‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
![‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’](https://www.himalkhabar.com/uploads/posts/800X600/dadi-sapkota-main-1706271910.jpg)
‘फ्रान्सेलीले राजा वीरेन्द्रलाई धेरै सोझो मान्दा रहेछन्। बेलायत र फ्रान्स जस्ता देशमा अध्ययन गरेको व्यक्तिले किन वरिपरिका मानिसका कुरा मात्र सुनेको होला, देश विकास गर्न किन नसकेको होला भन्ने लाग्दो रहेछ।’
लेखक ददि सापकोटा वातावरण, वन्यजन्तु र प्रकृतिबारे विशेष चासो राख्छन्। यिनै विषयका र अन्य समेत गरी उनले हालसम्म चार वटा पुस्तक लेखिसके। नेपालमा काम गरेका फ्रान्सेलीहरूको अनुभव समेटेर त्यो नेपाल पुस्तक ल्याएका सापकोटाले केही अघि वनको वैभव प्रकाशन गरेका थिए।
अब पाँचौं पुस्तकको तयारीमा छन्। जनावरको संसार, तिनका आनीबानी, पुस्तक तयार पार्दाको पृष्ठभूमि आदिबारे हिमालखबरकाे प्रस्तुति किताबका कुरामा लेखक सापकोटासँग सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :
वन तथा वातावरणबारे एकपछि अर्को पुस्तक लेखिरहन यहाँलाई केले घचघच्यायो?
म पहिले सौरहामा पर्यटक पथप्रदर्शकका रूपमा काम गर्थें। त्यस क्रममा धेरै किसिमका वन्यजन्तु नजिकबाट देख्थें। तिनका बारेमा जान्न-बुझ्न मन लाग्थ्यो। तर नेपाली भाषामा लेखिएका पुस्तक खासै पाइँदैनथे। तब अंग्रेजी भाषामा लेखिएका विभिन्न शोधपत्र पढ्न थालें। ती कुरा नेपालीमा पुस्तकका रूपमा आउनुपर्छ भन्ने लाग्यो। अनि आफैं लेख्न कस्सिएँ।
जनावरको संसारबारे लेख्न के-कस्तो अध्ययन र साधना चाहिने रहेछ?
जीवजन्तुको आनीबानी र व्यवहार बुझ्न कठिन नै हुन्छ। किनकि उनीहरू हामीले चाहेको ठाउँमा हिंड्दैनन्। न त हाम्रो भाषा बुझ्छन्। यस्तोमा तिनलाई बुझ्न तीप्रति चाख हुनुपर्छ। मैले जन्तु-जगत्बारे औपचारिक कक्षा त पढिनँ। पुस्तक चाहिं पढें। यसबाट प्रमाणपत्र नपाए पनि ज्ञान त पाइन्छ। कतिपय ज्ञान अवलोकनबाट पनि मिल्छ। खासमा किताबबाट भन्दा बढी ज्ञान प्रकृतिमा डुल्दा भेटिंदो रहेछ। मैले धेरै ठाउँ डुलेर वन्यजन्तुलाई अवलोकन गरेको छु। २०४२ सालदेखि घुमेको ठाउँमा देखेका र सिकेका कुरा डायरीमा टिपोट गर्दै आएको छु। अवलोकन सहित शोधपत्र र पुस्तकहरू पढेर पाएको निचोड लेखनमा उतार्ने गर्छु।
![dadi sapkota (3).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dadi sapkota/dadi sapkota (3).jpg)
वन तथा वातावरणमा गहिरो लगाव भए पनि यस विषयमा तपाईंको औपचारिक अध्ययन होइन। यस्तोमा पुस्तकले आधिकारिकता नपाउला कि भन्ने लागेन?
हामी विज्ञान यस्तो-त्यस्तो भनेर स्याल हुइयाँमा रहन हुन्न। लेखकले विज्ञानका अप्ठ्यारा विषयलाई सर्वसाधारणको पहुँचमा पुर्याउन सरल भाषामा उतारिदिनुपर्छ। वन्यजन्तुका हकमा मैले गरेको पनि त्यही हो। आफूले देखे/बुझेको र अरूले लेखेका कुरालाई सरल भाषामा प्रस्तुत गरिदिएको हुँ। अहिलेसम्मका अनुसन्धान सत्य छन् भने मैले लेखेका कुरा पनि सत्य छन्। कसैले यहाँनिर गलत रहेछ भनी चुनौती दिए म धन्य हुनेछु।
वनको वैभव पढ्दा यौनका विषयमा तपाईंको अलिक बढी चासो देखिन्छ। वन्यजन्तुबारे लेख्दा पनि यौनलाई केन्द्रमा राख्नुको कारण के हो?
यौन सबै वस्तुमा छ। ब्रह्माण्डमा नै यौन छ। त्यसैले जनावरका बारेमा लेख्दा तिनको यौनजीवन नजरअन्दाज गर्न मिल्दैन। अहिले जनावरको यौनबारे कमै लेखिएको छ। ती कुरा बाहिर ल्याउनुपर्छ भनेर मैले लेखेको हुँ। जसरी मानिसको संसारमा प्रेम, यौन र अपराध हुन्छ, जनावरको संसारमा पनि हुन्छ।
तपाईंले विभिन्न मितिमा नेपालमा बसेर काम गरेका फ्रान्सेलीहरूको अनुभव समेटेर त्यो नेपाल पुस्तक पनि लेख्नुभयो। त्यो पुस्तक तयार पार्नु पछाडिको मेहनत कस्तो थियो?
सन् २००२ मा फ्रान्स पुगेको म त्यहाँ नेपालीहरूले आयोजना गर्ने कार्यक्रमहरूमा गइरहन्थें। त्यस क्रममा नेपालमा बसेर काम गरेका फ्रान्सेलीहरूबारे सुनिन्थ्यो। तब मलाई तिनको अनुभव पुस्तकमा उतार्नुपर्छ भन्ने लाग्यो। त्यसपछि म नेपालसँग नाता जोडिएका फ्रान्सेलीहरू खोज्न थालें। वर्ल्ड माउन्टेनीयरिङ एशोसिएशन पुगेर केहीको नाम र ठेगाना लिएँ। तर कति मानिसले त्यहाँ टिपाएको ठेगाना छाडिसकेका हुन्थे। कतिपयलाई चिठी पठाएर आफूले भेट्न खोज्नुको उद्देश्य बताएको थिएँ।
यसरी भेटिएकाहरू मार्फत अरू मानिससँग पनि जोडिएँ। कतिले त नेपाली पत्रकारले यस्तो काम गर्न सक्दैन भन्दै बेवास्ता गरे। कतिलाई घरै पुगेर भेटें त कतिलाई रेस्टुराँमा। यात्रामा निस्किएकाहरूसँग विमानस्थल पुगेर पनि अन्तर्वार्ता गरें। यो काममा खर्च र दुःख निकै भयो। तर मजा पनि उत्तिकै लिएँ।
![dadi sapkota (6).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dadi sapkota/dadi sapkota (6).jpg)
पुस्तकमा समेटिएका केही फ्रान्सेलीले नेपालका तत्कालीन राजा वीरेन्द्र, पर्वतारोही पासाङल्हामु आदिका बारेमा गरेका टिप्पणी अनपेक्षित खालका छन्। यस्ता कुरा समेट्दा आफैं पनि विवादमा परिएला भन्ने लागेन?
म उपन्यास नभएर ती मानिसको अनुभव उतार्दै थिएँ, जो नेपालमा र फ्रान्समै पनि सार्वजनिक जिम्मेवारीमा रहिसकेका थिए। उनीहरूको अनुभव बंग्याउन हुन्न भन्ने लाग्यो। यसबाट हामीले विशेष सम्मान गरेका मानिसलाई बाहिरी जगत्ले कसरी हेर्छ भन्ने पनि झल्कन्थ्यो। त्यसैले उनीहरूले भनेका कुरा जस्ताको तस्तै राखें।
पुस्तकमा राजा वीरेन्द्रलाई उनका शिक्षक मार्क गाबारियोले ‘लम्फु’ भनेको प्रसंग छ। खासमा फ्रान्सेलीहरूले वीरेन्द्रलाई धेरै सोझो मान्दा रहेछन्। बेलायत र फ्रान्स जस्ता देशमा अध्ययन गरेको व्यक्तिले किन वरिपरिका मानिसका कुरा मात्र सुनेको होला, देश विकास गर्न किन नसकेको होला भन्ने तिनलाई लाग्दो रहेछ।
पुस्तकमा विमान चालक डिडिए देलसालले सगरमाथामा हेलिकोप्टर अड्याएको प्रसंग पनि छ। नेपाल सरकारले त त्यो कुरा अस्वीकार गरिसकेको थियो, होइन र?
