घुमौं भरतपुर : यस्ता छन् प्रमुख सात गन्तव्य
भ्रमण वर्ष २०२४ का लागि भरतपुर महानगरले नगर क्षेत्रका सात वटा प्रमुख गन्तव्य र ३० वटाभन्दा बढी अन्य पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको छ।
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ। महानगरले १ जनवरीमा शुभारम्भ गर्ने तयारी गरेको थियो। तर नारायणगढ मुग्लिन सडक विस्तारका लागि दैनिक चार घण्टा बन्द हुन लागेपछि केही समयपछि शुभारम्भ गरिने भएको छ। भ्रमण वर्ष सन् २०२४ मै गरिने र औपचारिक शुरूआतको मितिबारे आगामी नगरपरिषद्ले टुंगो लगाउने महानगरकी मेयर रेनु दाहालले बताइन्।
महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर ‘घुमौं भरतपुर’ भन्ने नारा सहित भ्रमण वर्ष मनाउन लागेको हो। भ्रमण वर्षमा भरतपुर क्षेत्रका सात वटा प्रमुख गन्तव्य र ३० वटाभन्दा बढी अरू पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको मेयर दाहालले बताइन्।
भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न र पर्यटकको बसाइ लम्ब्याउन होटल तथा रेस्टुरेन्ट व्यवसायीसँग सहकार्य गरेर छूट एवं विविध प्याकेज व्यवस्थापन गरिने महानगरले जनाएको छ। “महानगर आयोजक भए पनि महानगरका छिमेकी पालिका एवं जिल्लाहरूसँग समेत सहकार्य गरिन्छ। यसले छिमेकी पालिकाहरू र छिमेकी जिल्लाको समेत पर्यटन प्रवर्द्धनमा लाभ हुनेछ,” मेयर दाहालले भनिन्।
भ्रमण वर्षका लागि तालिका निर्माण गर्ने, देशका विभिन्न शहरमा निम्ता पठाउने, प्रचारप्रसार सामग्री तयार पार्ने काम भइरहेको महानगरका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार रानाले बताए। “पर्यटकीय क्षेत्रको सौन्दर्यीकरण गर्ने र आवश्यक पूर्वाधार बनाउने काम पनि भइरहेको छ,” रानाले भने।
भरतपुर महानगरले भ्रमण वर्षमा अघि सारेका प्रमुख सात ब्लक अर्थात् पर्यटकीय गन्तव्य यस्ता छन् :
मेघौली ब्लक
भरतपुर महानगरको वडा नम्बर २७ र २८ मा पर्ने पर्यटकीय क्षेत्र हो, मेघौली। नारायणी र राप्ती नदीको संगमस्थल मेघौली प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाले सम्पन्न छ। यो गन्तव्यमा राइनो पार्क, गोलाघाट, भोजबाबा, शिवालय पार्क, संग्रहालय, सामुदायिक वनहरू, सिमसार क्षेत्र छन्।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीमा घाँसे मैदान र थुप्रै ताल भएकाले यो क्षेत्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीको वासस्थानका रूपमा समेत परिचित छ। थारू, बोटे, कुमाल, मुसहर समुदायको बसोबास रहेको मेघौलीमा जीवनशैली, संस्कृतिको अध्ययन, अवलोकन गर्न पनि मानिसहरू आउने गरेका छन्।
साथै, होमस्टेको पनि सुविधा छ। यस गन्तव्यमा जलयात्रा, वन्यजन्तु अवलोकन, सूर्यास्तको अवलोकन, जंगल सफारी, सांस्कृतिक प्रस्तुति लगायत पर्यटकीय गतिविधि हुँदै आएको छ। हात्तीपोलो खेलका कारण अन्तर्राष्ट्रिय रूपमा समेत परिचित मेघौलीमा सुविधायुक्त ठूला होटलहरू पनि सञ्चालनमा छन्।
