‘लेखनमा होस् वा राजनीतिमा, एक हदको आदर्श चाहिन्छ। लेखकले साहित्यइतरको लाभको पाटो अर्थात् पद वा पुरस्कारको कुरा सोच्ने हो भने साहित्य मर्छ।’
काठमाडौंमा जन्मिएका, पुर्ख्यौली थलो तराईको जनजीवन नजिकबाट छामेका र पछिल्लो समय अमेरिकामा बसेर डायस्पोरा जगत् नियालिरहेका राजव कविता र आख्यान लेख्छन्। काठमाडौंका विद्यालयमा पढ्दा मीनपचासको बिदा मनाउन बाराको कलैयास्थित पुर्ख्यौली गाउँ बन्जरिया जाने गरेका उनी अहिले पनि वर्षै जस्तो गाउँ पुग्छन्।
दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका उनले यसपालि नेपाल आएको छेको पारेर आफ्नो सातौं उपन्यास क्रूर पृष्ठमा जो थिए प्रकाशनमा ल्याएका छन्। यही उपन्यासमा आधारित भएर हिमालखबर को स्तम्भ किताबका कुरा का लागि राजवसँग महेश्वर आचार्य ले गरेको कुराकानीको सम्पादित अंशः
नयाँ उपन्यासबारे शुरूआती प्रतिक्रिया कस्तो पाउनुभएको छ?
पढेकामध्ये अधिकांशले नयाँ विषय भएको बताए। नेपाली साहित्यमा ठाउँ नपाएको विषय प्रमुखताका साथ आएको उनीहरूको प्रतिक्रिया छ।
२०२८ सालमा तराईमा भएको धार्मिक दंगामा आधारित भएर उपन्यास लेख्नुभयो। यो विषय त्यस वेलादेखि नै तपाईंको दिमागमा गढेको थियो?
एसएलसी दिन २०२८ माघमा कलैयाको बन्जरिया गएको थिएँ म। त्यसै वर्षको असोजतिर बाराकै भुसाहा गाउँमा जलाल मियाँ भन्ने व्यक्तिले गाई काटेर खाए, बेचे भन्ने हल्ला फैलिएछ। त्यसपछि हिन्दूहरूलाई उक्साउने काम भयो। बारा, पर्सा, रौतहटका गाउँमा धार्मिक दंगा मच्चाइयो। धेरै मुसलमान मारिए, आगजनी भयो। केही हिन्दू पनि पीडित भए। त्यस घटनामा २००-२५० मान्छे मारिए भनिन्छ। हाम्रो गाउँ बन्जरियाका बासिन्दा चाहिं संयमित भएकाले नराम्रो घटना हुन पाएन।
म गाउँ पुग्दा घटना सेलाइसके पनि भित्रभित्र त्रासको वातावरण थियो। गाउँलेहरू घुर तापेर बस्दा त्यही विषयमा कुरा हुन्थे। हिन्दू र मुसलमान एकै ठाउँमा बसेर गफ गर्दा अग्रजहरूले मुसलमान दाजुभाइलाई डराउनु पर्दैन भन्थे।
मैले २०३१ सालदेखि साहित्य लेखन थालेको हुँ। त्यस वेलादेखि नै यो विषयले मलाई लखेटिरहेको थियो। मलाई लाग्यो, यो त कथामा अटाउँदैन, उपन्यास नै लेख्नुपर्छ। यो विषय नलेखी म मर्दिनँ भन्ने सधैं लागिरहन्थ्यो। कसरी लेखूँ भन्ने द्विविधा थियो। सातौं उपन्यास लेख्ने वेला चाहिं अब यो लेखिनँ भने मबाट छुट्छ भन्ने लाग्यो र लेखें।
हल्लाकै भरमा धार्मिक दंगा भड्काइएको थियो?
