“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
![“पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”](https://www.himalkhabar.com/uploads/posts/800X600/min-bahadur-bist-main-1700823091.jpg)
“लाहुरबाट फर्केका र लाहुर हिंडेका युवाहरू मजाक मजाकमा ‘साला पहाडमें क्या है’ भन्थे। त्यो मलाई मजाक मात्र लागेन, त्यस भनाइभित्र आफ्नो गाउँघर र देश छोड्नुपरेको पीडा लुकेको बोध हुन्थ्यो। अझ गहिरिएर सोच्दै जाँदा लाहुरेहरूको त्यो भनाइ आफ्नो गाउँ र देशप्रति अपनत्वको अभावको प्रकटीकरण हो भन्ने लाग्यो।”
२०३० को दशकदेखि सक्रिय शक्तिशाली कवि हुन्, मीनबहादुर विष्ट। आलोचनात्मक चेतका कवि विष्टका कवितामा देशको चिन्ता र सामाजिक विसंगतिप्रति प्रहार पाइन्छ। बीचमा केही दशक कविता लेखनबाट टाढिएका उनी हालै कवितासंग्रह साला पहाडमें क्या है लिएर आएका छन्।
२०११ सालमा प्यूठानमा जन्मिएका उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका छन्। विष्टसँग कविता लेखन, बीचको सिर्जनात्मक शिथिलता, समकालीन साहित्य लगायत विषयमा हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा सागर बुढाथोकीले गरेको कुराकानी:
पहिलो कविता कहिले लेख्नुभएको थियो? पहिलो कविता लेख्दा र छाप्दाको अनुभूति सुनौं न।
मेरो प्रारम्भिक लेखन विद्यालय तहदेखि नै भयो। साहित्यप्रति रुचि राख्ने केही शिक्षकको प्रेरणा र अरूको देखासिकीमा मभित्र पनि लेख्ने रहर जागेको हुनुपर्छ। २०३०/३१ सालतिर पोखराको शिक्षाशास्त्र क्याम्पसमा पढ्दा साहित्यिक कार्यक्रमहरू हुन्थे, जसले गर्दा साहित्यप्रति रुचि बढ्दै गयो। पोखरा आफैं पनि प्राकृतिक रूपले रमणीय र साहित्यिक-सांगीतिक वातावरण भएको शहर भएकाले त्यसले पनि ऊर्जा दियो।
पोखरा क्याम्पसमा पढ्दा मैले केही कविता लेखें र सुनाएँ। पञ्चायती शासनको वेला भएकाले सतर्कता अपनाउनुपर्थ्यो। निर्धक्क भएर लेख्ने, सुनाउने वातावरण थिएन। क्याम्पसले आयोजना गर्ने कार्यक्रम बाहेक होस्टेलमा केही निकट साथीहरूसँग कविता सुन्ने-सुनाउने गरिन्थ्यो। कविता सुनेपछि एकजना साथीले ‘यो कविता २००७ सालभन्दा अगाडि लेखिनुपर्ने खालको लेख्नुभयो, यसले दु:ख देला है’ भनेको अझै पनि याद छ।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा प्रवेश गरेपछि भने अलि राम्रो साहित्यिक माहोल पाएँ। त्रिवि छात्रावासमा बस्ने केही साथी मिलेर साहित्यिक कार्यक्रम गर्थ्यौं। देशका ख्यातिप्राप्त कविलाई बोलाएर कविता सुन्ने र सुनाउने गर्थ्यौं। विश्वविद्यालयमा भएका कविता प्रतियोगिताहरूमा मैले पुरस्कार पाएको थिएँ। कविता सुनाउँदा साथीहरूले ताली बजाउँथे, त्यसले प्रोत्साहन मिल्थ्यो।
प्रकाशनका हिसाबले वेदना पत्रिकामा मेरो पहिलो कविता ‘शहर मेरो शहर’ छापिएको थियो। त्यो छापिंदा एक किसिमको आनन्द आयो। तर खास आनन्द चाहिं रूप-रेखा, मधुपर्क र गोरखापत्रको शनिवासरीयमा कविता छापिन थालेपछि आयो। यी पत्रिकामा कविता छापिंदा म लेख्न सक्छु भन्ने महसूस भएको थियो। यो २०३६/३७ सालतिरको कुरो हो।
![min bahadur bist (8).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/min bahadur bist/min bahadur bist (8).jpg)
तपाईंलाई कहिलेदेखि कविता लेखेर मानिसले मलाई चिन्न थाले भन्ने लागेको थियो?
