलाई आकार दिलाएका उनले अनगिन्ती व्यावसायिक परामर्श र सेवा पनि उपलब्ध गराए।
आफूलाई नामचिन लेखापरीक्षक बनाउन उपाध्यायले गरेको मिहिनेत सानो छैन। केही अघि प्रकाशित उनको आत्मकथा आरोह-अवरोहमा त्यो प्रस्ट देखिन्छ। दुई वर्षअघि निधन भएका उपाध्यायको आत्मकथा मरणोपरान्त सार्वजनिक भएको हो। यो पुस्तकले उनको समग्र जीवनको चित्रण त गर्छ नै, मुलुकको अर्थ-सामाजिक स्थितिको झलक पनि दिन्छ।
पुस्तकमा लेखकले तराईको दुर्गम गाउँमा जन्मिएदेखि पेशागत जीवनमा बिताएका पाँच दशकका भोगाइ उधिनेका छन्। ती भोगाइमा सुने-भोगे-देखेका घटनालाई पनि सन्दर्भ सुहाउने गरी गाँस्दा पठन रोचक बनेको छ। सप्तरीको ग्रामीण विद्यालयबाट पठनपाठन थालेका उपाध्यायले काठमाडौंमा उच्च शिक्षा र भारतको बम्बईमा चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेका थिए। वित्त र लेखा सहित अर्थ-राजनीतिमा पनि रुचि भएकाले राजनीतिक दलका नेता तथा पत्रकारसँग पनि उनको बाक्लो संगत थियो। सीए परीक्षा उत्तीर्ण गरेको ५० वर्ष पुगेको वर्ष सन् २०२२ मा पुस्तक प्रकाशनको तयारी हुँदाहुँदै उपाध्यायको अमेरिकामा दुर्घटनामा निधन भएको थियो।
पुस्तकमा जीवनको प्रारम्भिक संघर्षदेखि निर्णायक क्षणहरूसम्मको वर्णन गरेका उपाध्यायले व्यक्तिगत र व्यावसायिक अनुभवलाई उदारतासाथ पस्किएका छन्। जस्तो- नेपालमा कम्पनीहरूको पारदर्शितामा प्रश्न उठाउँदै उनले एक ठाउँ लेखेका छन्, “मैले पेशा शुरू गर्दा नेपालमा संस्थान र सीमित पब्लिक लिमिटेड कम्पनी बाहेक अन्यको लेखा पारदर्शी थिएन। पारदर्शिताको अभाव उद्योग व्यापारमा अझै विद्यमान छ।”
पहिलो परिच्छेदमा उपाध्याय बाल्यकाल सम्झँदै झन्डै आठ दशकअघिको तराईको कथा भन्छन्। त्यसमा तत्कालीन अर्थ-सामाजिक परिवेश, पूर्वाधार, गरीबी, शिक्षा र स्वास्थ्य सुविधाको चाखलाग्दो तर दुःखदायी स्थिति चित्रण गरिएको छ। उनले एसएलसीपछि अध्ययनका लागि काठमाडौं आउन भारतीय भूभाग हुँदै लामो यात्रा गर्नुपरेको वर्णनले तत्कालीन नेपालमा पूर्वाधार अभावको कहालीलाग्दो स्थिति दर्शाउँछ। यद्यपि पूर्वाधारमा नेपालले अझै ठूलो प्रगति हासिल गरिसकेको छैन।
टीआर उपाध्याय।
कलेज जीवन, बम्बईमा चार्टर्ड एकाउन्टेन्सीको अध्ययन तथा काम, महालेखापरीक्षक कार्यालयदेखि सरकारी संस्थान हुँदै विश्व ब्यांकको सहयोगका परियोजनामा गरेको लेखापरीक्षण अनुभवलाई पुस्तकमा समेटिएको छ। नेपालमा अहिले पनि सरकारी संस्थानको निजीकरण प्रमुख राजनीतिक मुद्दा बन्दै आएको छ। उपाध्यायले सरकारी संस्थानहरू धानचामल कम्पनी, चिया बगान, जनकपुर चुरोट कारखाना, जुटमिलहरूको लेखापरीक्षण गर्दा देखिएको भद्रगोल र अपारदर्शितालाई लेखापरीक्षणमा उल्लेख गरिएको जनाएका छन्। चरम घाटा, राजनीतीकरण तथा भ्रष्टाचारका कारण सरकारी संस्थानहरूलाई २०४० को दशकमा सरकारले निजीकरण गर्ने नीति अघि सारेको थियो। यद्यपि कतिपय संस्थानको निजीकरण प्रक्रियामा नै अनियमितता भएको थियो।