जे भयो हल्लाकै आधारमा गराइयो। गाई काटेर खाएको भन्ने कुरा कतैबाट पुष्टि भएको थिएन। विविध धर्मावलम्बीहरू समाजमा मिलेर बसेको देशमा यो घटना हाम्रो इतिहासलाई नै कलंकित पार्ने घटना थियो। त्यसअघि त गाउँमा सामाजिक सद्भाव थियो। भजनमा ढोलक बजाउनेहरू मुसलमान हुन्थे। तर गाई काटेको विषयलाई राजनीतिक रङ दिंदै भड्काउने काम भयो। पञ्चायत पक्षधरले व्यवस्था विरोधीहरूबाट यस्तो भएको भन्दै धार्मिक दंगा गराउने परिस्थिति सिर्जना गरे। त्यही विषयलाई मैले उपन्यासमा उतारेको हुँ।
५० वर्षअघिको घटनाबारे लेख्दा त्यस सम्बन्धी सूचना र जानकारी कसरी जुटाउनुभयो?
मेरो लेख्ने खुराक स्मृति नै हो। त्यस वेला गोरखापत्र मा एउटा समाचार छापिएको थियो। त्यस बाहेक त्यो घटनाको खासै चर्चा भएन। किन त्यसो भयो, घटना किन ढाकछोप गर्न खोजियो भन्ने विषय मेरो उपन्यासको कथा बन्यो।
बन्जरियाका अरू कथा पनि लेख्न बाँकी छ कि?
पुर्ख्यौली गाउँ बन्जरिया नौ वर्षको उमेरमा पुगेको थिएँ म। त्यसपछिका हरेक वर्ष मीनपचासको बिदामा मंसीरदेखि फागुनसम्मको तीन महीना उतै हुन्थें। अहिले पनि अमेरिकाबाट आउँदा त्यहाँ पुगेकै हुन्छु।
मेरो पहिलो कथा ‘६ मन धान’ तराईकै कथा हो। तराईको भावभूमिमा अरू पनि धेरै कथा लेखेको छु। यद्यपि बन्जरियाकै चाहिं केही कथा लेख्न बाँकी नै छ। त्यस वेला अनेक काण्ड हुन्थे र मान्छेहरूलाई सताइन्थ्यो। त्यस्ता विषयले पनि मलाई लखेटिरहेको छ। कुनै दिन लेख्न सक्छु।
तपाईंका आख्यानमा २०३० को दशकको काठमाडौं र तराईको परिवेश आउँछन्। यस उपन्यासमा पनि तराई र काँठको पुरानो परिवेशको बहुलता छ। उपन्यासका मुख्य पात्र डल्ले बा काँठबाट भैंसी किन्न तराई गएका छन्। त्यो पात्र र कथानक कसरी सिर्जना भयो?
भैंसी किन्न तराई जाने पुरानै चलन हो। अहिले त पहाड र काँठ क्षेत्रका गाउँघरमा भैंसी नै पालिँदैन। सबैले गाई मात्र पाल्ने गर्दा भैंसी विस्थापित भइसक्यो।
उपन्यासमा वर्णन गरिए जस्तै हाम्रा बा, काकाहरू पनि भैंसी किन्न तराई तथा भारतसम्म जान्थे। पहिले त हरियाणासम्म पुगेर भैंसी ल्याउँथे। मालगाडी राख्ने रेलमा भैंसी ल्याएर रक्सौलमा उतारेर नेपाल ल्याइन्थ्यो।
हाम्रो समाज सद्भावयुक्त भए पनि बाहिरी तत्त्वको उक्साहट वा हस्तक्षेपले वेलावेला त्यो सद्भाव खलबल्याउने प्रयत्न हुन्छ। तपाईं भर्खरै कलैया पुगेर आउनुभयो, तराईमा सद्भावको वातावरण कस्तो छ अहिले?
धार्मिक सहिष्णुताको कसीबाट हेर्दा तराईको अवस्था अहिले पनि संवेदनशील छ। हाम्रो राजनीतिले सद्भाव र आपसी भ्रातृत्व नै सिकाएन। सिकाउन सकेको भए गत फागुनमा सरस्वती पूजामा मूर्ति विसर्जन गर्न रौतहट, बारा, पर्सामा कर्फ्यू किन लगाउनुपर्थ्यो? त्यस्तो अवस्था किन आयो? समाजमा सद्भाव विकास हुन नसक्दा हामीबीचको विभेद मेटिएन।
हामी लोकतन्त्रमा त छौं, तर सद्भावयुक्त लोकतन्त्र बनाउन सकेनौं। लोकतन्त्रमा हुनुपर्ने सद्भाव, सहिष्णुता पनि हासिल गर्न सकेनौं। नेताहरूले जोड्नेभन्दा विभाजन गर्ने काम गरे। तराईमा गएर एउटा कुरा गर्ने, पहाडमा अर्को र काठमाडौंमा आएर अर्कै कुरा गर्ने प्रवृत्ति भएपछि सद्भाव बिथोलिने नै भयो। हाम्रो समाजमा धार्मिक सहिष्णुता र सद्भाव थियो, तर आज त्यो बिलाएर एकअर्कासँग डराउनुपर्ने अवस्था आएको छ। यो सब राजनीतिले गरेको हो।
साहित्यमा यी कुरा र खासगरी तराईको पीडाका विषयले प्राथमिकता नपाएको हो?
समाजको वास्तविक पीडा त साहित्यमा आएकै छैन, न तराई न पहाड। मैले देखेभोगेको काँठको पीडा पनि लेखिएको छैन। काँठ अब गाउँ रहेन, न शहर नै भयो। त्यहाँ चराचुरुंगी बस्ने रूख छैन, शिरीष, उत्तिस, बकैनाका रूख मासिएका छन्। पहिला पहिला गाउँमा कोइलीको ‘काफल पाक्यो’ सुनिन्थ्यो, अहिले सुनिंदैन। पहिलेको गाउँ सम्झँदा र अहिले गाउँमा जाँदा रुन मन लाग्छ। हामीले खोजेको विकासको परिणाम हो यो। विकृत राजनीतिक सोचको उपज हो।
यहाँनेर एउटा प्रसंग जोड्छु। बन्जरियाको हाम्रो गाउँ जाने बाटोमा बंगरी खोला छ। त्यो खोलामा श्रीपुर बेलबाडीमा भएको चिनी कारखानाबाट निस्किने सारा लेदो मिसाइएको छ। राजनीतिक नेतृत्वले त्यसलाई रोक्न सक्छ कि सक्दैन?
त्यस्ता प्रवृत्तिलाई लेखनका माध्यमबाट हस्तक्षेप गर्नुपर्ने होइन र?
यी कुरा लेखिनुपर्छ भन्ने लाग्छ। यी विषयमा लेखकले ध्यान नदिए कसले दिन्छ? एउटा कलाकार वा लेखकले ध्यान दिने र उजागर गर्ने कुरा यिनै त हुन्।
छोटा कथाबाट अघि बढ्दै तपाईं २०६५ सालमा ‘एटलान्टिक स्ट्रीट’ बाट उपन्यासमा आउनुभयो। कथा र उपन्यासमा कुन सजिलो?
उपन्यास लेखन चुनौतीपूर्ण भए पनि कथाभन्दा सजिलो लाग्छ मलाई। उपन्यासमा छरिन पाइन्छ। विषयलाई विस्तारमा भन्न सकिन्छ। कथामा थोरैमा धेरै भन्नुपर्ने हुँदा गाह्रो हुन्छ। उपन्यास कोठा, चोटा, कौसी, बरन्डा सहितको घर हो भने कथा एउटा कोठा जस्तै हो। कोठामा धेरै ठाउँ नहुने र धेरै चिजबिज राख्न नपाइए जस्तै कथा लेख्न मलाई उपन्यासभन्दा चुनौतीपूर्ण लाग्छ। धैर्य छ भने उपन्यास लेखन नै सजिलो हो, तर कथामा थोरै लेखेर प्रभाव दिन मिहिनेत राम्रै लाग्ने मेरो अनुभव छ।
तपाईंको नामको कथा चाहिं के छ? राजव नाम कसरी रहन गयो?
मलाई आफ्नो नाम जनार्दन पुडासैनी मनै परेन। चल्तीको नाम जस्तो सामान्य लाग्ने। हामीले लेखन शुरू गर्दाको समयमा साहित्यकारहरूले उपनाम राख्ने चलन थियो। विरही, व्याकुल, प्यासी, विराग यस्तै उपनाम हुन्थे। म पनि कुनै आकर्षक नाम वा उपनाम राखौं भनेर सोचिरहँदा राजव नाम फुर्यो र यही नाममा लेख्न थालें।
शुरूमा जनार्दन पुडासैनीकै नाममा लेख्थें। २०३१ सालमा वासुदेव रिमाल ‘यात्री’ को सम्पादनमा प्रकाशित विदेह पत्रिकामा यही नाममा ‘एउटा बुढो’ शीर्षकको कविता छापिएको थियो। मेरो जीवनकै पहिलो प्रकाशित रचना थियो त्यो। २०३२ सालमा विदेह कै कथा विशेषांकमा ‘रोलर’ शीर्षकको कथा राजव पुडासैनीको नाममा छापियो। त्यसयता राजवकै नाममा लेख्न थालें।
त्यस वेला काठमाडौंमै हुनुहुन्थ्यो?
हो। मेरो जन्म यहींकै मरु टोलमा त भएको हो। मेरा बुबा काठमाडौंमा सरकारी अड्डामा जागीरे भएकाले हाम्रो बसोबास यतै भयो। म यहीं हुर्किएँ।
मरु टोलमा हुर्कंदै गर्दा साहित्यमा कसरी तानिनुभयो?
खासमा पढाइमा असफल भएपछि म साहित्यतिर ढल्केको हुँ। मेरो पढाइ कमजोर थियो। एसएलसीमा फेल भएँ। खेलकूदमा रुचि थिएन। एउटा परिचय त चाहियो, तर के गर्ने भन्ने थाहा थिएन। अनि कविता लेख्न थालें। पढाइमा असफलताको निराशाबाट पार पाउन कविता लेखनमा लागेको थिएँ। कविता लेख्ने, सुनाउने गर्दै जाँदा यसमा रस बस्दै गयो।
घरपरिवारले अवरोध गरेन?
घरपरिवारबाट त लुकाइलुकाइ छापें। लेख्छु भन्ने थाहै दिइनँ। बाले पनि धेरैपछि मात्र थाहा पाउनुभयो। उहाँले थाहा पाउँदा मैले लेख्न थालेको आठ-दश वर्ष भइसकेको थियो। त्यतिखेरसम्म म सानोतिनो लेखक भइसकेको थिएँ। म लेखक भएको थाहा पाएर उहाँ खुशी नै हुनुभयो।
लेख्ने-पढ्ने वृत्तमा फैलिंदै जाँदा वामपन्थीहरूसँग तपाईंको सरसंगत भयो। नेकपा (एमाले) निकट दृष्टि पत्रिकामा लेखहरू निरन्तर लेख्नुभयो। कम्युनिस्ट विचारधारामा कसरी डोरिनुभयो?
त्यस वेला हामी भीमसेनस्थानमा बस्थ्यौं। त्यहाँका अधिकांश अग्रज कम्युनिस्ट अभियानमा लागेका थिए। उनीहरू हामीलाई रेड बूक पढ्न दिन्थे। माओत्सेतुङको फोटो दिएर घरमा टाँस्न लगाउँथे। त्यो वातावरणले हामीलाई कम्युनिस्ट धारतिर लग्यो।
हाम्रो टोलमा कृष्णराज सर्वहारा नामका एक जना दाइ हुनुहुन्थ्यो। नाली सोहोर्ने कामदारहरूलाई देखाउँदै उहाँ बडो जोशिलो लवजमा ‘हामीले यिनीहरूको उद्धार गर्नुपर्छ’ भन्नुहुन्थ्यो। हामीलाई तन्नेरीवयमा उहाँको त्यस्तै कुराले प्रभाव पारेको थियो। २०२७/२८ सालतिर कलेज पढ्न थालेदेखि नै कम्युनिस्ट धारतिर झुकाव हुँदै गयो। कलेज पढ्दा भीम रावल, कमानसिंह लामाहरूसँग संगत भयो।
अर्कातिर, रसियन, अमेरिकी, भारतीय पुस्तकालय र ब्रिटिश काउन्सिलको पुस्तकालयमा गएर पढ्ने संस्कृतिमा घुलमिल हुँदै गइयो। त्यतिखेर अहिले जस्तो पुस्तक पसल थिएनन्। पुस्तक किनिहाल्न पनि पैसा हुँदैनथ्यो। बरु पुस्तकालय सर्वसुलभ थियो र त्यसैले पढ्ने वातावरण बनायो। अमेरिकी पुस्तकालय गएर अर्नेस्ट हेमिङ्वे, विलियम फकनर पढियो। त्यहीं स्वान रिभ्यू, पेरिस रिभ्यू, न्यू योर्कर, दी एट्लान्टिक जस्ता पत्रिका पढियो। साहित्यको कला पक्ष बुझ्न पुस्तकालयको योगदान रह्यो।
लेख्न थालेको त्यस वेला ‘यस्तो लेख्न पाए हुन्थ्यो’ भन्ने खालको गहिरो प्रभाव कसैको परेको सम्झना छ?
मुन्सी प्रेमचन्दको ‘कफन’ लगायत दुई-चार वटा कथाको प्रभाव परेको थियो। हेमिङ्वेका कथाहरूको पनि गहिरो प्रभाव परेकै हो। फकनर, ओ हेनरी, अन्तोन चेखवका कथाले प्रभाव पारे। चेखवका ‘भान्का’ र ‘वार्ड नम्बर ६’ ले पनि राम्रै गरी हल्लाएका थिए।
समकालीन लेखनको कुरा गरौं। हाम्रो लेखनको गति र यात्रा कस्तो देख्नुहुन्छ?
लेखकहरूको संख्या बढेको छ। लेखेको छापिने तथा लेखक पाठकसम्म पुग्ने सुविधा बढेको छ। तर स्तरीय लेखन अझ आएको छैन। लेख्ने लहड बढी छ, तर गम्भीरता कम। छाप्ने मञ्च उपलब्ध छ, छाप्न सजिलो छ। हत्तपत्त ‘एउटा किताब निकालौं न’ भन्ने सोच हावी देख्छु। ‘म लेखक हुन्छु’ भन्ने प्रतिबद्धताको कमी छ।
यद्यपि पछिल्लो समय गैरआख्यानका राम्रा पुस्तक प्रकाशन भइरहेका छन्। केही राम्रा उपन्यास पनि आएका छन्। १०० जनामा १० जनाले राम्रो लेखिरहेका छन्, त्यो सुखद पक्ष हो। हाम्रो पालामा उपन्यासमा मात्र केन्द्रित लेखक सीमित थिए। छाप्ने सुविधा भएपछि मात्र उपन्यासहरू लेखिन थालेका थिए। त्यो हिसाबले हेर्दा अहिले राम्रो वातावरण छ।
लेखन स्तरीय हुन कस्तो वातावरण चाहिन्छ?
वातावरण त लेखक आफैंले बनाउने हो। पहिला त लेखक लेखनमा प्रतिबद्ध हुनुपर्यो, अध्ययनमा डुब्नुपर्यो, समय दिनुपर्यो, काममा नियमितता हुनुपर्यो। पहिले राम्रो लेख्ने प्रयास गर्नुपर्यो, प्रकाशनको वातावरण त स्वतः बन्दै जान्छ।
पूर्ण रूपमा लेखनमा समर्पित हुनुपर्ने कुरा गर्नुभयो। तर हामीकहाँ लेखेर मात्र बाँच्न सकिने अवस्था त अझै छैन नि!
