पूरानै संरचनामा स्थानीय निर्वाचनः परराष्ट्रमन्त्री महत
परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलले देश नै विखण्डनतर्फ जाने गरी अतिरञ्जित गर्न नहुने बताएका छन् ।
आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री महतले कांग्रेसले तत्कालीन लाभलाई थाँती राखेर मुलुकलाई निकास दिनका लागि संशोधन प्रस्तावलाई समर्थन गरेको दाबी गरे ।
“चित्त नबुझ्दा नबुझ्दै पनि देशले निकास पाउँछ, मधेश आन्दोलन रोकिन्छ भनेर संशोधन प्रस्ताव पेस गरिएको हो,” उनले भने ।
उनले संविधान संशोधनका विषयमा कांग्रेसभित्र पदाधिकारी तह र केन्द्रीय समितिमा सैद्धान्तिक छलफल भएपनि बुँदागत रुपमा भने छलफल नभएको बताए ।
संविधान कार्यान्वयनका लागि अहिलेकै अवस्थामा भए पनि सरकारले निर्वाचन गराउने बताउँदै यसले दलहरुबीचमा सहमति ल्याउने र स्थानीय तहका निर्वाचित पदाधिकारीले सीमाङ्कन गर्न सहयोग पुर्याउने उनको भनाई छ ।
सीमाङ्कनका विषयमा देशव्यापी गुनासा रहेकाले यसलाई टुङ्ग्याएर मात्रै निर्वाचन गर्न ढिलाइ भएकाले पुरानै संरचनामा निर्वाचन गर्नु उपयुक्त हुने धारणा उनले व्यक्त गरे ।
मन्त्री महतले चीनसँग अघिल्लो सरकारले गरेको व्यापार सम्झौता सैद्धान्तिक मात्रै भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्ने तहमा अहिलेको सरकारले काम गरिरहेको दाबी गर्दै रेलवे, सडक लगायतमा भएका सहमति कार्यान्वयन तहमा अघि बढिरहेको बताए ।
रासस