‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
‘मैले राणाकाललाई शास्त्रीय संगीतको सुनौलो युग भनेको छु। नेपालमा शास्त्रीय संगीत व्यवस्थित गर्ने तथा संगीतकर्मीलाई संरक्षण गर्ने जस्ता काम राणाकालमा जति अरू समयमा भएको पाइँदैन।’
त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागका प्रमुख प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी सितारवादक त हुन् नै, संगीत इतिहासकार पनि हुन्। केही महीनाअघि नेपाली संगीत दरबारः आदिकालदेखि आधुनिक कालसम्म पुस्तक मार्फत उनले आफूलाई संगीत इतिहासकारका रूपमा दर्ज गराएका छन्।
विद्यावारिधि शोधमा आधारित यही पुस्तकको सेरोफेरोमा रहेर नेपाली संगीत र यसको इतिहासबारे हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक रेग्मीसँग अनिता भेटवालले गरेको कुराकानी :
नेपाली संगीतबारे विद्यावारिधि अनुसन्धान गरेर पुस्तक नै प्रकाशन गर्नुभएको छ। नेपाली संगीतलाई केले अरूभन्दा पृथक् बनाएको छ?
हामीसँग भएको शास्त्रीय संगीत हो। अन्य विधाका संगीतमा पनि त्यसको प्रयोग गरिएको छ। तर भारतीय शास्त्रीय संगीत नाम भएकाले यसलाई हामीले हाम्रो संगीत मानेका छैनौं। भारतीय शास्त्रीय संगीत भनेको भारत उपमहाद्वीपभित्र बज्ने संगीत हो। ऐतिहासिक हिसाबले हेर्दा दोस्रो/तेस्रो शताब्दीको पुस्तक नाट्यशास्त्रमा नेपालको पनि नाम छ। उक्त पुस्तकलाई संगीतको पहिलो प्रामाणिक ग्रन्थ पनि मानिन्छ।
शास्त्रीय संगीतको प्रचलन भएका अन्य ठाउँहरूमा नेपालको नाम उल्लेख छ। यी सन्दर्भबाट नेपालमा परापूर्वकालदेखि नै शास्त्रीय संगीत प्रचलनमा थियो भन्ने बुझ्नुपर्छ। तर भारतले शास्त्रीय संगीतको विकासका लागि धेरै मेहनत गरेको तथा नाम पनि मिल्ने भएकाले यसलाई भारतको भनेर बुझेको पाइन्छ।
तर यो संगीत दक्षिणएशियाली क्षेत्रको सामूहिक सम्पत्ति हो। नेपालको खास संगीत पनि यही हो। यसका साथै नेपालको जातीय र जनजातीय लोकसंस्कृतिलाई बुझाउने संगीत नेपाली संगीतको विशेषता हो। शास्त्रीय संगीत र नेपाली जातीय लोकस्वादले नेपालको संगीतलाई पृथक् बनाएको छ। त्यही कारणले अरूको भन्दा नेपाली संगीत पृथक् भएको हो।
तपाईंले नेपालको सांगीतिक परम्परा लिच्छवि, मल्ल, शाह, राणा र शाह शासनको उत्थान र पतनसँग सम्बन्धित छ भनेर लेख्नुभएको छ। त्यो कसरी छ, व्याख्या गरिदिनुहोस् न।
यो कुरा हाम्रो देशमा संगीतको प्रचलन कसरी भयो भन्नेमा आधारित छ। संगीतको अभ्यास पुरातनकालदेखि नै भइआएको हो तर नेपालमा यो कुनै कालमा उच्च तहमा पुग्यो भने कुनैमा पतन भयो। किरातकालको संगीतबारे प्रामाणिक इतिहास पाइएको छैन।
लिच्छविकालका संगीतबारे पनि केही प्रसंग फेला परेका छन्। त्यति वेला नेपालमा अभ्यास गरिएको शास्त्रीय संगीतको सिद्धान्त अहिले पनि प्रचलनमा छ। सुशासन, राज्य व्यवस्थापनका लागि पनि संगीत एउटा माध्यम हो। नेपाली समाजमा कतिपय कामहरू संगीत विना समापन नै नहुने संस्कारहरू पनि छन्। तर कुनै कालमा संगीतको खासै उपयोग भएको पाइँदैन। त्यसैले संगीत परम्पराको उत्थान र पतन विभिन्न कालसँग सम्बन्धित छ भनेको हो।
![dhrubesh chandra regmi (5).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhrubesh chandra regmi/dhrubesh chandra regmi (5).jpg)
नेपालको इतिहासमा कुन कालखण्डमा संगीतको उत्थान र कुनमा पतन भएको पाइन्छ?