२०३६ सालपछि जब ‘साला पहाडमें क्या है’, ‘गाउँको पाठशाला’, ‘जर्साबको कुकुर’, ‘म पुन: गिरफ्तार भएको छु’ लगायत कविता छापिए। त्यसपछि पाठक, समीक्षक, सम्पादक/प्रकाशकबाट सकारात्मक प्रतिक्रिया पाउन थालें।
बिस्तारै मेरो कविताको चर्चा हुन थालेपश्चात् म कविता लेख्न सक्छु भन्ने आत्मविश्वास जाग्यो। दुई-चार कविता छापिंदैमा आममानिसले चिन्ने कुरा त भएन। तर त्यस वेला सक्रिय रूपमा कविता लेखनमा लाग्ने साथीहरूसँग र साहित्यमा रुचि राख्ने अरू केहीसँग सम्पर्क हुन पुग्यो। कविता लेख्नु मेरो लागि ‘साइड डिश’ जस्तै थियो। किनभने आत्मसन्तुष्टिका लागि कविता लेख्थें म। यसलाई जीविकोपार्जनको पेशा बनाउने इच्छा थिएन।
त्यस वेला त्यस्तो वातावरण पनि थिएन। शिक्षाशास्त्रको विद्यार्थी भएकाले मेरो करिअर यसमै हुनुपर्छ भन्ने बलियो विश्वास थियो। त्यसैले पनि पछि गएर मैले कवितालाई निरन्तरता दिइनँ।
लामो समय कविता लेखनबाट टाढिनुभयो। त्यस वेला उकुसमुकुस जस्तो भएन?
यसरी किन हराएको भन्ने प्रश्न मसामु आइरहन्छ। भएको के भने, फुलब्राइट छात्रवृत्ति पाएर मैले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गर्ने मौका पाएँ। त्यसपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन, अनुसन्धान र नेपाल सरकारका लागि शिक्षा सम्बन्धी योजना बनाउने काममा संलग्न भएँ। तर एउटा बिन्दुमा पुगेपछि त्रिविमा प्राध्यापनलाई निरन्तरता दिन सक्ने अवस्था भएन र त्रिविबाट अलग हुन पुगें। युनिसेफ अन्तर्गत पाकिस्तानमा काम गरें।
यसपछि यूनेस्कोमा शिक्षा विशेषज्ञका रूपमा आबद्ध भएर चीनको बेइजिङ र थाइल्यान्डको ब्यांककमा रही एशिया-प्रशान्त क्षेत्रका मुलुकमा शिक्षा विकास सम्बन्धी काममा व्यस्त रहें। आफ्नो अध्ययनको विषय भएकाले त्यो काममा रमाएँ पनि। त्यसमाथि विभिन्न देशका संस्कृति, राजनीतिक/आर्थिक अवस्था, शिक्षा प्रणाली र नीतिनिर्माण बुझ्ने अवसर पनि थियो त्यो। त्यस अवधिमा साहित्यका लागि जुन साधना र समय चाहिन्छ त्यो दिन सक्ने अवस्था भएन।
साहित्य लेखनलाई निरन्तरता दिन नसक्दा उकुसमुकुसभन्दा पनि केही छुटेको जस्तो अनुभव चाहिं हुन्थ्यो। तर मैले विभिन्न देशमा जेजस्ता अनुभव बटुलें, ती अनुभव कुनै वेला कविता लेखनका लागि खुराक बन्न सक्लान् भन्ने लाग्थ्यो। त्यसैले कविता लेखन र आफ्नो पेशाका बीच निकट सम्बन्ध रहेको महसूस हुन्थ्यो।
राम्रा कविता लेखिरहनुभएको थियो, पाठक र समीक्षकले मन पराइरहेका थिए, प्रकाशकले पुस्तक छाप्न प्रस्ताव गरिरहेका थिए, त्यस्तो वेला कविता कर्म छाडेर अन्तै लाग्दा स्वर्णिम समय खेर फालियो भनेर पछुतो छ कि छैन?