पटिहानी ब्लक
भरतपुर-२२ मा पर्ने पटिहानी ब्लक पछिल्ला वर्षहरूमा पर्यटकीय क्षेत्रका रूपमा परिचित हुँदै गएको छ। यस क्षेत्रमा अम्ब्रेला स्ट्रीट, कमल पोखरी, स्टोन पार्क छन्। २०७६ सालदेखि राप्ती नदी किनारमा सञ्चालनमा आएको अम्ब्रेला स्ट्रीट नेपाल सरकारले छनोट गरेका १०० पर्यटकीय गन्तव्य सूचीमा समेत समेटिएको छ।
९० मिटरको दूरीमा लस्करै छाताहरू राखिएको अम्ब्रेला स्ट्रीटमा भ्यू पोइन्ट, रेस्टुरेन्ट, डेटिङ पोइन्ट, वाटर फाउन्टेन छन्। थारू परिकारको स्वाद लिंदै राप्ती नदीपारि देखिने वन्यजन्तुको अवलोकन, सूर्यास्त अवलोकन यहाँको विशेषता छ। चितवन निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानीमा आरामदायी रिसोर्ट तथा होटलहरू प्रशस्त छन्।
बीसहजारी ताल
भरतपुर-८ मा पर्ने बीसहजारी ताल प्राकृतिक विविधताले भरिपूर्ण छ। विश्व रामसार सूचीमा सूचीकृत यो ताल पर्यटन वर्ष २०२० लाई लक्षित गरी सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमा पनि परेको थियो। जंगलको मध्य भागमा रहेको ताल वन्यजन्तु र चराचुरुंगी अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ।
यहाँ २५० भन्दा बढी प्रजातिका चरा, मगर गोही, घडियाल गोही, माछा, पुतली एवं विविध प्रकारका पुतली पाइन्छन्। साथै, साइबेरियन चरा पनि देख्न पाइन्छ।
देवघाटधाम ब्लक
त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटधाम हिन्दूहरूको प्रख्यात एवं पवित्र धार्मिक स्थल हो। भरतपुरको वडा नम्बर १ र तनहुँको देवघाट गाउँपालिकामा पर्ने देवघाटधाममा विशेषतः माघे संक्रान्तिमा नुहाउन लाखौं मानिस आउँछन्।
यस्तै, साउनको सोमबार, शिवरात्रिका समयमा विशेष मेला लाग्छ। मन्दिर, आश्रम, गुफा समेत रहेको देवघाट क्षेत्र धार्मिक गन्तव्यसँगै संस्कृत अध्ययनका लागि समेत परिचित ठाउँ हो।
नारायणी सी बीच मोडेल
नारायणगढ बजार आडैको नारायणी नदी किनार मर्निङ वाक, योग, साँझमा टहलिने क्षेत्र मात्र नभई भरतपुरको एक पर्यटकीय गन्तव्य समेत बनेको छ। नदी किनारमा बुद्धको अग्लो प्रतिमा, सरस्वतीको मूर्ति, चौतारी आदि संरचना छन्। हालै भरतपुर महानगरपालिकाले नदी किनार क्षेत्रलाई सी बीच मोडेलमा परिवर्तन गर्न पूर्वाधारहरू निर्माण गरेको छ।
जसमा २.५ किलोमिटर पैदल मार्ग, तीन वटा पार्किङस्थल, बेन्चहरू निर्माण भएका छन्। नदी तटबन्धनसँगै सौन्दर्यीकरणका लागि नदीको सतहदेखि माथि खुड्किलाहरू बनाइएका छन्। महानगरको गुरुयोजना अन्तर्गत पार्किङस्थल, बगैंचा, फूटबल मैदान, भलिबल र ब्याडमिन्टन कोर्ट लगायत संरचना बनाइँदै छ।