उपाध्यायले छुट्टै परिच्छेदमा पत्रकारहरू किशोर नेपाल, राजेन्द्र दाहाल, विजय पाण्डे, हरिहर विरही आदिसँगको संगत प्रस्तुत गरेका छन्। त्यस्तै, नेताहरू बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीसँगको अनुभव, कृष्णप्रसाद भट्टराईसँगको उठबस खुलाउँदै उनले प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षको पाटो उल्लेख गरेका छन्।
पूर्व प्रधानमन्त्री भट्टराईसँग उपाध्यायको निकट सम्बन्ध थियो। तर यो सम्बन्धलाई राजनीतिक लाभका निम्ति उपयोग नगरेको उपाध्यायको जिकिर छ। पुस्तकमा लेखिए अनुसार प्रजातन्त्र पुनःस्थापनापछि बनेको सरकारका प्रधानमन्त्री भट्टराईले उपाध्यायलाई नेपाल राष्ट्र ब्यांकको गभर्नर पदमा नियुक्तिको प्रस्ताव गरेका थिए। तर उनले लिएनन्।
नेपालमा लेखापरीक्षकको सम्मान जति छ, आलोचना पनि उत्तिकै हुन्छ। खास गरी कम्पनीहरूको बदमासी लुकाउन लेखापरीक्षकले भूमिका खेल्ने गरेको तथा तथ्यांक छेडखानी गरेर वित्तीय विवरण बनाइदिने गरेको भनी आलोचना हुने गर्छ। उपाध्याय भने यस्ता विवाद र आलोचनाबाट मुक्त रहे। उनले यसको कारण खुलाएका छन्, “मैले जहिले पनि आफ्नो पेशा मर्यादित रूपमा सञ्चालित गरें। म दुई नम्बरी कारोबारीसँग सधैं टाढा रहें।” यद्यपि एक पटक व्यावसायिक आचारसंहिता तोडेर सभापति कृष्णप्रसाद भट्टराईको आग्रहमा नेपाली कांग्रेसको महाधिवेशनका लागि लेखापरीक्षण गरेको स्विकारेका छन्। “आचारसंहिता तोडेर गरिएको त्यो नै मेरो पहिलो र अन्तिम लेखापरीक्षण थियो,” उनले लेखेका छन्।
उपाध्यायले स्थापना गरेको टीआर उपाध्याय एन्ड कम्पनीले नेपालका अग्रणी संघसंस्था तथा उद्योग-व्यवसायको लेखापरीक्षण गर्दै आएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्व अध्यक्ष समेत रहेका उपाध्यायलाई नेपालमा सीए पेशालाई सम्मानित र मर्यादित बनाउन महत्त्वपूर्ण योगदान गरेको जस जान्छ। उनको कम्पनीले केही वर्षसम्म अन्तर्राष्ट्रिय लेखापरीक्षण कम्पनी ‘केपीएमजी’ को नेपाल प्रतिनिधिका रूपमा पनि काम गरेको थियो। विश्व ब्यांकको सहयोगमा सञ्चालित यो परियोजना अन्तर्गत विघटनको चरणमा पुगेका नेपाल ब्यांक लिमिटेड र राष्ट्रिय वाणिज्य ब्यांकमा महत्त्वपूर्ण सुधार आएको थियो।
नेपालमा लेखा प्रणालीले आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसम्मको यात्रा तय गर्दाका भुक्तमानका कथा पुस्तकमा छन्। आरोह-अवरोह उपाध्यायको जीवन वृत्तान्त मात्र होइन, नेपालको शिक्षा प्रणाली, अर्थ-राजनीतिक संरचना, सामाजिक जीवन र राजनीतिको उतारचढाव पनि हो। पुस्तकको भूमिका खण्डमा पत्रकार किशोर नेपालले उपाध्यायलाई ‘राजतन्त्रको समयमा पनि राजा वा दरबारसँग निकट रहेका, नीतिनिर्माण तहमा रहेका अधिकारीसँग ठाडठाडै मत बझाउन सक्ने खरो विचार र स्पष्ट विश्लेषण गर्न नचुक्ने गरेको’ भनी लेखेका छन्।
उपाध्यायको निधनपछि परिवारले शुभेच्छा विन्दु तुलाधरको सहयोगमा आत्मकथा प्रकाशन गरेको हो।
पुस्तक : आरोह-अवरोह, विधा : आत्मकथा, लेखक : तीर्थराज उपाध्याय, सम्पादक: शुभेच्छा विन्दु तुलाधर