लिच्छविकालमा समग्र कलाकै विकास र उत्थान भएको देखिन्छ। मन्दिरमा वाद्ययन्त्रहरू चढाउने प्रचलन पनि त्यही कालमा भएको पाइन्छ। मल्लकालमा नाट्यसंगीत र परम्परागत नेपाली संगीतको धेरै विकास भयो। अहिले नेवारी संगीत पनि भनिने परम्परागत नेपाली संगीत र शास्त्रीय संगीतले त्यति वेला धेरै प्रश्रय पाए। त्यति वेलाका राजाहरूले नै नाटक खेल्ने, गीत रचना गर्ने, बाजा बजाउने गरेको पाइन्छ।
मैले राणाकाललाई शास्त्रीय संगीतको सुनौलो युग भनेको छु। नेपालमा शास्त्रीय संगीत व्यवस्थित गर्ने तथा संगीतकर्मीलाई संरक्षण गर्ने जस्ता काम राणाकालमा जति अरू समयमा भएको पाइँदैन। राणाकालअघि नेपालमा शास्त्रीय संगीतकर्मीहरू धेरै थिएनन्। त्यसैले राणाकालमा भारतबाट कलाकारहरू मगाइयो। भारतमा राजाहरूले आफ्नो दरबारमा कलाकार संरक्षण गरेर राख्ने चलन थियो। त्यसैको सिको राणाहरूले गरे।
राणाहरूले पनि आफ्नो शासनसत्ता स्थिर हुने निश्चित भएपछि कला-संगीतमा ध्यान दिएको पाइन्छ। आफ्नो शान बढाउन पनि उनीहरूले भारतबाट संगीतकर्मी मगाउँथे। अर्कातर्फ भारतमा अंग्रेज शासन बलियो बन्दै गएपछि राजा-रजौटाहरूको दरबारबाट संगीतकर्मीको जागीर खोसिन थाल्यो। उनीहरू नेपालका दरबारहरूमा आए। त्यति वेला भारतबाट मात्र नभई अफगानिस्तानका संगीतकर्मीहरू पनि आउँथे।
कहिलेकाहीं त धेरै संगीतकर्मी आएकाले प्रवेशाज्ञामा कडाइ गरेको पनि पाइन्छ। ती कलाकारलाई नेपाली दरबारले संरक्षण नगरेको भए भारतमा आजको जस्तो संगीत शायद हुँदैनथ्यो। यसैले पनि राणाकालमा शास्त्रीय संगीत जोगाउन नेपाली दरबारको ठूलो भूमिका थियो।
राणाहरूले शास्त्रीय संगीत जोगाउनकै लागि कलाकार संरक्षण गरेका थिए त?
उनीहरूले शोखका कारणले मनोरञ्जनका लागि गरेको हुन सक्छ। जेजस्तो कारणले गरेको भए पनि त्यसले कस्तो परिणाम दियो भन्ने हेर्नुपर्छ। राणाहरूले भारतीय कलाकारलाई संरक्षण दिएकैले नेपालमा शास्त्रीय संगीतको परम्परा शुरू भयो। मल्लकालमा यो परम्परा देखिंदैन।
शास्त्रीय संगीत भनेको व्याकरण जस्तै हो जसलाई उनीहरूले स्थान दिएकाले नै नेपालमा शास्त्रीय घरानाको स्थापना भयो। आजका शास्त्रीय संगीतज्ञको स्रोतहरू तिनै घराना हुन्।
![dhrubesh chandra regmi (9).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhrubesh chandra regmi/dhrubesh chandra regmi (9).jpg)
राणाकालमा संगीतकर्मीलाई राहदानी विना नै नेपाल प्रवेश गर्न दिइन्थ्यो भनेर लेख्नुभएको छ। संगीतकर्मीलाई सम्मान गरेकै कारणले हो त?