हो। म पनि जागीरबाट बचेको बिहान-बेलुकाको समयमा लेख्थें। लेखनका लागि समय चोर्नुपर्थ्यो। कोही आर्थिक रूपमा सबल छ भने त उसले सम्पूर्ण समय लेखनमा दिन सक्ला, नत्र त समय व्यवस्थापन गर्ने नै हो।
लेखनबाट हुने आम्दानीका सन्दर्भमा, विदेशका चर्चित लेखकले पनि किताब बेचेर पैसा कमाएको अनुभव सुनाउँदैनन्। उनीहरूले पनि किताबइतरका क्रियाकलापबाट पैसा कमाइरहेका छन्। अमेरिका जस्तो ठाउँमा पनि मैले उपन्यास लेखेरै बाँचें भन्ने लेखक कम छन्। विशुद्ध साहित्यमै लागेर बाँच्न गाह्रै छ। अन्य सहायक क्रियाकलाप चाहिन्छ।
अहिले त साहित्यकार पनि पार्टीको कार्यकर्ता हुँदा मात्र फस्टाउन सक्ने वातावरण छ भनिन्छ नि!
लेखनमा होस् वा राजनीतिमा, एक हदको आदर्श चाहिन्छ। लेखकले साहित्यइतरको लाभको पाटो अर्थात् पद वा पुरस्कारको कुरा सोच्ने हो भने साहित्य मर्छ। लेखकको मुख्य प्रतिबद्धता सिर्जनामा हुनुपर्छ। समाजमा के भइरहेको छ, मान्छेले के भोगिरहेका छन्, त्यो पर्गेल्ने र यथार्थ लेख्ने जिम्मेवारी लेखकको हो। त्यो जिम्मेवारी र आदर्श बिर्सेर लाभ वा लोभतिर लहसिए साहित्य राम्रो हुँदैन। त्यो विकृति हाम्रोमा छ।
अन्त्यतिर क्रूर पृष्ठमा जो थिए तिरै फर्कौं। उपन्यासमा भूमिगत राजनीतिका प्रसंग छन्। दुई पात्र त्रिपुरारि शर्मा र मकरन्द उपाध्याय पञ्चायती व्यवस्थाको निरंकुशताबीच आदर्श समाज बनाउने कुरा गर्छन्। उनीहरू जस्तै पात्रले कालान्तरमा देश चलाए, तर आदर्श र सिद्धान्तलाई कुल्चिए। त्यस हिसाबले हेर्दा तपाईंले अघि भन्नुभएको कम्युनिस्ट स्कूलिङको आदर्श चुकेको भन्न मिल्छ कि मिल्दैन?
बिल्कुलै मिल्छ। उपन्यासका मकरन्द र त्रिपुरारिसँग तुलना गर्ने हो भने त हाम्रा नेताहरू नौ तला माथिबाट बजारिएका छन्। अब राजनीतिमा आदर्श नै रहेन, आख्यानमा मात्रै रह्यो।
VIDEO
उपन्यासको एक सहायक पात्र अफजल एउटा जटिल परिस्थितिबाट उम्केर आएको छ। उसले एउटा राम्रो वातावरणमा हुर्कन पाउला भन्ने संकेत देखिन्छ। उपन्यास पढिसक्दा अब उसको जीवनले कस्तो मोड लेला भन्ने जिज्ञासाले चिमोट्छ। यहाँको विचार के छ?
अफजलको अवस्था के होला भन्ने प्रश्न छ उपन्यास। त्यसका बारेमा म सोचिरहेको छु, किनभने अफजलको परिचय गराउन जरूरी छ। अफजल कतै प्रकट हुन सक्छ, तर अर्को रूपमा।
उपन्यास पढेपछि पाठकको मनमा उब्जने प्रश्न हो, त्यो क्रूर घटना रच्ने चाहिं को थिए?
उपन्यासमा क्रूर पृष्ठका कर्ता को थिए, तिनका बारेमा भनिएको छैन। त्यस घटनाको घानमा जो परे, जसले पीडा भोगे, तिनका बारेमा लेखेको छु। ती कति पीडित थिए भन्ने पाटो प्राथमिकताका साथ उठाउने प्रयास गरेको हुँ।
(सम्पादन : जीवन कार्की , भाषा : प्रद्युम्न खनाल )
किताबका कुरा का थप सामग्री :
‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
“म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
‘प्रेम विनाको यौन अपराध हो’
‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
२५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
‘मुन्धुम मानव सभ्यताको इतिहास हो’