फर्केर हेर्दा म आफ्नो पेशागत काममा चाहिनेभन्दा ज्यादा नै एकोहोरिएँ जस्तो लाग्छ। लेखनलाई निरन्तरता दिइरहेको भए अरू धेरै कविता प्रकाशन गर्न सक्थें होला। तर पछुतो मान्नुपर्ने खास कारण छैन किनभने म आफ्नो पेशासँग सम्बद्ध अन्य रुचिकर र उपयोगी काम गरिरहेको थिएँ।
![min bahadur bist (6).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/min bahadur bist/min bahadur bist (6).jpg)
साहित्य कर्ममा सक्रिय भइरहेको भए लेखनमा नयाँ उचाइमा पुग्थें कि भन्ने लाग्छ?
जे हुनु भइसक्यो। अब जे जवाफ दिन्छु, त्यो परिकल्पना जस्तो हुन्छ। तर मेरा केही कविताले जुन उचाइ लिए, लेखनलाई निरन्तरता दिइरहेको भए त्यसभन्दा तल ओर्लनु मेरो साहित्यिक यात्राका लागि सुखद हुने कुरा त भएन। साहित्यमा लगनशील भएर लागिरहेको भए, वातावरणले साथ दिइरहेको भए, कविताको स्तर कायम राख्न सकिरहेको भए राम्रै उचाइमा पुग्थें होला। तर यो सब काल्पनिकता मात्र होl
पेशागत जीवनमा जुन अनुभव बटुल्ने अवसर पाएँ, त्यसले मेरो कविता लेखनलाई सहयोग गर्ला जस्तो लाग्छ। त्यसैले बितेको समय सम्झेर दु:खी हुनुभन्दा त्यो अनुभवलाई कवितामा अभिव्यक्त गर्नु मेरा लागि एउटा अवसर छ।
यसबीचमा साहित्य नलेखे पनि अध्ययन त गरिरहनुभयो होला नि!
वेलावेला साहित्यिक पत्रिका र किताब किन्ने, पढ्ने गरे पनि बढी चाहिं शिक्षा सम्बन्धी किताबहरू पढ्थें। यूनेस्कोको कामको क्षेत्र निकै फराकिलो भएकाले शिक्षा बाहेक पनि विविध विषयका किताब, अध्ययन प्रतिवेदन पढ्नुपर्थ्यो। त्यसैले साहित्यभन्दा बढी अन्य विधाका किताब पढ्न समय दिनुपर्यो।
कविता लेख्न कविलाई खास के कुराले प्रेरित गर्छ?
यो सवालमा हरेक कविले आफ्नै हिसाबले जवाफ देलान्। केही आन्तरिक र केही बाह्य कारणले कविता लेखिएला। आफ्नै जीवनको घटनाले पनि लेख्न प्रेरित गरेको हुन सक्छ। देशको राजनीतिक, सामाजिक र आर्थिक कारणले पनि लेख्न सकिन्छ। अन्याय र अत्याचार देखेर पनि कविको कलम चल्न सक्छ।
म चाहिं समाजका कुनै घटनाक्रम वा पात्र अवलोकन गरिसकेपछि जब केही विसंगति देख्छु वा केही कुरा अवलोकन गर्दा ठीक छैन भन्ने लागेपछि त्यो विचार व्यक्त गर्न कविता लेख्छु। पछिल्लो समय चाहिं आफ्नो जीवनका अनुभव पनि कवितामा अभिव्यक्त गर्दै आएको छु। तर मुख्य रूपमा चाहिं सामाजिक अवस्था, राजनीतिक व्यवस्था र यथास्थितिलाई प्रश्न गर्दै कविता लेख्छु।
जस्तो- करीब चार दशकअघि ‘गाउँको पाठशाला’ लेख्दा बझाङमा थिएँ। नेपालमा शिक्षाको अवस्थाको अध्ययनको सिलसिलामा दुर्गम र ग्रामीण भेगका विद्यालयबारे अवलोकन गर्नु थियो। त्यसै क्रममा त्यहाँका केही विद्यालय देखें। ती विद्यालय धेरै दिन अवलोकन गरेपछि यो कविता फुर्यो।
![min bahadur bist (1).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/min bahadur bist/min bahadur bist (1).jpg)
साहित्यले समाज रूपान्तरण गर्न सक्छ कि सक्दैन?