सामान्यतया त्यति वेला काठमाडौं प्रवेश गर्न राहदानी चाहिन्थ्यो। तर संगीतकर्मी, नाचगान गर्ने बाई, कवाल, छोकडा, गर्राहरूलाई भने छूट थियो। शिवरात्रिको समयमा त झनै सहज थियो। राजनीतिक आँखाबाट हेर्दा राणा युग शैक्षिक रूपमा अन्धकारमय थियो तर संगीत शिक्षा शुरू गर्ने उनीहरू नै हुन्। जंगबहादुर राणाले थापाथलीस्थित मनोहरा दरबारमा पहिलो पटक संगीत तालीमखाना खोलेका थिए। त्यसमा उनकै भाइभारदारको मात्रै पहुँच थियो होला तर नेपालमा पहिलो पटक संगीतको तालीम भयो।
त्यसपछि कतिपय नेपाली संगीतकर्मीलाई राणा परिवारले संगीतको तालीम लिन भारत पठाएको पनि पाइन्छ। अन्य पाटोमा इतिहासकारहरूले भने जस्तै राणाकाल अन्धकारको युग रहे पनि शास्त्रीय संगीतको संरक्षण र विकासमा त्यति वेला प्रशस्त काम भयो। त्यसैले शास्त्रीय संगीतको हकमा राणाकाल सुनौलो युग थियो।
राणा शासकहरूमध्ये सबैभन्दा संगीतप्रेमी को पाउनुभयो?
जंगबहादुर राणा नै देखिन्छन्। संगीतलाई शिखरमा पुर्याउन जंगबहादुरले जानेर नजानेर धेरै काम गरेका छन्। उनले सैनिकहरूमा पनि संगीतको शुरूआत गरेका थिए। उनीपछि घरानाको स्थापना गराएर संगीतको थप उन्नति गर्ने वीरशमशेर हुन् जसले संगीतको ‘बगेडी’ सम्मेलन गराएका थिए। उक्त सम्मेलन ‘भूतो न भविष्यति’ जस्तो थियो। त्यति मात्र होइन, संगीत सिद्धान्तमा पनि त्यति वेला काम भएको पाइन्छ।
भारतका संगीतज्ञहरूको ठाटको सिद्धान्तलाई नेपाली संगीतज्ञहरूले ठीक नभएको भन्दै नयाँ सिद्धान्त विकास गर्न थालेका थिए। ठाट सिद्धान्तले सबै राग समेट्न सकेन भनेर पछि अरू तरीकाले त्यसको वर्गीकरण गर्न थालियो। तर त्यसको प्रक्रिया शुरू नहुँदै तत्कालीन प्रधानमन्त्री रहेनन्। नेपाली संगीतज्ञहरूले बनाएको सिद्धान्तको पुस्तक थियो तर त्यो स्वार्थवश हराइयो भन्ने थाहा पाएको छु। यस हिसाबले हेर्दा संगीतमा लिखित रूपमा पनि नेपालीहरूको योगदान रहेको देखिन्छ।
तपाईंले जंगबहादुर राणालाई संगीतप्रेमी भन्नुभयो तर पृथ्वीनारायण शाहले त संगीत कार्यक्रम गर्नकै लागि जग्गा नै उपलब्ध गराएको पनि पाइन्छ। उनीप्रति तपाईंको धारणा के छ?
