संसारका घुम्नुपर्ने ५२ गन्तव्यमा नेपालको मुस्ताङ
द न्यूयोर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ।
सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यूयोर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्।
पञ्चायतकालमा विदेशीलाई मुस्ताङ घुम्न प्रतिबन्ध थियो। राजदरबारको ‘सोर्सफोर्स’ लगाएर फ्रान्सेली लेखक माइमेल पिसेल मुस्ताङ पुगेका थिए। हिमाली र तिब्बती संस्कृतिमाथि अनगिन्ती पुस्तक लेखेका पिसेलले सन् १९६८ मा मुस्ताङमाथि अ लस्ट तिबेतियन किङडम पुस्तक प्रकाशन गरेका थिए।
पिसेलले मुस्ताङबारे लेखेको ५५ वर्षपछि नोरा वाल्सले पनि उनकै पुस्तकको शीर्षक सम्झाउने गरी मुस्ताङलाई ‘तिब्बती संस्कृतिको दुर्गम किल्ला’ को उपमा दिएकी छन्। ‘नेपालको उत्तरी भेगमा तिब्बती पठारको अग्लो स्थानमा रहेको, प्राचीन हिमाली राज्य मुस्ताङ परम्परागत तिब्बती संस्कृतिको गढ हो। यसको दुर्गमपन शताब्दीयौंदेखि संरक्षित छ,’ उनले लेखेकी छन्।
२०४६ सालसम्म मुस्ताङ विदेशीका लागि प्रतिबन्धित क्षेत्र थियो। जानैपर्नेले विशेष उद्देश्य खुलाएर, सरकारी अनुमति लिएर मात्र एक जना सरकारी अधिकारीसँग जानुपर्ने प्रावधान थियो। अहिले त मुस्ताङमा बाटोको पहुँच पुगेको छ भने सहुलियत दरका होटेल पनि उपलब्ध छन्।
पत्रकार वाल्सले नेपालबारे यसअघि पनि लेखिसकेकी छन्। यात्रा लेखनका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त वाल्सका लेख न्यूयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल, कन्डे नास्ट ट्राभलर, न्याशनल जिओग्राफिकमा प्रकाशित छन्।
मुस्ताङ पुग्न पहिले जस्तो गाह्रो छैन। सडक यातायात नहुँदा पोखराबाट ११ दिन पैदल यात्रा गरेर मुस्ताङ पुगिन्थ्यो।
अहिले भने मुस्ताङलाई सडकले जोडेको छ। पोखराबाट गाडीमा आठ घण्टा हुइँकिएपछि मुस्ताङ पुगिन्छ। अझ कालीगण्डकी राजमार्गको स्तरोन्नति भयो भने पोखराबाट पाँच घण्टामै मुस्ताङ पुग्न सकिन्छ।
देशका जुनसुकै भूभागबाट गाडीमा पोखरा पुग्न सकिन्छ। काठमाडौं, विराटनगरबाट भने जहाजमा पनि यात्रा गर्न सकिन्छ, पोखरासम्म।
पोखराबाट जहाज वा गाडीमा मुस्ताङ पुग्न सकिन्छ। कतिपय बाइकमा हुइँकिंदै मुस्ताङ पुग्ने गरेका छन्। पोखराबाट जीप वा बसमा यात्रा गर्न सकिन्छ। गाडी रिजर्भ गरेर पनि जान सकिन्छ।
यो पनि पढ्नुहोस् : मुस्ताङ बसाइँ जाने र छोड्नेहरू