ती मानिस रेकर्ड बनाउन रुचाउने रहेछन्। पहिले पनि यस्तो काम गर्दै आएका रहेछन्। त्यति वेला नेपाल आउनुको कारण चाहिं उच्च हिमाली भेगमा हेलिकोप्टर मार्फत उद्धारको परीक्षण गर्ने थियो। अग्ला हिमाल रहेको नेपालमा परीक्षण गरिए संसारका जुनसुकै हिमालमा गएर उद्धार गर्न सकिने उनको बुझाइ रहेछ।
त्यसमाथि सगरमाथाको चुचुरोमै हेलिकोप्टर अड्याउनु भनेको त विश्व कीर्तिमान नै हुने भइहाल्यो। यो कुरा उनैले भनेका छन्। नेपालका अधिकारीले सगरमाथामा हेलिकोप्टर अड्याएको कुरा खण्डन गरे पनि अन्तर्राष्ट्रिय संघसंस्थाले भने प्रमाणित गरेका छन्।
![dadi sapkota (7).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/dadi sapkota/dadi sapkota (7).jpg)
फ्रान्सेलीहरूले नेपालबारे उनीहरूकै भाषामा चाहिं कत्तिको लेखेका छन्?
कति छन् कति। नेपालबारे उनीहरूले लेखेका किताब मसँग मात्र २०/२२ वटा छन्। मेरो विचारमा उनीहरूले २००/३०० किताब लेखेका होलान्। केहीले नेपाली भाषामा अनुवाद गर्न मलाई अनुरोध पनि गरेका छन्। जस्तै- राजा महेन्द्रको आग्रहमा जर्ज लब्रेकले नेपाली पर्यटनको पहिलो खाका कोरेका रहेछन्। मैले उनीसँग भेट्न त पाइनँ तर उनको घरमा नेपालबारे लेखिएका ३५ वटा डायरी देखेको थिएँ। उनकी पत्नीले ती छपाउने इच्छा देखाएकी थिइन्। तर दुर्भाग्यवश उनको पनि निधन भइहाल्यो।
जर्ज नेपाल आउनुको प्रसंग रोचक छ। राजा महेन्द्र फ्रान्स जाँदा फेन्सिकन सारीको व्यापार गर्ने एरिग्वाँसँग दोस्ती भएछ। अनि तिनै मार्फत राष्ट्रपति चार्ल्स द गोलसँग भेट भएछ। भेटमा महेन्द्रले देश विकास गर्न के गर्नुपर्छ भनेर सोधेछन्। चार्ल्सले पर्यटनको विकास गर्न सुझाएछन्। तब महेन्द्रले यसबारे अध्ययन गर्ने या खाका बनाइदिने मानिस नेपालमा नरहेको कुरा राष्ट्रपति समक्ष राखेछन्। तब राष्ट्रपतिले पेरिस पर्यटन विभागमा कार्यरत जर्जलाई नेपाल पठाएका रहेछन्।
राजा महेन्द्रका निजी पाइलट पनि फ्रान्सेली थिए। चितवनको दियालो बंगलामा महेन्द्रको मृत्यु भएपछि उनैले काठमाडौं लिएर आएका रहेछन्। त्यो कुरा थाहा पाएपछि मैले ती पाइलटसँग भेट्ने कोशिश गरें। तर उनले पटक पटक टारे। १४ वर्षपछि बल्ल भेट भयो र अन्तर्वार्ता गरें। भविष्यमा अर्को किताब लेख्दा त्यो कुराकानी राख्छु। उनले नेपाली आकाशमा २५ हजार घण्टा प्लेन उडाएका रहेछन्। त्यस क्रममा थुप्रै तस्वीर पनि खिचेका छन्। ती निकै सुन्दर छन्।
मूल कर्म लेखन नभए पनि पुस्तक लेखिरहन केले प्रेरित गर्छ? आफ्नो लेखनको समीक्षा कत्तिको गर्नुहुन्छ?
लेखनमा रुचि हुनेले अरू जे काम गरे पनि लेख्न छाड्दैन। लेख्न नपाउँदा मलाई उकुसमुकुस हुन्छ। नलेखी बस्नै सक्दिनँ। अबको केही महीनामा अर्को किताब आउँदै छ। लेखन मनले खाएको काम भएकाले सन्तुष्ट छु।
(सम्पादन : प्रदीप खतिवडा, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री :