२०७६ वैशाखदेखि सन्ध्याकालीन आरती गरिंदै आएको नदी किनारमा आरती गर्ने विशेष ठाउँ निर्माण भइरहेको छ। करीब १५ बिघा क्षेत्रमा फैलिएको किनार क्षेत्रमा मेला, महोत्सव समेत आयोजना हुन्छन्। यस क्षेत्रमा नारायणी नदीमा जलयात्रा गरेर मनोरञ्जन लिन पनि सकिन्छ।
ज्ञानेश्वर ब्लक
ज्ञानेश्वर ब्लक भरतपुरको वडा नं. १६ मा पर्छ। सानो गढी भनेर समेत चिनिने यो ठाउँ पिकनिक स्पट, मिनि जू र क्रूज सफारीका लागि परिचित छ।
यहाँ १० वटा सामुदायिक वन छन्। मंगलपुरदेखि शुरू हुने ज्ञानेश्वर ब्लकका सबै सामुदायिक वन नारायणी नदीको किनारमा छन्। यहाँ दुर्लभ वन्यजन्तु गैंडा प्रशस्त पाइन्छन्।
चौकीडाँडा ब्लक
नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर र जुगेडीबाट पाँच किलोमिटर दूरीमा चौकीडाँडा छ। १२ सय मिटरको उचाइमा रहेको चौकीडाँडाबाट सूर्योदयसँगै प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। चितवनमा पहिलो पटक पाराग्लाइडिङको व्यावसायिक उडान चौकी डाँडामै भएको छ।
माथिका सात प्रमुख गन्तव्यसँगै भरतपुर महानगरपालिकाले भ्रमण वर्षका लागि अन्य गन्तव्य पनि अघि सारेको छ। जसमा कसरा ब्लक अन्तर्गत गोही प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र, विक्रमबाबा मन्दिर, आँपटारी ब्लक अन्तर्गत दियालो बंगला, जलदेवी सामुदायिक वन, जोरकुसुम पार्क, राइनो कुञ्ज ब्लकमा रहेका बाटुली पोखरी, छितामाई, सीतामाई क्षेत्र छन्।
यस्तै, गणेशधाम ब्लकको सामुदायिक वन, पार्क, मन्दिर, राइनो ताल ब्लकको धनगडा मन्दिर, ताल, सामुदायिक वन, सिमरी टाउन ब्लकको संग्रहालय, वन, ताल, घरबास, गाँजीपुर ब्लकको सामुदायिक वन, तालका साथै वन्यजन्तु उद्धार केन्द्र, बीपी शान्ति नगर वन, महाबौद्ध गुम्बा, रानीपोखरी पार्क, नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी लगायत गन्तव्य छन्।
यस्तै, प्रमुख सात ब्लकमा नसमेटिएका टाइगर ताल, राइनो ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, घैला ताल महानगरमा छन्। धार्मिक स्थलमा बागीश्वरी, हरिहर मन्दिर, मुकुन्देश्वर शिवालय, मनकामना मन्दिर, भोजबाबा, लक्ष्मीनारायण मन्दिर यहाँ रहेका छन्। भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, नारायणी र राप्ती नदी, थारू, बोटे, कुमाल, मगर समुदायको सांस्कृतिक विविधता यहाँका पर्यटकीय आकर्षण हुन्।
जीप सफारी, हात्ती सफारी, जंगल वाक, डुंगा शयर, र्याफ्टिङ, गाडाबाट गाउँ भ्रमण, मचान स्टे, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, बाघ, गैंडा, घडियाल लगायतको अवलोकन, रैथाने खाना, साइक्लिङ, कृषि फार्महरूको अवलोकन लगायत पर्यटकीय क्रियाकलापलाई महानगरले भ्रमण वर्षमा समेटेको छ। भ्रमण वर्षलाई लक्ष्यित गरी दियालो बंगला सर्वसाधारणका लागि खुलाउने प्रक्रिया समेत महानगरले अघि बढाएको छ।
भ्रमण वर्षमा पाँच लाख स्वदेशी र दुई लाख विदेशी पर्यटकलाई भरतपुर घुमाउने लक्ष्य महानगरले राखेको छ।