संगीतको आराधना गर्दा देवता खुशी हुन्छन् भन्ने मान्यता लिच्छविकालदेखि नै चलिआएको हो। शाहकालमा पनि त्यो मानेको पाइन्छ। पृथ्वीनारायण शाहले आफ्नो पिता नरभूपाल शाहलाई भनेर गोरखनाथ मन्दिरमा बाजा चढाउन लगाएका थिए। त्यसपछि त्यही मन्दिरको आयस्ताका लागि जग्गा छुट्याएका थिए। यो प्रचलन लिच्छविकालदेखि नै पाइन्छ।
शाहकालमा भने अझै बढी अभ्यास भएको पाइन्छ। गीत गाउने, बजाउने प्रचलन र संगीतकर्मी जोगाउनकै लागि गुठी जग्गा छुट्याइएको थियो। तर गुठी परम्परा मासिंदा हाम्रो सम्पदा नै खतरामा परेको छ। एकातिर भएका गुठी पनि मास्ने, अर्कातिर छुट्टै अनुदानको नीति पनि नबनाउँदा संगीतको संरक्षण हुन सकेन। त्यसैकारण यसमा आश्रित मानिस पलायन हुन बाध्य छन्।
कतिपय इतिहासकारले पृथ्वीनारायण शाहलाई संगीत विरोधी पनि भन्छन्। तर गोर्खा दरबारमा रहँदा उनका क्रियाकलाप, नुवाकोट माडीमा आएपछि युवराज प्रतापसिंह शाहसँग मिलेर गरेका सांगीतिक गतिविधि र काठमाडौं आएपछि उनले गरेका सांगीतिक कार्यक्रमहरूले उनी संगीत विरोधी रहेको देखाउँदैन। उनको ‘दिव्योपदेश’ मा एक ठाउँमा ‘राग र तानहरूमा मानिसहरू भुल्लान्, सैनिकहरू पनि त्यसमा भुले भने संगीतकर्मीहरू नेपालमा प्रवेश गरेर हाम्रो भेद खोल्न सक्छन्, हाम्रो देशलाई खतरा पनि हुन सक्ला’ भनेकै आधारमा उनलाई संगीत विरोधी भन्न मिल्दैन।
त्यसको आशय विदेशबाट संगीतकर्मीहरू बोलाउँदा सतर्क रहनुपर्छ, संगीतकर्मीको भेषमा अंग्रेजहरूले जासूस पठाउन सक्छन् भनेर ध्यान दिनुपर्छ भनेको मात्र हो। उनी संगीतका विरोधी थिए भने उपत्यका विजयपछि भक्तपुरमा बसेर करेन्सेन भन्ने तानसेन वंशजको गायकको सांगीतिक कायक्रम हेर्न किन जान्थे? उनका छोरा प्रतापसिंह शाह त नाचगान गर्थे। यी सबै तथ्यले पृथ्वीनारायण शाह संगीतप्रेमी र संरक्षक थिए भन्ने जनाउँछ।
![dhrubesh chandra regmi (6).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhrubesh chandra regmi/dhrubesh chandra regmi (6).jpg)
तपाईंले विगतमा शासक उठ्दा, सुत्दा पनि फरक फरक बाजा बजाउने गरेको उल्लेख गर्नुभएको छ। ती अभ्यासको संगीत संरक्षण र उत्थानसँग के सम्बन्ध छ?
हरेक विषयलाई हेर्ने दृष्टिकोण हुन्छ। विगतमा नेपालमा संगीतका तीन वटा प्रयोजन रहेको पाइन्छ। शासन सञ्चालनका लागि, धार्मिक एवं सामाजिक उत्सवका लागि र शिक्षाका लागि। मनुस्मृतिमा असल राजा संगीतको धुनसँगै उठ्ने र सुत्ने गर्नुपर्छ भनिएको छ। वेद, पुराण जस्ता शास्त्रहरूमा पनि संगीतलाई ऊर्जाको स्रोत र स्वास्थ्यका लागि लाभकारी रूपमा लिइएको छ। त्यसैले शासनसत्ता सञ्चालन गर्ने शासकले संगीत श्रवण गर्थे। नान्दिवाद, मंगल धुन, शुभ साइतका गीत, उठ्ने बित्तिकै शंख बजाउने, राति सुत्ने वेला बाजा बजाउने कामका लागि गुठी नै हुन्थे।
लिच्छविकालमा यस्ता विभिन्न गुठी थिए। जस्तै- बाधेत्र गुठी बाजा बजाउनेलाई तालीम दिने गुठी थियो। त्यसका लागि जग्गा छुट्याइएको हुन्थ्यो। मन्दिर, सेना र राजदरबारमा संगीतकर्मी नियुक्त गर्ने काम पनि त्यही गुठीले गर्थ्यो। राजदरबारमा राजा उठ्नु, सुत्नु, भ्रमणमा जानु अघिपछि बजाउने परम्पराले गुठी संस्कृतिलाई पनि जोगाएको हो।
संगीत श्रवणबारे पनि कुराकानी गरौं। विभिन्न काल अनुसार नेपालमा कस्तो संगीत सुनिन्थ्यो?
