द्रुतमार्गमा ३१ प्रतिशत मात्रै काम, जेठसम्म दुई सुरुङको ‘ब्रेक थ्रू’ गर्ने तयारी
![द्रुतमार्गमा ३१ प्रतिशत मात्रै काम, जेठसम्म दुई सुरुङको ‘ब्रेक थ्रू’ गर्ने तयारी](https://www.himalkhabar.com/uploads/posts/800X600/fast-track-1708146055.jpg)
राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं-तराई/मधेश द्रुतमार्ग निर्माणको करीब ३१ प्रतिशत मात्रै काम सकिएको छ।
चालू आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ। मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले बताए।
“ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। केही खरीद प्रक्रिया टुंगिन बाँकी छन्। मुद्दामामिलामा पनि गएका छन्। तर हामीले तोकिएको समय २०८३ चैतसम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं,” उनले भने।
खरीद प्रक्रियालाई लिएर पाटन उच्च अदालतमा दायर भएको मुद्दाको चाँडो निरूपण भएर काम अघि बढ्न सके तोकिएको समयभित्रै काम सम्पन्न हुने उनको भनाइ छ। राष्ट्रिय गौरवको आयोजनामा आइपर्ने कानूनी, प्रशासनिक तथा अरू कठिनाइलाई प्राथमिकताका साथ चाँडो टुंग्याउन सक्नुपर्नेमा उनको जोड छ।
करीब ७१ किलोमिटर लम्बाइ रहेको आयोजना काठमाडौंमा ४.६ किलोमिटर, ललितपुरमा नौ किलोमिटर, मकवानपुरमा ४९.७० किलोमिटर र बारामा ७.६ किलोमिटर पर्छ। आयोजनाको कुल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को खरीद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ। प्याकेज नम्बर ८ (क) र (ख) तथा ९ (क) र (ख) को भने खरीद प्रक्रिया नै विवादित छ। पटक पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरीद प्रक्रिया टुंगिन सकेको छैन। अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ।
त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको शुरू बिन्दु निर्धारण, त्यस क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ। यही कारणले त्यो क्षेत्रमा आयोजनाको खरीद प्रक्रिया शुरू हुन सकेको छैन। अहिले आयोजनाको करीब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरीद प्रक्रियामा गइसकेको आयोजनाको अपरेशन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङले बताए।
खरीद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम भइरहेका छन्। अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४.३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ।
लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रू’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनीयर विनायक शर्माले बताए। एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको शर्माले बताए।
महादेवटार सुरुङमार्गको लम्बाइ ३.३५५ किलोमिटरमध्ये हालसम्म १.९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.१७३ किलोमिटर सुरुङ खनिसकिएको छ। लेनडाँडा सुरुङमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम कुल लम्बाइ १.४३ किलोमिटर रहेकामा हालसम्म १.२०४ किलोमिटर सुरुङ खनिएको छ।
आयोजनाका ६ स्थानमा सुरुङमार्ग छन्। सबै सुरुङमार्गको कुल लम्बाइ १०.५५ किलोमिटर छ। यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौटार सुरुङ ३९ मिटर, चन्द्राम भीर सुरुङ २.२५ किलोमिटर, महादेवडाँडा सुरुङ ३.३५५ किलोमिटर, धेद्रे सुरुङ १.६३० किलोमिटर तथा लेनडाँडा सुरुङ १.४३० किलोमिटर छन्।
त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्। यसको कुल लम्बाइ १२.८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज बन्नेछन्।
त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्। हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका पुल अन्तर्गत रहेका कुल २.८०२ फाउन्डेशन पाइलमध्ये १.६६५ पाइल निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
द्रुतमार्गको चौडाइ पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर छ। आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनी छ। अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनीमध्ये हालसम्म चार हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। ३९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ।
खोकना-बुङ्गमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन। यस क्षेत्रमा कुल ३७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।
नेपाल सरकार मन्त्रिपरिषदबाट २०८० साउन ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ। यो आयोजनाको प्रस्थान बिन्दु खोकना हो भने अन्तिम बिन्दु निजगढ हो। २०७८ वैशाख ३१ गते प्याकेज नम्बर १ र २ को निर्माण व्यवसायीसँग पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सम्झौता भई जेठ ३१ गतेदेखि निर्माण शुरू भएको हो। -रासस