‘कर्पोरेट संस्कृतिले भारतका आदिवासीलाई जबर्जस्ती हिन्दूत्व भिराउँदै छ’
‘सबै भारतीय हिन्दू हुनुपर्ने उर्दीले अल्पसंख्यकलाई अझ चुनौती थपिएको छ। मणिपुरमा धेरै चर्च र घर जलाइए। पाँच हजारभन्दा बढी मारिए। धेरै महिला बलात्कृत भए। हिन्दू धर्म स्वीकार गरे हानि नगर्ने, अरू धर्मकालाई दुर्व्यवहार गर्ने प्रवृत्ति बढेको छ।’
भारतका आदिवासी अभियन्ता हुन्, निकोलस बार्ला। उनी संस्थापक रहेको आदिवासी समन्वय मञ्च, भारतले लामो समयदेखि आदिवासीका अधिकार स्थापनाका निम्ति काम गर्दै आएको छ। १०० भन्दा बढी आदिवासी संस्थाहरूको साझा मञ्चका रूपमा यसले भारतका विभिन्न ठाउँ खास गरी झारखण्ड, उडिसा, छत्तीसगढ, उत्तर प्रदेश आदिमा भइरहेको आदिवासीको विस्थापन, दलन विरुद्ध निरन्तर आवाज उठाइरहेको छ।
अधिकारकर्मी बार्ला केही दिनअघि नेपालमा आयोजित विश्व सामाजिक मञ्चमा सहभागी थिए। सोही क्रममा उनीसँग भारतका आदिवासीको अवस्था, धार्मिक राजनीतिले उनीहरूको अस्तित्व र मूल्यमान्यतामा पारेको प्रभाव लगायतका विषयमा हिमालखबरका लागि उर्मिला गम्वा थारू र शमशाद अहमदले गरेको कुराकानीको सम्पादित अंश:
अहिले भारतमा आदिवासीको अवस्था कस्तो छ?
भारतमा अहिले पनि धेरै आदिवासी बहिष्करणमै परिरहेका छन्। सामाजिक-आर्थिक रूपमा पिछडिएका उनीहरू राजनीतिक पहुँचबाट टाढै छन्। समाजको सबैभन्दा कमजोर समुदाय यही हो जो सबै कुराबाट वञ्चित छ। थातथलोबाट विस्थापित छ। मेरो क्षेत्रका आदिवासी बसाइँ सरेर मुम्बई, दिल्ली, हैदराबादतिर पुगेका छन्। यही आडमा मानव बेचबिखन पनि भइरहेछ।
आदिवासीको पुर्ख्यौली थलो खानी सञ्चालनका निम्ति ठूलाठूला कम्पनीले हत्याएका छन्। यस्तो प्रवृत्ति विरुद्ध वर्षौंदेखि आन्दोलन चलिरहेछ। थुप्रै गैरसरकारी संस्थाले काम गर्दै आएका छन्। जस्तै- एकता परिषद्। म आफैं पनि खटिइरहेकै छु। आदिवासीका पक्षमा कानून बनाउन, वन अधिकार ऐन, भूमि अधिकार ऐन आदि कार्यान्वयन गराउन लागिपरेका छौं।
तपाईं आदिवासी आन्दोलनमा कसरी जोडिनुभयो?
म आदिवासी उरावँ समुदायको सदस्य हुँ। बाल्यकाल जंगलमै बित्यो। तैपनि बुबाआमाले मलाई पढाउन चाहनुभयो। तर भाषा ठूलो अवरोध बन्यो। स्कूलमा अंग्रेजी, हिन्दी र उडिया भाषाबाट पढ्नुपर्यो जुन मलाई कहिल्यै मन परेन। मेरै भाषामा पढ्न पाएको भए सजिलो हुँदो हो। तैपनि ती भाषा सिकें, पढाइ अघि बढाएँ। शिक्षाले मलाई धेरै कुरा सिकायो। आदिवासी र दलित समुदायका मुद्दा, धर्महरूबारे बुझ्न पाएँ।
ठूला कम्पनीले आदिवासीको आश्रयस्थलका रूपमा रहेका जमीन र जंगल कसरी कब्जा गरिरहेछन्, यसले विस्थापन कसरी बढाइरहेछ भन्ने बुझें। यिनै कुराले मलाई आन्दोलनमा लाग्न प्रेरित बनाए। पछि म पादरी भएँ अनि आफ्नो समुदायमा फर्केर कर्पोरेट कम्पनी, वन विभाग र प्रहरीबाट शोषण गरिएका गरीबहरूलाई भेटें। तिनलाई न्याय दिलाउनुपर्छ भन्ने लाग्यो।
.JPG)
त्यसैले फेरि कानून पढ्न थालें। यस क्रममा थाहा पाएँ कि न्यायिक संस्था धेरै भ्रष्ट छ। पियनदेखि न्यायाधीशसम्म भ्रष्ट छन्। उनीहरू हाकाहाकी भन्थे- पैसा तिर्न सक्छौ भने मात्र तिमीहरूको समुदायको पक्षमा निर्णय गर्छौं। न्याय प्रणालीले नै मान्छेहरू मारिरहेको स्थिति छ। सरकारी कर्मचारी र प्रहरी पनि गरीबको मुद्दालाई राम्ररी हेर्दैनन्। गरीब मान्छेहरूले अलि अलि प्रश्न गर्न थालेपछि उनीहरू तिनको आँखी बनिरहेछन्।
भारत र नेपालका आदिवासीका मुद्दामा के-कस्ता समानता वा फरक छन्?
लखनउका थारू सहितका थुप्रै आदिवासीलाई भारत सरकारले पहिचान नै गरेको छैन। उनीहरू किनारमा पारिएका छन्। नेपाल र भारतको समानता भनेको यहाँ पनि धेरै आदिवासी थातथलोबाट विस्थापित छन्।
राज्यका स्रोतमा निजी क्षेत्रको बढ्दो दबदबाले आदिवासीलाई के-कस्ता चुनौती सिर्जना गरिरहेछ?
आदिवासीका परम्परागत थलोहरूमा सुन, फलाम, बक्साइट, कोइला र युरेनियम आदि खनिज पाइएका छन्। तर आदिवासीसँग तिनको लाभ उठाउने प्राविधिक ज्ञान र पढाइ छैन। बरु ठूला ठूला कर्पोरेट कम्पनीले ती जमीन ओगट्दा उनीहरू विस्थापित भइरहेछन्। जमीन, कृषि, जंगलमा आश्रित आदिवासीलाई त्यहाँबाट भगाइएपछि उनीहरू कसरी बाँचून्?
तर सरकार यो समस्या बुझ्नै चाहिरहेको छैन। निजी कर्पोरेट कम्पनीहरूकै कारण ६५ लाख मान्छे प्रभावित छन्। स्वतन्त्रता आन्दोलनका वेला पनि देशभर विस्थापित पाँच करोडभन्दा धेरैमध्ये ४५ प्रतिशत जति आदिवासी नै थिए। तर अहिलेसम्म न सरकारले क्षतिपूर्ति दिएको छ न त कर्पोरेट कम्पनीहरूले।
मेरो थलो उडिसाको, रौर्केलामा स्टील प्लान्ट छ। त्यो बनाउँदा ९४ वटा बस्ती विस्थापन भएका थिए, सबै आदिवासीका। सन् १९५४ मा प्लान्ट बनाउन थाल्दा सरकार आएर व्यवस्थित वास, स्कूल, बिजुली, बाटो दिन्छौं भन्यो। तर पछि केही दिएन। बरु विस्थापित आदिवासीलाई जंगलको बीचमा लगेर छाडियो, अनकन्टार ठाउँमा। विभिन्न रोग लागेर धेरै जना त्यहीं मरे। जो बाँचेका छन्, ती पनि भिखारीका रूपमा छन्।
सन् २०२० को रिपोर्ट अनुसार कर्पोरेट संस्कृतिबाट आदिवासीलाई भएका थिचोमिचो सम्बन्धमा स्थानीय र राष्ट्रिय तहमा गरी ७०० जति निवेदन परेका छन्। राष्ट्रिय-अन्तर्राष्ट्रिय दुवै खालका कम्पनी जोडिएका यी उद्योगमा १३ ट्रिलियन बराबरको लगानी छ। यहाँ पैसा ठूलो हो कि ६५ लाख मान्छेको जीवन? तर सरकारदेखि कम्पनीसम्मले पैसालाई नै महत्त्व दिइरहेछन्, मान्छेको महत्त्व नकारेका छन्।
.JPG)
अर्कातिर, यस्ता उद्योग खोल्दा स्थानीयको स्वीकृति लिइएको छैन। न त उनीहरूलाई तिनमा सहभागी गराइएको छ। जबकि विकासले त सबैलाई जोड्न सक्नुपर्छ। सरकार, जनता, कर्पोरेट कम्पनी सबैको विचार मिलाएर विकास गर्नुपर्छ। तर भारतमा अडानी-अम्बानी बाहेक गाउँमा रहेका सबै जनता गरीब नै रहनुपर्छ भने जस्तो छ। यो न्यायोचित होइन।
तपाईं आफैं पादरी हुनुभएको छ। आदिवासीहरूको परम्परागत विश्वास र आस्थाप्रतिको बाहिरी आक्रमण कस्तो छ?
विश्वासको कुरा गर्दा सानोमा बुबाआमाले जे सिकाउँछन्, त्यही गरिन्छ। ठूलो भएपछि आफूलाई जे ठीक लाग्छ, त्यो गरिन्छ। अरूले स्वीकार्ने/नस्वीकार्ने अरूमै भर पर्ने कुरा हो।
परम्परागत विश्वासका हकमा विश्वभरिका आदिवासीका आआफ्नै मिथक र भगवान्हरू छन्। आफ्नै आस्था छ। उरावँ समुदायका सृष्टिकर्ता धर्मे भगवान्लाई मानिन्छ भने अरू मुन्डा आदिवासीहरूका माराँग गुरु। भारतमा राज्यबाट मान्यताप्राप्त ७४४ आदिवासी समुदाय छन्। हजारभन्दा बढी समुदाय अझै सूचीकृत हुन बाँकी छन्। १५०० देखि २००० जतिलाई जनगणनामै राखिएको छैन जो न आदिवासीमा छन् न त दलितमा।
भारतमा हिन्दू धर्मको वर्चस्व छ, त्यसपछि इस्लामको। खासमा आदिवासीको धर्म छैन। धर्म नभएका सबैलाई राज्यले हिन्दू लेखिदिन्छ। उनीहरू क्रिश्चियन बन्दा हिन्दूबाट क्रिश्चियनमा परिणत भएको भनेर बखेडा झिकिन्छ। यसै सन्दर्भमा धेरै उजुरी पनि दर्ता भएका छन्। धर्म परिवर्तन गरेको भनी दुर्व्यवहार पनि भइरहेको छ।
सबै भारतीय हिन्दू हुनुपर्ने उर्दीले अल्पसंख्यकलाई अझ चुनौती थपिएको छ। यसमा मणिपुरकै घटनालाई जोड्न सकिन्छ। त्यहाँ धेरै चर्च र घर जलाइए। पाँच हजारभन्दा बढी मारिए। धेरै महिला बलात्कृत भए। हिन्दू धर्म स्वीकार गरे हानि नगर्ने, अरू धर्मकालाई दुर्व्यवहार गर्ने प्रवृत्ति बढेको छ।
.JPG)
यसको समाधान कसरी सम्भव छ?
संवादबाट। सबैले आआफ्नो आस्था बताउने र अरूको आस्था बुझ्ने, स्वीकार गर्ने प्रयास गर्नुपर्छ। यसले सहिष्णुता बढाउन र शान्ति स्थापनामा सघाउँछ। दुर्भाग्यवश, अहिले यस्तो गर्न सकिएको छैन। यो स्थितिले हामीलाई नरसंहारतिर डोहोर्याउन सक्छ। आज म शक्तिमा हुँदा अरूलाई आक्रमण गर्छु। भोलि अरू कोही शक्तिमा पुग्दा उसले मलाई आक्रमण गर्न सक्छ।
त्यसैले मानवताकै लागि पनि यो प्रवृत्ति अन्त्य हुनुपर्छ। जसको जे आस्था छ, त्यसलाई अरूले स्वीकार गर्नुपर्छ। यसका लागि समुदायदेखि राज्य तहसम्मै छलफल हुनुपर्छ। न कि एउटै धर्मको प्रचार।
भारतमा भइरहेको आदिवासी आस्थाप्रतिको अतिक्रमणले नेपालका आदिवासीलाई कस्तो असर पार्ला?
यो महत्त्वपूर्ण कुरा हो। अहिले आदिवासीहरू पनि आफूलाई हिन्दू भनेर चिनाउन थालेका छन्। हिन्दूवादी संस्थाहरूसँग धेरै पैसा छ। तिनले गाउँ गाउँमा धर्मप्रचारक खटाएका छन्। आदिवासी नै तिनका प्रचारक छन्। पैसाको अगाडि मान्छे अन्धो भइदिन्छ। यही कारण आदिवासीहरू नै छिमेकीको शिकार गरिरहेछन्, गरैहिन्दूलाई लक्ष्यित गरिरहेछन्।
उडिसामा सन् २००७-०८ तिरको एउटा साम्प्रदायिक दंगा याद आउँछ। त्यो दंगा क्रिश्चियन र आदिवासीका बीचमा थियो। यहाँ आदिवासीलाई उक्साउने जो साम्प्रदायिक शक्ति थिए ती इसाई थिएनन्। उनीहरू त आफूलाई हिन्दू आदिवासी भनिरहेका थिए। तिनैको उक्साहटमा आदिवासीहरूले आफ्नै समुदायका क्रिश्चियनहरूलाई मार्न थाले। धार्मिक आवरणको यस्तो नरसंहार अहिले पनि कुनै न कुनै रूपमा चलिरहेकै छ। हिन्दूत्वले एउटै घरभित्र पनि कलह जन्माइरहेको छ। भारतमा देखिएको यस्तो प्रवृत्तिप्रति नेपाल पनि सतर्क हुन जरुरी छ।
राजनीतिक हिन्दूत्वले आदिवासी मुद्दा ओझेल पार्न कसरी सघाइरहेछ?
हिन्दूत्वले आदिवासी मान्यताहरू नष्ट पार्दै छ। मूल मुद्दामा विचलन ल्याइदिएको छ। जस्तो- कट्टरपन्थी विचारधारीहरू हामी यति धेरै छौं तैपनि क्रिश्चियनभन्दा कम विकसित छौं, तिनीहरू विदेशी पैसा ल्याएर विकास गरिरहेछन् भन्दै दुष्प्रचार गरिरहेछन्। यसरी एउटा धार्मिक समुदाय विशेषलाई निषेध गर्दा समाजमा विभाजन आउँछ। आक्रोश पैदा हुन्छ। अन्त्यमा सबै एकअर्कालाई सिध्याउनतर्फ लाग्छन्।
.JPG)
संवैधानिक रूपमा लोकतान्त्रिक देश भारतमा आदिवासीका मूल्यमान्यता, मुद्दा, न्यायप्रणालीसम्म हिन्दूत्व हावी भएको यहाँले सुनाउनुभयो। यस्तोमा लोकतन्त्र कसरी बलियो हुन सक्छ?
कट्टरपन्थका कारण हामीले न्यायिक प्रणाली गुमाइसकेका छौं। सन् १९९२ मा बाबरी मस्जिद खत्तम पारियो। हजारभन्दा धेरै मारिए। धेरै मुस्लिम उत्पीडित भए। सन् २०१८ मा आएर न्यायिक प्रणाली भन्छ कि केही भएकै थिएन। प्रणाली नै यतिसम्म अन्धो भएपछि हामी लोकतन्त्रमा विश्वास गर्नेहरू न्यायका लागि कहाँ जाने? साम्प्रदायिक सोचले ग्रस्त यस्ता घटना विश्वभरि नै भइरहेका छन्।
यस्तोमा बुझ्नुपर्ने के हो भने सबै मानव मर्यादामा बस्नुपर्छ। मानवताको भावना विकास गर्नुपर्छ। धर्म र जात फरक भए पनि सबै मान्छे हौं, सबै धर्मलाई सहयोग गर्नुपर्छ। बहुल र अल्पसंख्यक दुवै समुदाय मिलेर बस्न सक्नुपर्छ।
अहिले त लोकतन्त्र कतै छैन। सीमान्तीकृतलाई कसैले गन्दैन। मतदान प्रणाली नै विभाजित छ। आदिवासी र दलितलाई पार्टीहरूले पैसा दिएर विभाजित बनाइरहेका छन्। यसले परिवारभित्रै पनि फाटो ल्याइरहेको छ। आदर्शभन्दा पनि पैसालाई भोट हाल्ने प्रवृत्ति बढेको छ। यस्तो चुनावी प्रणालीबाट जो जितेर गए पनि उसले जनतालाई दुःख नै दिने हो।
त्यसैले प्रणालीसँगै नेता पनि राम्रो हुनुपर्छ। हाम्रो समुदायका वैज्ञानिक, प्रशासक, इन्जिनीयर, सरकार सबैले मानवताको मूल्य बुझ्नुपर्छ। किनकि निर्णायक तहमा यिनै हुन्छन्। प्राथमिक शिक्षादेखि नै मानव मूल्य र न्यायबारेका पाठ राखिनुपर्छ। अहिल्यैदेखि मानवीय मूल्य बुझाउँदा नै भविष्यमा नेतृत्व तहमा आउनेहरूले राम्रो नतीजा दिन सक्छन्।