लिच्छविकालको संगीतबारे केही शिलालेखमा मात्रै उल्लेख गरिएको छ। ती सामग्रीका आधारमा अनुमान लगाउँदा मानदेवकी छोरी विजयावतीलाई संगीतको शिक्षा दिइएको पाइन्छ। रानीलाई ‘वीणादा मधुर स्वरवल’, अर्थात् रानीको स्वर वीणाको जस्तो मधुर थियो भनिएको छ। वीणाको स्वर अनुभव नगरेको मान्छेले त्यो लेख्न सक्दैन। वीणा सुनेको परिकल्पना गरेकैले लेखेको होला।
वर्षाकाल बाद्रित लगायत वर्षाकालमा बजाइने बाजा पनि कति शिलालेखमा भनिएको छ। शास्त्रीय संगीतमा अहिले पनि मौसम अनुसारको बाजा बजाउने चलन छ। त्यस वेला पनि यस्तै हुने अनुमान लगाउन सकिन्छ।
त्यस्तै, राष्ट्रिय अभिलेखालयमा मल्लकालका संगीतबारे २००-३०० वटा ऐतिहासिक सामग्री छन्। सिद्धिनरसिंह मल्ल, रणजित मल्लका गीत पाइन्छ भने गीत गोविन्द गाउने, कात्तिक नाचको परम्परा त्यति वेलाका प्रचलित सांगीतिक कर्म हुन्। त्यस वेला नृत्य, नाट्य र बाजाको धेरै राम्रो विकास पनि भयो।
अहिले परम्परागत संगीत र लोकसंगीत औपचारिकतामा मात्र सीमित छन्। यिनलाई स्थानीयहरूले आआफ्नो क्षेत्रमा अभ्यास गरेको पाइन्छ। लोकसंगीत यसरी नै स्वतस्फूर्त रूपमा विकसित भएर नै आउने हो। शाहकाल र राणाकालमा शास्त्रीय र परम्परागत संगीत नै धेरै अभ्यासमा रहेको पाइन्छ।
सामाजिक-राजनीतिक परिर्वतनले नेपाली संगीतलाई कस्तो प्रभाव पारेका छन्?
लिच्छविकालमा कति प्रभाव भयो भन्ने पाइँदैन। इतिहासमा विजेता राजाहरूले हारेको राज्यका संस्कृति, परम्परा मासिदिन्छन् भनिन्छ। तर पृथ्वीनारायण शाहको परिप्रेक्ष्यमा त्यस्तो देखिंदैन। उपत्यका विजय गरेपछि उनले काठमाडौंलाई नै राजधानी बनाए तर गोर्खाको विरासत ल्याएनन्। काठमाडौं उपत्यकामा मल्लकालदेखि चलिआएका सबै नृत्य र बाजालाई स्थान दिए।
मल्लकालको सांस्कृतिक विरासतलाई शाहले सम्हालेको नै पाइन्छ। राणाकाल समाप्तिपछि पुनः शाहकाल आएसँगै रेडियो, टेलिभिजन जस्ता सञ्चारमाध्यम र संगीत संस्थाहरू खुले। राणाकालमा अनौपचारिक रूपमा भएका अभ्यासलाई संस्थागत गर्ने काम भयो। बरु अहिले संगीतको त्यति संरक्षण भएको पाइँदैन। खासगरी २०५० को दशकपछि गुठीहरू मासिए।
संगीतको व्यावसायिक अभ्यासको इतिहास कस्तो छ?
लिच्छविकालमा संगीतको काम गर्नेहरूलाई तलब दिइएको शिलालेखमा नै पाइन्छ। त्यसलाई पनि हामीले व्यावसायिकता नै मान्नुपर्छ। उनीहरूलाई मन्दिरमा संगीतको काम गरे बापत बिर्ता, खान्की दिइन्थ्यो। त्यो पनि व्यावसायिकताको शुरूआत नै हो। राणाकालसम्म पनि संगीतकर्मीलाई दरबारिया भनेर जागीर दिइन्थ्यो जसका यथेष्ट प्रमाण छन्।
२००७ सालपछि संगीतको व्यावसायिकता प्रचुर भयो। रेडियो नेपाल, नेपाल टेलिभिजन, नाचघर, प्रज्ञा-प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय जस्ता संस्थाहरूको स्थापनासँगै संगीतको आधुनिक युगमा नेपाल प्रवेश गर्यो।
![dhrubesh chandra regmi (2).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dhrubesh chandra regmi/dhrubesh chandra regmi (2).jpg)
संगीत भनेपछि बाजा, सुर र तालको सम्मिश्रण बुझिन्छ। मौलिक नेपाली बाजा भनेर गर्व गर्न सकिने बाजा छन् त?
यसमा मेरो विमति छ। कतिपय बाजा नेपालमा मात्र पाइने मौलिक भनेर दाबी गरेको पाइन्छ। जस्तै- सारंगी गन्धर्वहरूले प्रयोग गर्ने बाजा हो। तर यो बाजा अन्य देशमा पनि पाइन्छ। त्यसलाई हाम्रो मौलिक बाजा भनेर कसरी भन्ने? बरु हामीले हिमाञ्चलमा र नेपालमा बजाइने सारंगीमा यस्तो यस्तो फरक छ भने त्यसका आधारमा मौलिक भन्न सक्नुपर्छ। सारंगी बाजा आफैंमा मौलिक नभए पनि नेपाली गन्धर्वहरूले बजाउने शैली चाहिं विशिष्ट छ।
त्यस्तै, मुर्चुंगा पनि हाम्रो मौलिक भन्छौं। तर दक्षिण भारतीय शास्त्रीय संगीतदेखि रोमानिया र डेनमार्कमा गोठालाहरूले भेडा चराउँदा पनि मुर्चुंगाको प्रयोग गरेको पाइन्छ। हामी मुर्चुंगाको प्रयोग नेपालमा कसरी फरक शैलीमा भइरहेछ भन्न चाहिं सक्छौं।
जात्रा, पर्व, संगीतबारे कुरा गर्नासाथ काठमाडौं उपत्यकाकै बढी चर्चा हुन्छ। नेपाली संगीत भनेको उपत्यकाको मात्र संगीत हो र?
नेपालमा अनगिन्ती कला, संगीत र प्रचलनहरू छन् जसमा निकै कम अध्ययन भएको छ। खास गरेर संगीतबारे चर्चा गर्दा उपत्यका नै हावी हुन्छ तर यो मात्र नेपालको संगीत होइन। पश्चिमको देउडा, पूर्वको धान नाच, चण्डी नाच लगायत धेरै संगीत छन्। ती सबैलाई नेपाली संगीत भनेर बुझ्नुपर्छ।
खासगरी सात सालपछि नेपालमा आधुनिक संगीतको नाममा सुगम संगीत प्रवेश गर्यो र लोकप्रिय पनि भयो। सुगम संगीतको आफ्नै विशेषताले यो लोकप्रिय भएको हो वा अरू कारक तत्त्वको पनि भूमिका छ?
सबैले सजिलोसँग बुझ्ने भएकाले सुगम संगीत भनिएको हो। संगीतलाई मूलतः लोक र शास्त्रीय गरी दुई प्रकारमा वर्गीकरण गरिन्छ। अरू संगीतहरू यी दुईबाट बनेका हुन्। सुगम संगीतमा पनि शास्त्रीय संगीतको छाप छ। साथै, समाजको भाव र लोकगीतको प्रभाव पनि छ।
त्यसैले यो संगीत केही आफ्नै कारण र केही शास्त्रीय र लोकसंगीतको सम्मिश्रणका कारण सुगम बन्न पुगेको हो। छोटो-मीठो विधा भएकाले यो लोकप्रिय छ। जुन प्रकारको भए पनि संगीत मन पराइनुपर्छ। मानिसले मन पराएनन् भने जुनसुकै विधाको भए पनि त्यसलाई संगीत मान्न सकिंदैन।
आफ्नो अनुसन्धानबाट नेपाली संगीतबारे मूल सन्देश के दिएँ भन्ने लाग्छ?
‘शास्त्रीय संगीत हाम्रो होइन’ भन्ने भ्रम चिर्ने प्रयास गरें। शास्त्रीय संगीत भनेको शास्त्रमा उद्धृत संगीत मात्र हो। यो संगीत ५०-१०० वर्षअघि मात्रै ल्याइएको होइन। आदिकालदेखि नै हाम्रो समाजमा यो संगीत थियो। हामीले त्यसलाई कहिले अगाडि बढाउन सक्यौं, कहिले सकेनौं।
नाट्यशास्त्रमा पनि नेपालको उल्लेख भएकाले प्राचीन कालदेखि नै नेपालमा संगीतको अभ्यास थियो भन्ने थाहा हुन्छ। यस्तो विषयलाई भौगोलिक रूपमा हेर्ने हो भने त महादेव चिनियाँ देवता हुनुपर्ने किनभने उनको वासस्थान भनिएको कैलाश पर्वत र मानसरोवर त अहिले चीनमा पर्छन्।
बरु शास्त्रीय संगीतलाई भारतीय शास्त्रीय संगीत भन्नुको साटो ‘साउथएशियन म्युजिक’ (दक्षिणएशियाली संगीत) भन्नु उपयुक्त हुन्छ। किनभने यो संगीत नेपाल लगायत सबै दक्षिणएशियाली मुलुकको सामूहिक सम्पत्ति हो।
भौगोलिक सीमाका आधारमा हामीले मान्दै आएको संस्कारलाई संकुचित बनाउनु उचित होइन। लोक र शास्त्रीय संगीत दुवै हाम्रा सांस्कृतिक धरोहर हुन्। यी दुवैको संरक्षण हुनुपर्छ। तर राज्यले यी दुवै संगीतको संरक्षण गरेको छैन।
संगीतको उचित संरक्षण कसरी हुन्छ त?
गर्न सकिने धेरै काम छन्। यो काम गुठी संरक्षणबाट थाल्दा हुन्छ। गुठीले संगीतको संरक्षण नै गर्ने हो तर यहाँ त इन्द्रजात्रा, कात्तिक नाचको बजेट समेत काटिएको छ। लामो समयदेखि चल्दै आएका अन्य जात्रा पनि खर्च अभावमा छोट्याइएका छन् भने कति बन्द भएका छन्। तिनलाई संरक्षण गरे परम्परा पनि जोगिन्छ। त्यस्तै, स्थानीय तहले चाहे भने पाठ्यक्रममा लोक र शास्त्रीय संगीत राख्न सक्छन्। मासिएका गुठीहरूको पुनरुत्थान गर्न सक्छन्।
संगीत शिक्षा निकै कमजोर छ। २०१५ सालमा त्रिभुवन विश्वविद्यालयमा संगीत कक्षाको स्थापना भएको थियो। अहिले ६ दशक बढी भइसक्दा पनि तीन वटा कलेजमा मात्रै संगीत कक्षा सीमित छ। नीतिनिर्माण गर्ने स्थानमा संगीत नै नबुझेका मानिस बसेका छन्। म त्रिविको ललितकला विभागको विशेष समिति अध्यक्ष छु तर ललितकला नै नबुझेका मानिसहरूले यसको निर्णय लिइदिन्छन्।
संगीत मूर्तिकला लगायतको विशेषज्ञ हामी भए पनि सल्लाह सुन्दैनन्। विषय विशेषज्ञको नीतिनिर्माण तहमा पहुँच नै छैन। त्रिभुवन विश्वविद्यालयदेखि जुनसुकै सरकारी निकायमा पनि हालत उस्तै छ। राज्यले यो क्षेत्रलाई हेपेको छ। शिक्षाका रूपमा संगीतको विकास नहुँदासम्म यसको उत्थान हुँदैन।
(सम्पादन : लक्ष्मण श्रेष्ठ, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :