पृथ्वीवासीहरू हेर त, फलस्तीनलाई कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?
पृथ्वीवासीहरू हो, हेर त, तिमी बसेको भूगोलभन्दा केही सय वा हजार माइलको दूरीमा तिमी जस्तै संवेदना भएका मानिस कसरी मृत्युको कालो छायामा बाँचिरहेका छन्। कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?
जब देश युद्धमा बाँच्छ, मर्न थाल्छन् त्यहाँ भविष्य फुलाउने जीवनहरू। जब देशले गोलाबारूद सुन्न थाल्दछ, बहिरा हुन्छन् लोरी सुन्ने कानहरू। जब देश जागै रहन्छ युद्धमा रातभर, खोस्छ उसले त्यस देशका आमाका आँखाबाट निद्रा। यस्तै पीडाको, त्रासदीको जीवन्त तस्वीर बोकेर नेपाली पाठकमाझ आएको छ, फलस्तीनी कवितासंग्रह जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्।
यस संग्रहमा ३९ कविका ६९ वटा सटीक कविता समावेश छन्। कवि चन्द्र गुरुङद्वारा अनुवादित कवितासंग्रह पढ्दा पाठकलाई आफू रणभूमिमा प्रवेश गरेको भान हुन्छ। लाग्छ, कवितामा वर्णन गरिएका गोलीका छर्राहरू स्वाट्टै तिनको मस्तिष्कमा प्रवेश गर्छन् र रगतपच्छे पार्छन् तिनका हृदय।
फलस्तीनी नागरिकको दुःखमा अनायासै गह भरिन्छन्। ती माथि अन्याय गर्ने शासकको बर्बरताप्रतिको आक्रोशमा मुट्ठी कस्सिन्छन्। यस्तोमा तेज गुमाएको सूर्य झैं सेलाएर बस्दैन कवि। त्यसैले मूकदर्शक मात्र भएर गुरुङ पनि बसेनन्। बरु ती कविताको अनुवाद गरे। उनले कविता मार्फत मानिसको संवेदना अभिव्यक्त गर्न सक्ने खूबी देखाए।
पीडामा आँसु बग्छ, त्यसैले त हामी मानव। यस यथार्थसँग परिचित गुरुङको कवि हृदयमा आफ्नो देशभन्दा चार हजार ६८० किमी टाढाका मानिसले भोगेको कष्टले जब भूकम्प ल्यायो, अनि गरे तिनले अनुवाद ती पीडाका कहानी छचल्किएका अक्षरहरू, सुन्दर र सरल पंक्तिहरूमा मिलाएर।
अनुवादित कविता पढ्दा गुरुङले गरेको मिहिनेत स्पष्ट देख्न सकिन्छ। कविताको मर्म र भाव मिल्ने गरी अनुप्रास, विम्ब र पंक्तिहरू आएका छन्। कविता पढ्दा लाग्छ, गुरुङ पाठकलाई भन्न खोजिरहेछन् भाषा बेग्लै भए पनि भोगाइ बेग्लै हुँदैन। ती छुट्टै भूगोलमा बेग्लै भाषामा लेखिएका कविता अनुवाद गरेर गुरुङ भनिरहेछन्; तिनको कथा बुझ्न जरूरी छ, तिनको कष्टमा संवेदना दर्शाउन जरूरी छ र केही थाहा पाउनु पनि जरुरी छ।
हामीले थाहा पाउनै पर्छ अहंले डोर्याएको युद्ध चलिरहन्छ अनन्तकाल। फलस्तीनीका पीडा र संघर्षको चित्रलाई यस अनुवादको कृतिमा प्रस्तुत गरेर गुरुङले नेपाली पाठकलाई गुन लगाएका छन्। हामीले नजानेको भाषाको कृतिलाई पढ्न र बुझ्न सक्ने बनाइदिएका छन्।
पाठकले यस कृति मार्फत फलस्तीनी कविहरूको भावना, भोगाइ र विचारसँग परिचित हुने मौका पाएका छन्। हामीले साक्षात्कार हुने मौका पाउँछौं कि बौद्धिकताको भारले नथिचिएको कविता पाठकको मस्तिष्कको बाटो भएर फिलिली हिंड्न सक्छ।
कवितामा शान्तिको वैभवमा रमाउँदै गरिएका प्रेमिल क्षणको वर्णन छैन। बरु त्यहाँ फलस्तीनीको संघर्षका स्वर प्रतिध्वनित छन्। वर्णन गरिएका छन्, वैरीले बनाएका रगतका टाटा तिनका घरका भित्तामा, आँगनमा र बीच बाटामा :
म ओमर हुँ
म पाँच वर्षको भएँ
आज मैले बाटोको छेउमा छर्किएको रगतलाई
कुचोले सफा गरें, धोएँ
त्यो रगत मेरा बुबाको थियो
जसलाई मेरो घर अगाडि गोली प्रहार गरिएको।
कविताको हरफले मलिन स्वरमा भनिरहेछ; युद्धले भूमि मात्र होइन, जीवनको वय पनि खोसेर लान्छ। यस्तो लाग्छ, कविताहरू विलाप गर्दै भनिरहेका छन्; हेर हामी हाम्रै देशमा शरणार्थी भएका छौं। हाम्रो जीवनको उज्यालो भयको काल कोठरीमा बाँधिएको छ।
यी वैभवमा बसेर प्रेमि-प्रेमिकाको सम्झनामा वा प्रेमि-प्रेमिकाकालाई प्रभाव पार्न लेखिएका रुमानी कविता होइनन्। साँच्चै पीडामा थिलथिलो भएको मुटुमा प्रेमको हरिया दुबो पलाउने अवस्था पनि त हुँदैन।
कविताले आफ्नो देशमा शरणार्थी भएर बाँच्नुपरेको पीडालाई सूक्ष्म ढंगले वर्णन गरेको छ :
उसलाई हरेक ठाउँबाट खेदे तिनीहरूले
उसकी जवान प्रेमिकालाई खोसे र भने-
शरणार्थी हौ तिमी
यी कविताले युगीन मुद्दाहरू उठाएका छन् जसले इतिहासमा पोतिएका रगतका राता धब्बातिर देखाइरहेछन् र भनिरहेछन्- आफ्नै सुखदुःखमा मात्र मग्न भई बसेका पृथ्वीवासीहरू हो, हेर त, तिमी बसेको भूगोलभन्दा केही सय वा हजार माइलको दूरीमा तिमी जस्तै संवेदना भएका मानिस कसरी मृत्युको कालो छायामा बाँचिरहेका छन्। कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?
कविताका हरफले फलस्तीनीले भोगेका चरम कष्ट चिच्याईचिच्याई बोलिरहेका छन्। तिनको पीडा ‘भिजुअलाइज’ गर्न आह्वान गरिरहेका छन्। यी कविता शोकगीत झैं छन्। यिनले युद्धको कहानी भन्छन्, तर प्रथम विश्वयुद्धकालीन ब्रिटिश कविहरूले झैं युद्धलाई ‘ग्लोरिफाई’ गर्दैनन्। बरु मानव जीवनको दुर्भाग्यको रूपमा चित्रण गर्छन्।
यी दुःखमा पनि सपना देख्न छाड्दैनन्। सपना देखिरहन्छन्, अमानवीयताको ग्रहण लागेको दुश्मनको हृदयमा पनि एक दिन अवश्य लाग्नेछ मानवताको घाम र फर्कनेछ तिनको जीवन पुरानै लयमा। यी सपना देख्छन् स्वतन्त्र जीवनको :
म चाहन्छु कि
ब्युँझिँदा दिनभरि बिजुली होस्।
म चाहन्छु कि
फेरि चराहरूले गाएको सुन्न सकूँ
गोली नचलोस् र ड्रोनहरू नबजून्।
यिनले आँसुले लफ्रक्कै भिजेको शोकगीत गाइरहेका छन्। यिनले मनको आवाज पस्किएका छन्। मनको आवाजमा मिसावट हुँदैन, बरु हुन्छ इमानदारी। अधिकांश कविताले कविको जीवनगाथा बोकेका छन्।
आफूले पुस्तौंपुस्ता भोग्दै आएको कष्टका बावजूद कवि हृदय आफ्नो दुश्मनलाई सरापिरहेको छैन, बरु ऊ कुनै दिन अवश्य बदलिनेछ भन्ने आशाले कविता कोर्दै छ। यस कवितामा युद्धले आक्रान्त क्षणमा समेत सुखद भविष्यको कल्पना गर्दै छन् कवि। यी कवितामा राष्ट्रियताप्रतिको अपार प्रेम निस्सृत भएका छन्।
संग्रहमा भएका कवितामा दुःखका पुञ्ज छन्। जो कविको मन-आकाशमा स्थायी घर बनाएर बसेका छन्। मृत्यु र भयका गोलाबारूद विस्फोट भएका छन्। कविताभरि कविहरूले चरम दुःखबाट निस्किनका निम्ति सपना बुनेका छन्। यी कविताले युद्धको निकृष्टतालाई उच्च स्वरमा सरापेका छन्।
यस संग्रहका अधिकांश कविता सलल बगेका छन् यी सरल छन्, तर सतही छैनन्। संग्रहका कतिपय कविताले दुःखको घडीमा समेत आशाको चंगा मन-आकाशमा लहराउन सिकाएका छन। तर पनि संग्रहका अधिकांश कविता एकै प्रकारका छन् जसले पाठकलाई दिक्क लगाउन सक्छन्।
त्यसैले संग्रहमा समेटिएका सीमित विषयभन्दा फरक कविता पनि समेटिएको भए कवितासंग्रह अझ सशक्त हुने थियो। युद्ध शुरू हुनुअघि वा भर्खरै युद्ध शुरू हुँदाको मनस्थिति बोकेको कविता समेट्न पाएको भए हुन्थ्यो भन्ने अनुभूति हुन्छ।
यी सबका बावजूद संग्रहका कविता इतिहासका दस्तावेज झैं छन्। स्वतन्त्रताको आह्वान गरेर लेखिएका यी कविता अनुप्रास र छन्दको बन्धनबाट मुक्त छन्। यी कविता कविको हृदयका गीत हुन्।
लाग्छ, यी कवि कसैले सुने पनि नसुने पनि कविता लेखिरहन्छन्। शान्तिको र स्वतन्त्रताको उत्कट अभिलाषा अभिव्यक्त गरिरहन्छन्। गोपाल योञ्जनको गीतको पंक्तिले भने झैं ‘केही गुनगुनाउँछु धेरै शान्ति पाउँछु, त्यही शान्ति बाँड्न यहाँ गीत सुनाउँछु।’