सञ्चालनमा आएन ४७ करोडको दूध उत्पादन प्लान्ट
![सञ्चालनमा आएन ४७ करोडको दूध उत्पादन प्लान्ट](https://www.himalkhabar.com/uploads/posts/800X600/Milk-Pouder-Plant-1705476756.jpg)
बागमती प्रदेश सरकारले निर्माण गरेको पाउडर दूध उत्पादन प्लान्ट तयार भए पनि सञ्चालन हुन सकेको छैन।
व्यावसायिक पशुपालनलाई प्रेरित गर्न, दाना उत्पादन गर्न र उत्पादित दूधको सहज खपत नभएमा पाउडर बनाएर बजारमा ल्याउने लक्ष्यका साथ बागमती सरकारले हेटौंडा उपमहानगरपालिका-१०, न्युरेनीमा पाउडर प्लान्ट निर्माण गरेको हो। तीन वर्ष लगाएर ४७ करोड रुपैयाँमा प्लान्ट निर्माण भएको छ। तर कार्यविधि नै नभएका कारण उद्योग सञ्चालन हुन सकेको छैन।
प्लान्ट निर्माण भएपछि दूध सजिलै खपत हुने किसानको अपेक्षा थियो। उत्पादित दूधको खपत नहुँदा किसानले समस्या भोग्दै आएका छन्। प्लान्ट सञ्चालनमा नआउँदा उद्यमी पनि निराश छन्।
कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि नबन्दा समस्या आएको प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटाले बताए। मन्त्रालयले आवश्यक कार्यविधि निर्माण गरेपछि कुनै संस्थालाई जिम्मा दिएर धूलो दूध कारखाना सञ्चालनमा ल्याइने सापकोटाको भनाइ छ।
![Milk Pouder Plant (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Agriculture/milk plant/Milk Pouder Plant (1).jpg)
हेटौंडा दूध विकास संस्थानलाई केही वर्षको लागि ठेक्कामा लगाउने आन्तरिक तयारी भइरहेको सापकोटाले बताए। जसका लागि आवश्यक कार्यविधि निर्माणकै चरणमा रहेकाले यसको टुंगो लाग्न पाएको छैन।
किसानले भोग्नुपरिरहेको ‘मिल्क होलिडे’ को समस्या समाधान गर्ने उद्देश्यले प्लान्ट निर्माण गरिएका हो। २०७७ पुस १६ मा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले प्लान्टको शिलान्यास गरेका थिए। एक वर्षभित्र निर्माण सक्ने गरी इजी इन्फ्रा कम्पनीलाई ठेक्का दिइएको थियो। तर कोभिड-१९ महामारीका कारण ढिलाइ भएपछि तीन पटकसम्म म्याद थपिएको थियो।
दैनिक ६० हजार लिटर दूध खरीद गरी पाँच मेट्रिक टन धूलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको छ। यसबाट बागमती प्रदेशका चितवन र मकवानपुर तथा मधेश प्रदेशका बारा, पर्सा, रौतहटका गरी करीब २२ हजार परिवार लाभान्वित हुने बोर्डको आकलन छ। प्लान्ट सञ्चालनमा आउँदा ८० जनाले रोजगारी पाउनेछन्।
![Milk Pouder Plant (2).png](https://www.himalkhabar.com/uploads/editor/Agriculture/milk plant/Milk Pouder Plant (2).png)
गत असोजमै पाउडर दूध उत्पादन शुरू गर्ने लक्ष्य राखिएको थियो। तर सञ्चालनमा ढिलाइ भइरहेको छ। पाउडर प्लान्ट सञ्चालन भएपछि ‘मिल्क होलिडे’ को समस्या पनि हट्ने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटाको भनाइ छ।
संघीय सरकारको निर्णय अनुसार दुग्ध विकास संस्थान (डीडीसी)ले सञ्चालन गरिरहेको पशुदाना कारखानाभित्रै प्लान्ट स्थापना गरिएको हो। डीडीसीले लिएको आठ बिघामध्ये दुई बिघा जमीन प्लान्टका लागि प्रयोगमा आएको छ।
उद्योगबाट पाउडर दूधसँगै घ्यू पनि उत्पादन गरिनेछ। उत्पादित धूलो दूध प्याकिङ गरी दैनिक पाँच मेट्रिक टन सातै प्रदेशमा बिक्री गर्ने लक्ष्य राखिएको छ।