सामाजिक रूपान्तरणमा साहित्यको ठूलो भूमिका हुन्छ। विभिन्न कालखण्डमा धेरै मुलुकमा साहित्यले समाज परिवर्तनका लागि उत्प्रेरक वा संवाहकको भूमिका खेलेका प्रशस्त उदाहरण छन्। साहित्य मानिसलाई परिवर्तनका लागि प्रेरित गर्न, भविष्यप्रति आशावान् बनाउन, कुनै उद्देश्यका लागि शिक्षित वा परिचालित गर्न, सामाजिक अन्यायबारे प्रश्न गर्न, परिवर्तनका सन्देश सरल र सहज रूपमा सम्प्रेषण गर्न शक्तिशाली माध्यम हो।
साहित्यमा पनि कविता अझ शक्तिशाली विधा हो जस्तो लाग्छ। समयसापेक्ष, तात्कालिक, जीवन्त र जादुमयी रूपमा कविताले जे बोल्छ त्यसले समाजमा भइरहेका आन्दोलन, युद्ध वा संघर्षमा ऊर्जा प्रदान गर्छ।
लेख्नुको उद्देश्यबारे लेखकपिच्छे फरक फरक तर्क सुनिन्छ। खासमा कविता आत्मसन्तुष्टिका लागि लेखिने कुरा हो कि पाठक या बजारका लागि?
केही लेखक आत्मसन्तुष्टिका लागि लेख्छु भन्छन्। मेरो सन्दर्भमा भन्नुपर्दा, शुरूको लेखन सम्भवत: आफ्नै लागि लेखिएको थियो। लेखन सिक्न र अभ्यस्त हुन जे देख्यो त्यसकै बारेमा लेख्थें।
प्रारम्भिक लेखन आफ्नै लागि भए पनि साहित्य समाजकै लागि हुनुपर्छ भन्ने मान्यता राख्छु, चाहे त्यसले आनन्द देओस् वा बौद्धिक रूपले चुनौती देओस् वा समाजको अव्यवस्थाप्रति प्रहार गरेको होस्। त्यसो भन्दै गर्दा हरेक लेखनमा आत्मसन्तुष्टिको तत्त्व त अनिवार्य हुन्छ नै, किनभने आफ्नो लेखनबाट लेखक स्वयं सन्तुष्ट नभई आफ्नो रचना प्रकाशन गर्ने अवस्था होला जस्तो लाग्दैनl साहित्य समाजकै उपज हो र अन्ततोगत्वा समाजकै लागि साहित्य लेखिन्छ। सामाजिक उपादेयता विनाको साहित्यको आयु छोटो हुन्छ।
जहाँसम्म बजारको सवाल छ, कविता लेखन र प्रकाशनको पनि अर्थशास्त्र हुन्छ। अहिलेको जमानामा झन् त्यसले काम गरिरहेको छ। समय दिएको हिसाबले लेखकको जीविकोपार्जनको सवाल पनि छ। प्रकाशकले जब लगानी गर्छ, त्यसको प्रतिफल पनि खोज्छ।
केही चर्चित कविता लेखिसकेपछि कविलाई फेरि त्यस्तै लेख्न सक्छु कि सक्दिनँ भन्ने दबाब कत्तिको हुन्छ? तपाईंलाई त्यस्तो महसूस भएको थियो कि थिएन?
कुनै कविता लेखेर एउटा बेन्चमार्क (मानक) कायम गरेपछि कविमा आफैंमाथि एक किसिमको आन्तरिक दबाब हुन्छ। मेरो यो कविता पाठकले यति धेरै रुचाए, अर्को कविता पनि यो बराबर वा योभन्दा राम्रो होस् भन्ने आकांक्षा हुन्छ। त्यस्तै, एक कविसँग अर्कोको तुलना हुने हुँदा पनि दबाब हुन्छ। आफ्ना समकालीन कवि वा अग्रजहरूभन्दा राम्रो लेखूँ भन्ने बाह्य दबाब पनि कविमा रहन्छ।
![min bahadur bist (5).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/min bahadur bist/min bahadur bist (5).jpg)
चर्चाका हिसाबले तपाईंको परिचयको पर्याय बनेको कविता ‘साला पहाडमें क्या है’ को रचनागर्भ सुनाउनुस् न।
स्नातकोत्तर तहको अध्ययन सकेपछि नेपालको शिक्षाको अवस्था बुझ्न मेचीदेखि महाकाली खटिएको थिएँ। त्यस वेला अहिले जस्तो यातायात सुविधा नभएकाले एउटा जिल्लादेखि अर्कोमा जान धेरै दिन हिंड्नुपर्थ्यो। त्यस क्रममा भारतबाट फर्केका, भारत जाँदै गरेका लाहुरेहरूसँगै यात्रा हुन्थ्यो। लाहुरबाट फर्केका र लाहुर हिंडेका युवाहरू मजाक मजाकमा ‘साला पहाडमें क्या है’ भन्थे।
त्यो मलाई मजाक मात्र लागेन, त्यस भनाइभित्र आफ्नो गाउँघर र देश छोड्नुपरेको पीडा लुकेको बोध हुन्थ्यो। अझ गहिरिएर सोच्दै जाँदा लाहुरेहरूको त्यो भनाइ आफ्नो गाउँ र देशप्रति अपनत्वको अभावको प्रकटीकरण हो भन्ने लाग्यो। आफ्नो देश र गाउँ त हो तर गरीबीका कारण त्यहाँ जिउन पाउने अवसरबाट वञ्चित हुँदाको पीडाको अभिव्यक्ति हो भन्ने लागेर मैले कविता लेखेको थिएँ।
४० वर्षअघि लेखेको यो कवितामा मैले वातावरणीय संकटबारे पनि कुरो उठाएको छु। ‘अनुहार सकिएका केही पर्वतहरू र यौवनमै ठहरै परेका वटवृक्षहरू…’ भन्ने पंक्तिले पर्यावरणीय संकटबारे बोल्छ। अहिले त झन् डोजरले खोतलेर पहाडहरू विरूप बनिरहेका छन्।
अहिले पनि हजारौं संख्यामा युवायुवती विदेश गइरहेका छन्। विगतको लाहुरे रीतको निरन्तरता हो यो। जीविकाका लागि विदेशिनुपर्ने अवस्थाको पीडादायी निरन्तरताकै कारण धेरै मानिसलाई अहिले पनि त्यो कविताले छोएको हुनुपर्छ। विदेशगमनको चरम रूप देखिइरहँदा अहिले केही पाठकले ‘साला देशमें क्या है’ शीर्षकमा कविता लेख्नुस् न भन्नुहुन्छ।
तपाईंको विचारमा उत्कृष्ट कविता सिर्जना गर्न कल्पनाशीलता महत्त्वपूर्ण हो कि घटना?
यो धेरै अघिदेखिको बहसको विषय हो। लेखनमा घटनाको आफ्नै महत्त्व हुन्छ। लेख्ने सन्दर्भमा म सामाजिक अवस्था, राजनीतिक परिवेश, विषयवस्तु, संस्थाका क्रियाकलापलाई त अवलोकन गर्छु नै, आफ्नै जीवनका घटना पनि हेर्छु। तर सबैलाई घटनाले लेख्नका लागि तरंगित गर्दैन। घटनाको विवरण मात्र कविता हुन सक्दैन। कल्पनाशीलताको प्रयोगले घटनालाई अलि कलात्मक, जादुमयी, शक्तिशाली र हृदयस्पर्शी बनाउँछ। त्यसैले मेरो विचारमा यो वा त्योभन्दा पनि कविता लेखनमा घटना र कल्पनाशीलता दुवैको भूमिका महत्त्वपूर्ण हुन्छ।
अर्कातिर, कल्पनाशीलताबाट पनि घटना सिर्जना गर्न सकिन्छ। साइन्स फिक्सन कल्पनाशीलताले नै सिर्जना हुन्छ।
साहित्य सिर्जना गर्न जन्मजात क्षमता हुनुपर्छ कि साधारण मानिसले पनि अभ्यास गर्दै गयो भने लेख्न सक्छ?
केही मानिस कविहरूसँग जन्मजात प्रतिभा हुने जिकिर गर्छन्। केही व्यक्तिसँग सिर्जनात्मक अभिव्यक्तिका लागि प्राकृतिक क्षमता हुन सक्छ। तर अनवरत प्रयास, अभ्यास, अध्ययन आदिबाट लेखन शैलीमा निखार ल्याउन सकिन्छ भन्ने मेरो अनुभव छ। सर्जकहरूमा केही कुरालाई गहिरो अवलोकन गर्न सक्ने, कुनै भावनालाई विचारका रूपमा प्रस्तुत गर्न सक्ने, भाषा र शब्दसँग खेल्न सक्ने जस्ता क्षमता हुन्छन्। एकथरी कविहरू कविता भावनाको स्वत:स्फूर्त प्रवाह हो भन्छन्। तर अर्काथरी कविहरू त्यस्तो स्वच्छन्दतामा विश्वास गर्दैनन्। उनीहरू कविता लेखनका लागि निरन्तर साधना, लगनशीलता महत्त्वपूर्ण हुने बताउँछन्।
कुनै पनि सिर्जनाको आयु खास के कुराले निर्धारण हुन्छ जस्तो लाग्छ?
तपाईंले यो प्रश्न सोध्दै गर्दा मलाई कवि हरिभक्त कटुवालको सम्झना हुन्छ। उहाँले आफ्नो समयमा मजा मजाका कविताहरू लेख्नुभयो। मैले पनि भेटेको थिएँ उहाँलाई। त्यति वेला स्टेजमा कविता वाचन गर्दा कटुवालका कवितामा पनि अरू कविका कवितामा जस्तै वा त्योभन्दा बढी तालीको गडगडाहट सुनिन्थ्यो। तर समीक्षकहरूले उहाँका कवितालाई तुलनात्मक रूपमा अन्य समकालीन कविका कविता जति महत्त्व दिएको जस्तो लाग्दैनथ्यो। आज नेपाली साहित्यमा उहाँको चर्चा खासै सुनिंदैन, पाठकले त्यति धेरै सम्झँदैनन्, समीक्षा पनि देखिंदैन। जबकि गोपालप्रसाद रिमाल, भूपी शेरचन, बैरागी काइँला आदिको चर्चा आज पनि छँदै छ। यी कविहरूका कविता अझै सान्दर्भिक छन्।
कटुवालका कविताहरू सुन्दा तत्काल आनन्द आउने, मानिसको हृदय पनि छुने तर त्यसपछिको प्रभाव र अस्तित्व के त? पाठकलाई तत्काल छुन सक्ने गुण बाहेक विषयवस्तुमा सार्वभौमिकता, स्पष्ट दृष्टिकोण, बौद्धिकता, नवीनता, शैलीको संयोजन आदि धेरै कुराले कवितालाई लामो आयु प्रदान गर्छन्।
अन्त्यमा, आजका कविहरूले कस्तो कविता लेखिरहेका छन्?
मैले धेरै पढ्न बाँकी छ। तर जति पढिरहेको छु, तिनमा रमाइरहेको छु। कविताको थिममा विविधता छ। नयाँ नयाँ विषयवस्तुमा कविताहरू लेखिंदै छन्। शैलीका दृष्टिकोणले नयाँ नयाँ प्रयोग भइरहेका छन्। महिला कविहरूले सशक्त रूपमा कविता लेखिरहनुभएको छ। विभिन्न क्षेत्र, समुदायसँग सम्बद्ध कविहरू अगाडि आइरहनुभएको छ। नेपाल बाहिर बसेका धेरै कविले नेपाली साहित्यमा योगदान दिइरहनुभएको छ। यदाकदा केही टिप्पणीकारले नेपाली साहित्यको भविष्यबारे चिन्ता गरेको सुनिए पनि चिन्ता गर्नुपर्छ जस्तो मलाई लाग्दैन।
(सम्पादन: जीवन कार्की, भाषा: प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: